मुख्य समाचार

कस्तो बिडम्बना ! पैसा नभएपछि लाश जलाउन पनि नपाइने

कस्तो बिडम्बना ! पैसा नभएपछि लाश जलाउन पनि नपाइने

कोरोनाले राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, करोडपतिदेखि सुकुम्बासीसम्मलाई विनाभेदभाव ‘नजरबन्द’मा राखेको छ, तर पशुपति आर्यघाटमा भने अन्त्येष्टिमा पनि धनी र गरिब छुट्याइन्छ, अझ सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि छैन

सहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि छाक टारे । तर, टार्नै नसकिने मृ’त्युले मान्छेलाई कसरी घुँडा टेकाउँछ, हामीले शनिबार पशुपति आर्यघाटमा देख्यौँ ।

हामी पुग्दा विद्युतीय शवदाहगृहको मूलढोका ढप्क्याइएको थियो । झ्यालबाट टिकट काउन्टरमा एक युवा बार्गेनिङ गरिरहेझैँ देखिए । हामी नजिकै पुग्यौँ । काउन्टरभित्रबाट कर्मचारी भन्दै थिए, ‘यति रकममा त हुँदै हुन्न, कहाँ लानु छ लैजाऊ ।’ यो कठोर शब्द सुनेर युवाको मुहारमा पीडा मडारियो । सँगै रहेकी युवती अवाक भइन् ।

प्रतीक्षालयमा बसेर हामी यो सब नियालिरहेका थियौँ । केहीबेरमा युवती हामीनजिकै आएर कुर्सीमा बसिन् । उनी अवाक थिइन् । केहीबेरमा युवा पनि आए । गरिबीलाई सराप्दै उनी भुतभुताउन थाले, ‘उपचार गरेर बचाउन त सकिएन, मरेपछि लास पनि जलाउन सकिएन ।’ युवती प्रतिक्रियाविहीन थिइन् ।

उनीहरूको पीडा के हो ? हामीले चासो राखेपछि संवाद लम्बियो । उनीहरूले हामीलाई बागमती किनारतर्फ लगे । किनारमा एउटा श’व देखियो । छेउमा थिइन्– २७ वर्षीया रिना श्रेष्ठ र रुँदै गरेका दुई बच्चा ।

रिनाका श्रीमान् ४० वर्षीय राजेशको शनिबार बिहान निधन भएको थियो । भक्तपुरका स्थायी निवासी उनी नक्सालमा परिवारसहित बस्दै आएका थिए । दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्थे । तीन सन्तान नाबालक छन् । घरमूली नै बिरामी भएपछि परिवार चरम आर्थिक संकटमा थियो । ‘राम्रो उपचार गरेर बचाउन सकिएन, आज बिहान प्राण गयो, लास उठाउनसमेत रकम भएन,’ रिनाले भनिन् ।

रिनाका अनुसार उनले छिमेकीसँग चन्दा उठाउन खोजेका थिए । तर, लकडाउनका कारण ४५ सय रुपैयाँ मात्रै जम्मा भयो । मलामी नपाएपछि शवबाहनमा हालेर आर्यघाट ल्याए । त्यसैमा दुई हजार खर्च भयो । आर्यघाट पुगेपछि उनीहरूले थाहा पाए– शव जलाउने ठाउँ पनि स्तरअनुसार फरकफरक छ । आर्थिक हैसियत भएकालाई माथिपट्टि, विपन्नलाई तलपट्टि । सबैभन्दा सस्तो ठाउँमा पनि ६ हजार रुपैयाँ लाग्ने देखियो । तर, उनीहरूसँग २५ सय रुपैयाँ मात्र थियो ।

कसैले विद्युतीय शवदाहगृहमा सस्तो पर्छ भनेर सल्लाह दियो । त्यसैले रिनालाई बागमती किनारमै छाडेर उनका दुई आफन्त यता आएका रहेछन् । तर, त्यहाँ पनि चार हजार लाग्ने भयो । आफूसँग २५ सय भएकाले त्यतिमै शवदाह गरिदिन उनीहरू अनुरोध गरिरहेका थिए । तर, शवदाहगृहका कर्मचारी ‘नो डिस्काउन्ट’को मुडमा थिए ।

यसको बिस्तृत समाचार नयाँ पत्रिका दैनिकमा दाहसंस्कारमा ‘नो डिस्काउन्ट’ शीर्षकमा टेकराज थामिले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal