राजनीति

प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावपछि वामदेवले भने- सपना जस्नै लागिरहेको छ

प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावपछि वामदेवले भने- सपना जस्नै लागिरहेको छ

बुधबार बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेर सबै चकित परे। आफूविरूद्ध एकजुट भएका नेतहरूलाई विभाजित गर्ने आसन्न सं’कट टार्ने अपेक्षाका साथ प्रधानमन्त्री ओलीले यो प्रस्ताव ल्याएका हुन्।

बैठकमा सधैं आफू पहिले र लामो बोल्ने परम्पराविपरीत प्रधानमन्त्री ओलीले बुधबार आफू नबोली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोल्न दिएका थिए। आफ्नो भनाइ राख्दै प्रचण्डले प्रधानमन्त्री ओली सुरूदेखि नै पार्टी एकताविरोधी गतिविधिमा लागेको, आफ्ना मानिसहरूको भेला गराउँदै हिँडेको र पार्टी फुटाउने नियतका साथ काम गरेको ‘आरोप’ लगाए।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पनि अरू पार्टीका लागि भन्दा आफ्नै पार्टी फुटाउने नियतका साथ आएको प्रचण्डले ‘आरोप’ लगाए। त्यस्तै, संवैधानिक परिषद ऐन संशोधन गर्ने अध्यादेश ल्याएर सत्ता कब्जा गर्न खोजेको उनले बताए।

‘तपाईंले सधैं पार्टीविरोधी गतिविधि गरेकाले अब राजीनामा गर्नुस् र सत्ता छाड्नुस्,’ प्रचण्डले भने।

प्रचण्डले आफ्नो भनाइ सक्नेबित्तिकै प्रधानमन्त्री ओली बोले- उनले सिधै वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखे। उनले भने, ‘कोरोना महामारीको समस्या सकिएपछि अनुकूल समयमा म राजीनामा दिन्छु, वामदेव (गौतम) लाई प्रधानमन्त्री बनाऊँ।’

‘राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गरेर वा कुनै निर्वाचन क्षेत्र खाली गरी उहाँलाई जिताएर प्रधानमन्त्री बनाऊँ,’ बैठकमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो त्यसपछि उनले माधवकुमार नेपालतर्फ फर्केर भने, ‘माधव कमरेडको पनि मानमर्यादा पुगेन भन्ने छ, उहाँलाई पनि पार्टीको तेस्रो अध्यक्ष बनाऊँ।’

झलनाथपछि बोलेका माधव नेपालले प्रधानमन्त्री ओलीमा अहंकार धेरै भएको बताए। ‘प्रधानमन्त्रीमा अहंकार धेरै छ, जुन अहिले यहाँ बैठकमा पनि देखियो,’ नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारको लोकप्रियता झरेर कहाँ पुगिसक्यो, प्रधानमन्त्रीको लोकप्रियता पनि गिरेको छ, राजीनामा दिएर मार्गप्रश्स्त गर्नुहोस्।’

नेपालपछि बोल्ने पालो वामदेव गौतम बोले-

‘उहाँले मलाई अर्को प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभयो। मलाई त यो सपनाजस्तै भयो। यस्तो प्रस्ताव आउला भन्ने मैले सोचेको थिइनँ,’ उनले भने।

प्रधानमन्त्रीको प्रस्तावमा समर्थन गर्दै उनले अगाडि भने, ‘प्रधानमन्त्रीको प्रस्ताव ठिक छ। अब स्थायी समिति बैठक बोलाउन आवश्यक छैन। सचिवालय बैठकले नै यसबारे निर्णय गरौं।’

वामदेवपछि बोलेका नारायणकाजी श्रेष्ठले कोरोना महामारीले देश संकटमा रहेका बेला पार्टीले विचार पुर्‍याएर निर्णय गर्नुपर्ने बताए। ‘पार्टीलाई विधि र लोकतान्त्रिक मान्यताअनुसार चलाऊँ। त्यसका लागि स्थायी समितिको बैठक बोलाऊँ,’ उनले भने।

गृहमन्त्री रामबहादुर थापाले भने प्रधानमन्त्रीले राजीनामा दिने र वामदेवलाई प्रधानमन्त्री बनाउने दुवै प्रस्ताव ठिक नभएको बताए।

प्रधानमन्त्रीको प्रस्ताव उनीविरूद्ध एकठाउँ उभिएका सचिवालयका पाँच सदस्यबीच फुट ल्याउने नियतले आएको हो। केही समयदेखि प्रचण्ड, नेपाल, खनाल, श्रेष्ठ र गौतम प्रधानमन्त्री ओलीविरूद्ध एकजुट छन्।

बुधबारको सचिवालय बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखे पनि उनी कसरी प्रधानमन्त्री बन्छन् भन्ने बाटो सुनिश्चित छैन।

वामदेवलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्न नेकपासँग संसदमा दुईतिहाइ मत छैन। नेकपाका अर्का कुनै सांसदले राजीनामा दिएर उक्त क्षेत्रबाट वामदेव चुनाव जितेर आउने पनि लामो र अनिश्चित बाटो हो।

केही समयअघि वामदेवलाई राष्ट्रियसभामा लैजाने प्रचण्डको प्रस्तावको प्रधानमन्त्री ओलीले नै विरोध गरेका थिए।

वामदेवलाई अहिले फकाएपछि तत्कालको सं’कट टार्ने र आफूलाई चुनौती दिइरहेको समूहलाई फुटाउने रणनीति मात्र भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal