शिक्षा

बालबालिकालाई यस्ताे पढाउनुहाेस्

बालबालिकालाई यस्ताे पढाउनुहाेस्

साना बालबालिकाप्रतिको अभिभावकको गुनासोः एकै खालको हुने गर्छ— मेरो बच्चाले खाना राम्ररी खाँदैन खुवाइदिनुपर्छ, सागसब्जी मुखैमा हाल्दैन, जंकफुड मात्र खान खोज्छ। मेरो बच्चा समयमा उठ्दैन, उसको बिहानको नित्यकर्ममा नियमितता छैन जसले गर्दा स्कुल पुग्न ढिला हुन्छ। मेरो बच्चाले आफ्नो ससानो काम पनि आफैं गर्दैन, सबै सामान अस्तव्यस्त हुन्छन् मिलाउँदा-मिलाउँदा हैरान हुन्छु। मेरा छोराछोरीलाई मोबाइलबाहेक केहीको वास्ता हुँदैन, घरमा को आए-के भयो केही थाहा नहुने। खै यी केटाकेटी कहिले व्यावहारिक बन्ने होलान्….आदि ।

विकसित मुलुकका अभिभावकलाई भने यस प्रकारको गुनासोको आवश्यकता नपर्दोरहेछ। किनभने उनीहरूका बालबालिकालाई पहिला व्यवहार सिकाउने र पढाउने गरिँदो रहेछ अनि मात्र पुस्तक ! तर हामीकहाँ भने पहिल्यै पुस्तक पढाइन्छ। त्यसैले त हाम्रा बालबालिकाले पुस्तकका कुरा जानेका हुन्छन् तर व्यवहार बुझेका हुँदैनन्। उनीहरूले जानेको अव्यावहारिक पढाइका कारण पहिला अभिभावकलाई हैरानी हुन्छ भने अन्त्यमा उनीहरू स्वयम्ले अनेक हन्डर खानुपर्ने हुन्छ।

जापानमा प्रारम्भिक तहमा पढ्ने बालबालिकालाई सर्वप्रथम आफ्नो काम आफैं गर्न सिकाइन्छ। कक्षाभित्र प्रवेश गर्नुअघि जुत्ता-मोजा खोलेर निश्चित ठाउँमा राख्ने, कक्षाकोठा र वरपरको सरसफाइदेखि खाना खाने काम उनीहरू स्वयम् गर्छन्। उनीहरू घर फर्केपछि पनि लुगाफाटा व्यवस्थित गर्ने, कोठा सफा गर्ने र खाना खाने आदि आफैँ गर्छन्। यसबाट एकातिर उनीहरूमा स्वावलम्बनको चेतना विकसित हुँदै जान्छ भने अर्कातिर उनीहरूका अभिभावकको समय बचत हुन्छ, जसलाई अन्य काममा लगाउन सकिन्छ।

यस प्रकारको शिक्षा पाएका बालबालिकामा श्रमप्रति सम्मानको भावना विकास हुन्छ। त्यसैले ठूलो भएपछि उनीहरू आआफ्नो रुचिअनुसार श्रम गर्न सक्षम हुन्छन्। पुस्तकको ज्ञानभन्दा अनुभवको ज्ञान प्रभावकारी हुने हुनाले नै विकसित देशका किशोर-किशोरीहरू निश्चित उमेर पुगेपछि स्वतन्त्र भएर जीवनयापन गर्न सक्षम हुन्छन्। यसको विपरीत हामीकहाँ प्राथमिक तहदेखि नै धानिनसक्नु किताबको भारी बोकेर विद्यालय जाने अनि तिनै किताब रटेर पढ्ने बालबालिका घर पुगेपछि उनीहरूका जुत्तादेखि लुगाफाटो सबै अरूले नै व्यवस्थित गरिदिनुपर्छ।

यतिमात्र होइन उनीहरूलाई खुवाउने जिम्मा पनि अभिभावकको नै हुन्छ। खाना पनि त्यही मात्र खान्छन्, जे उनीहरूलाई मीठो लाग्छ। सानैदेखि आफ्नो काम आफैं गर्नुपर्छ भन्ने भावनाको विकास नभएकाले उनीहरूमा श्रमप्रतिको सम्मान पनि देखिँदैन। त्यसैले त हाम्रा युवाहरू दुई-चार कक्षा पढ्नेबित्तिकै शारीरिक श्रमदेखि विमुख हुन थाल्छन्।

पढाइ पूरा गरे पछि जागिर नै उनीहरूको लक्ष्य बन्न जान्छ। देशमा विद्यमान बेरोजगारका कारण रोजगारको खोजीमा विदेश जान्छन्। श्रमका सम्बन्धमा उनीहरूको धारणा यस्तो हुन्छ, ‘यहाँ काम गर्दा लाज हुन्छ तर विदेशमा जे गरे पनि कसले चिन्छ र ? पैसा पाए भैहाल्यो।’ उनीहरूमा विकसित यस प्रकारको गलत मानसिकताप्रतिको जिम्मेवार हाम्रो शिक्षा पद्धति नै हो।

बालबालिकका हरेक समस्याका समाधान पहिला उनीहरूलाई नै गर्न लगाउने र शिक्षक केवल सहयोगी र सहजकर्ताका रूपमा रहने किसिमको शैक्षिक पद्धति निर्माण हुने हो भने तमाम अव्यावहारिक शिक्षाको थिचाइबाट विद्यार्थीले मुक्ति पाउने थिए। हाम्रो शिक्षा पद्धति सैद्धान्तिक मात्र नभएर अव्यावहारिक पनि छ। राजधानीका केही महँगा निजी विद्यालयमा बालबालिकाले फरक वातावरणमा पढ्ने अवसर पाए पनि बाँकी सबैमा पुस्तककै पढाइ हुने गर्छ, व्यवहार पढाइँदैन।

हामीकहाँ पनि प्रारम्भिक तहका बालबालिकालाई विद्यालयमा उनीहरूका ससाना दैनिक काम आफैं गर्न लगाउने, के खाने, कति खाने, कसरी खाने आदि कुरा सिकाउने, स्वास्थ्यका लागि सन्तुलित भोजनको आवश्यकताबारे उनीहरूले बुझ्ने गरी सिकाउने, स्वादका लागि नभएर स्वास्थ्यका लागि खाना खानुपर्छ भन्ने यथार्थबोध बालमष्तिष्कमै गराइदिने, कुन खानेकुरा कति पोषक छ भनेर बुझाइदिने, सम्भव भएमा दिवा खाजाको व्यवस्था विद्यालयमै गरेर सन्तुलित र स्वस्थकर भोजनप्रति बालबालिकालाई आकर्षित गर्न सकेमा हाम्रा बालबालिकाको स्वास्थ्य धेरै हदसम्म राम्रो हुने थियो।

यस्तै पढाइका कुरा सिकाउनुअघि उनीहरूलाई आफ्नो काम आफैं गर्न र बिहानदेखि बेलुकासम्म कतिबेला के गर्ने, कसरी गर्ने आदि कुरा सिकाइदिने हो भने अभिभावकका आधा जिम्मेवारी स्वतः घट्ने थिए। घरपरिवार तथा समाजमा गर्न हुने र गर्न नहुने आचरण तथा क्रियाकलापबारे पनि प्रारम्भिक तहका बालबालिकालाई उनीहरूले बुझ्ने गरी कथा, गीत वा अन्य रमाइला खेलका माध्यमबाट सिकाउने, अनुशासन तथा नैतिक आचरण आदि कुराप्रति पनि सचेत गराउँदै जाने हो भने उनीहरूको उमेरसँगै सही आचरण र अनुकूल व्यवहार पनि विकास हुन जान्छ।

ठीक-बेठीक तथा असल र खराबबारे उनीहरू स्वयम् सोच्न सक्ने हुन्छन्। बालबालिकाले सबैभन्दा विश्वास गर्ने भनेको शिक्षकलाई नै हो। शिक्षण-सिकाइमा यिनै कुराको अभावका कारण आज हाम्रो समाज भ्रष्ट बन्दै गइरहेको छ। नैतिक शिक्षा नपाएको व्यक्ति स्वार्थी र भ्रष्ट हुनु स्वाभाविकै हो। यस्ता स्वार्थी तथा भ्रष्टहरूका गतिविधिले समग्र समाजलाई पतनतिर धकेलिरहेको हुन्छ।

शिक्षण-सिकाइलाई प्रभावकारी तथा जीवनोपयोगी बनाउन औपचारिक शिक्षा आरम्भ गर्नुअघि खेल, व्यावहारिक क्रियाकलाप, विभिन्न प्रयोग आदिका माध्यमबाट बालबालिकाको रुचि र क्षमता पत्ता लगाउनुपर्ने हुन्छ। त्यसपछि मात्र औपचारिक रूपमा पढाइ आरम्भ गरिनुपर्छ। यसमा पनि विभिन्न समूह बनाएर एकैखाले रुचि र क्षमता हुनेलाई एउटा समूहमा राखेर सोहीअनुरूप पठनपाठन गराउने हो भने शिक्षा प्रभावकारी हुन जान्छ। वर्तमानको हाम्रो शिक्षा पद्धतिले यसतर्फ ध्यान दिएको देखिँदैन। आज हाम्रा बालबालिकालाई भविष्यमा के बन्न चाहन्छौ भनेर प्रश्न गर्दा सबैले एकै खालको र तयारी जवाफ दिने गर्छन्— डाक्टर बन्छु, इन्जिनियर बन्छु, पाइलट बन्छु आदि-आदि।

कतिपय बालबालिकाले त सोध्ने पनि गर्छन्, ‘सबैभन्दा बढी पैसा कसले कमाउँछ ? ’ किनकि भविष्यमा ऊ त्यही बन्न चाहन्छ, जसले सबैभन्दा बढी पैसा कमाउँछ। कसैले भन्दैन- म किसान बन्छु, म उद्योग खोल्छु, म आफ्नो गाउँको विकास गर्छु, आपूmजस्तै बालबालिकालाई शिक्षा दिने शिक्षक बन्छु आदि-आदि। मानवीय मूल्य-मान्यता समावेश नगरिएका र आफ्नो देशका लागि आवश्यक जनशक्ति उत्पादनका लक्ष्य नराखिएका जागिरमुखी शिक्षाका कारण यसको प्रतिफल वर्तमानमा हामीले भोगिरहेका छौं।

हाम्रो शिक्षाले बाँझा गरा जोतेर हराभरा बनाउने किसान उत्पादन गर्न चाहँदैन जबकि माटोमा जीवन हुन्छ। माटोलाई माया गरेर यसको संरक्षण गर्नुपर्छ भनेर हामी आफ्ना बालबालिकालाई सिकाउन सक्दैनौं। आफ्नो काम आफैं गर्नुपर्छ, श्रम गर्दा लाज मान्नु हुँदैन, आत्मनिर्भरता नै सबैभन्दा ठूलो हो भन्ने हाम्रो पाठ्यपुस्तकमा लेखिएन। त्यसैले त हाम्रो शैक्षिक प्रमाणपत्र बेरोजगारका परिचायक बन्न पुगे। हाम्रा बालबालिकाले कामको इज्जत गर्न सिकेका भए युवा शिक्षित बेरोजगार भएर विदेश पलायन हुने थिएनन् र हामी हरेक कुरामा परनिर्भर पनि बन्ने थिएनौं !

युगौंदेखि अनेकौं विभेद, रुढि र अन्धविश्वासले ग्रसित हाम्रो समाजमा महिलाले गर्ने, पुरुषले गर्ने, उपल्लो जाति-वर्ग, तल्लो जाति-वर्ग, धनी-गरिब आदिले गर्ने फरक-फरक कार्यविभाजन देखिन्छ। त्यसैले यहाँ श्रमले सम्मान पाउन सकेको देखिँदैन। अबको शिक्षा पद्धतिमा परिवर्तन आवश्यक देखिएको छ।

अबका बालबालिकालाई किताबका पाना पल्टाउनुभन्दा पहिला जीवनका लागि आवश्यक व्यवहारका पाटा देखाइदिनुपर्छ। अक्षरका धर्का कोर्न सिकाउनुअघि भविष्यमा हिँड्नुपर्ने बाटोका धर्काहरू कोर्न लगाउनुपर्छ। सानैदेखि घरपरिवारमा उनीहरूले गर्न सक्ने योगदान र अभिभावकलाई पुर्‍याउन सक्ने सहयोगका लागि पे्ररित गराउनुपर्छ ताकि ऊ भविष्यमा समाज र राष्ट्रका लागि योगदान गर्न सक्षम बनोस्।

बालबालिकका हरेक समस्याका समाधान पहिला उनीहरूलाई नै गर्न लगाउनुपर्छ। शिक्षक केवल सहयोगी र सहजकर्ताका रूपमा रहने किसिमको शैक्षिक पद्धति निर्माण हुने हो भने दुई झोला किताब-कापी बोकेर एकाबिहानै विद्यालय जाने अनि गृहकार्य गर्दागर्दै आधा रात बित्ने, तीन घण्टाको परीक्षाका आधारमा व्यक्तिको समग्र योग्यताको मापन हुने अव्यावहारिक शिक्षाको थिचाइबाट विद्यार्थीले मुक्ति पाउने थिए। यसैगरी जति बढे पनि र जति पढे पनि व्यावहारिक बन्न नसक्ने बालबालिकाका अभिभावकलाई पनि राहत मिल्ने थियो।

प्रतिक्रिया दिनुहोस