प्रवास

यी हुन् दोहाको चिल्लो सडकमा ‘ट्याक्सी’ हाँक्ने पहिलो नेपाली महिला मिना

यी हुन् दोहाको चिल्लो सडकमा ‘ट्याक्सी’ हाँक्ने पहिलो नेपाली महिला मिना

विदेशमा जाने नेपाली भन्नासाथ हाम्रो दिमागमा मजदुरी गर्ने, दुख पाउने नेपाली भन्ने आकृति आउँछ । कतिपय यस्ता नेपाली छन् जो विदेशमा पनि नेपालको नाम चिनाउन सकेका छन् । त्यसमा पनि महिलाले विदेशमा नेपालको नाम चिनाउनु भनेको सबैभन्दा ठूलो कुरा हो ।

चितवन भरतपुरकी मिना थापा क्षेत्री एक त्यस्तो उदाहरण पेश गरेकी महिला हुन् जसले दोहाको चिल्लो सडकमा विश्वको महँगो मानिने ‘लेमोजिन’ गाडी हुइँक्याइरहेकी छन् । करिव ६ वर्षअघि कतार प्रवेश गरेकी मिनाले त्यहाँका धनाढ्य र नाम चलेकाहरुलाई कारमा राखेर हुइक्याउँछिन् ।

चितवनको शक्तिखोरमा २०४४ सालमा जन्मिएकी थापा परिवारको ६ छोरी र ३ छोरामध्ये कान्छी हुन् । मिनाको विवाह कतारमै लामो समय रोजगारी गरेका चितवनकै सहदेव खत्रीसँग भएको थियो। विवाह पूर्व उनी काठमाडौँ स्थित बौद्धमा रहेको ट्रेकिङ एजेन्सीमा काम गर्थिन्।

उनको जिवनले यस्तो मोड त्यतीबेला लियो जब वैदेशिक रोजगारीका लागि साउदी अरब हिँडेका श्रीमानले त्रिभुवन विमानस्थलबाट फोन गरे– ‘म विदेश जान्न। घर फर्किन्छु।’ मिनाले आफ्नो श्रीमानलाई विदेश पठाउन ठूलै ऋण गरेकी थिइन। श्रीमानले अन्तिम समयमा विदेश नजाने भने पछि उनले त्यसको विकल्प खोजिन् । त्यतिबेला उनको काखमा २२ महिनाको छोरा हुर्किरहेको थियो । त्यसैले यो घटनाको १५ दिनभित्रै मिना रोजगारीका लागि मलेसिया उडिन्।

मलेसियामा मिनाले ३० किलोको ‘इनगड’ एक्लै उचाल्नु पर्थ्यो। त्यो पनि दिनमा ३० वटा। दिनमा करिब १२घण्टा काम गर्ने क्रममा उनले नसोचेको दुःख पाइन्। मलेसियाबाट उनी २२ महिनापछि घर फर्किइन् । आफु ऋणमा त थिइन् त्यस माथि श्रीमान पनि अस्वस्थ्य । उनको श्रीमानको मुटुमा समस्या थियो ।

यि सबै अवस्थाका कारण उनले फेरी पनि आफ्नो गन्तब्य वैदेशिक रोजगारी नै बनाउनु पर्यो । यही सिलसिलामा ६ वर्षअघि कतार प्रवेश गरेकी उनले विगत १४ महिनादेखि दोहाको सडकमा गाडी चलाउँदै आएकी छिन्। उनको तलब २५ सय रियाल छ। दोहाको सडकमा गाडी हुइक्याउँदै गर्दा उनले ‘लेमोजिन’ किन्ने योजना बुनेको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस