मुख्य समाचार

ज्वरो आएका बिरामी अस्पतालको गेटबाटै फिर्ता

ज्वरो आएका बिरामी अस्पतालको गेटबाटै फिर्ता

पाल्पा — पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकका एक बिरामीलाई लुम्बिनी मेडिकल कलेजले गेटबाटै फर्काइदिएको छ । हालै भारतबाट फर्केका २० वर्षीय उनी ज्वरो आएपछि शनिबार अस्पताल पुगेका थिए ।

उनलाई चिकित्सकले ज्वरो जाँच गरेर एम्बुलेन्समै बस्‍न आग्रह गरे । बिरामीका आमालाई औषधि लिन पठाए । अस्पतालमा बिरामीलाई पिसाब फेर्नसमेत दिइएन । अस्पतालका निर्देशक डा. राजु शाक्यको सल्लाहपछि एम्बुलेन्स चालक नारायण जीसीले बिरामीलाई घरसम्मै लगेर छाडे । तर बिरामीलाई आइतबार बिहान पनि ज्वरो आइरहेको छ ।

पछिल्लो समय लुम्बिनी मेडिकल कलेजले गेट बन्द गरेर राखेको छ । सुरक्षा गार्डले सोधपुछ गरेपछि मात्र बिरामी भित्र जान सक्छन् । ज्वरो आएको बिरामी भए भित्र प्रवेशसमेत पाउँदैनन् । अस्पताल परिसरमा राखिएको ज्वरो क्लिनिकमा दुई स्वास्थ्यकर्मीले ज्वरो जाँच गर्छन् । शंका लाग्यो भने औषधि लेखिदिएर त्यहीँबाट फिर्ता गरिन्छ ।

ज्वरो र अन्य लक्षण मिल्दोजुल्दो भयो भने कलेजका स्वास्थ्यकर्मीले घरमै गएर बस्नुस् भन्ने गरेका छन् । अस्पताल सञ्चालक, निर्देशकको त्यस्तै निर्देशन दिएको उनीहरुको भनाइ छ । ‘हामी आफै पनि कोरोना भाइरसबाट सुरक्षित छैनौं,’ कलेजका ज्वरो क्लिनिकमा खटिएका चिकित्सकले भने, ‘पीपीई होइन, हामी आफैले बनाएको पीपीएम लगाएर क्लिनिक सञ्चालन गरेका छौं । यस्तो अवस्थामा हामी आफै पहिला सुरक्षित हुन जरुरी छ ।’

लुम्बिनी मेडिकल कलेजमा आकस्मिक रुपमा पुग्‍ने दैनिक कम्तीमा ७/८ जना ज्वरोका बिरामी उपचार नै नपाई सिटामोल खरिद गरेर घर फिर्ता भइरहेका छन् । बिरामीलाई घरमै क्वारेन्टाइनमा बस्न चिकित्सकले आग्रह गर्दै आएका छन् ।

यही कलेजमा संघीय र प्रदेश सरकारलाई आइसोलेसन वार्ड सञ्चालन गर्न उपयुक्त हुने भन्दै १० शय्या दिने घोषणा गरिएको थियो । अस्पतालका निर्देशक डा. राजु शाक्यले भने आफै सुरक्षित नभएको बताए । ‘हामीसंग कोरोना भाइरसबाट सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सामग्री छैन,’ उनले भने, ‘सरकारबाट पनि सामग्री प्राप्त भएको छैन । अहिले हामी आफैले नै १०/१५ वटा पीपीएम बनाएर २४सै घण्टा ज्वरो क्लिनिकमा खटिएका छौं ।’

कोरोनाका शंकास्पद बिरामीलाई उपचार गर्न जिल्लाका अन्य अस्पतालले पनि अस्वीकार गरेको पाइएको छ । तेल्घाको भार्केस, बन्दीपोखरा, पोखराथोक, झुम्सा, चिदीपानी लगायतबाट ज्वरो आएर लुम्बिनी मेडिकल कलेज पुगेकाहरु घरमै फिर्ता भएको बताएका छन् ।

तानसेन नगरपालिका–६ जैसीचौपारीका भारतबाट फर्केका बिरामीलाई पाल्पा अस्पतालले पनि उपचार नगरी सिटामोल दिएर फर्काएको छ । अस्पतालका डा. पुष्पराज ज्ञवालीले ज्वरो आए पनि बिरामीलाई घर पठाएको बताए ।

पाल्पा अस्पतालमा दैनिक ५ जनाभन्दा बढी बिरामी ज्वरोका आउने गरेका छन् । मिसन अस्पतालमा ज्वरोका लागि छुट्टै व्यवस्थापन गरेको अस्पताल निर्देशक डा. रचेल कारखले बताइन् । उनले यो विपद्का बेलामा धेरै बिरामी बहिरंग विभागमा नआउन आग्रहसमेत गरिन् । ‘हामीले बिरामीलाई फर्काएका छैनौं,’ उनले भनिन्, ‘ज्वरोका लागि छुट्टै वार्ड तयार गरेका छौं । अरुसंग संसर्ग नहुने गरी राखेका छौं ।’ मिसन अस्पतालले बहिरंग विभागबाट पनि बिरामी जाँच गरिरहेको छ । माधव अर्यालले कान्तिपुरमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal