मुख्य समाचार

रोबोट फूलमायालेे मन्त्री ज्यु स्वागत छ भनेपछि…

रोबोट फूलमायालेे मन्त्री ज्यु स्वागत छ भनेपछि…

वैशाख २८ गते बीपी कोइराला मेमोरियल प्लानेटोरी तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले संग्रहालय सञ्चालनमा ल्यायो। त्यसको उद्घाटन गर्न पुगेका थिए, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल। उनको स्वागत गरिन्, ‘फूलमाया’ ले। नाम फूलमाया तर उनी हुन्, यन्त्रमानव (रोबोट)।मन्त्रीलाई सम्बोधन गर्दै ड्यासमा उभिएर उनले भनिन्, ‘अनरेबल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल, यू आर वेलकम इन द इनअगुरेसन सेरेमोनी अफ साइन्स म्युजियम’ भन्दा सबैको अनुहारमा अनौठो भाव थियो। नेवारी महिलाले प्रयोग गर्ने हाकुपटासीमा सजिएकी फूलमायाले कार्यक्रम सञ्चालन गर्दा त्यहाँ उपस्थित सबै छक्क परे। फूलमायाको अबको घर सोही विज्ञान संग्रहालय हुनेछ। उनी त्यहीँ बस्नेछिन्। संग्रहालय अवलोकन गर्न आउनेको उनले स्वागत तथा प्रविधिको व्याख्या उनले नै गर्नेछिन्।

फूलमायालाई ‘पाइला टेक्नोलोजी’ नामक संस्थाले निर्माण गरेको हो। संस्थाको ‘परी–२’ परियोजनाअन्तर्गत यसलाई निर्माण गरिएको संस्थाका सह–सञ्चालक रविन गिरीले बताए। ‘हामीले यसको नाम परी राखेका थियौँ,’ उनले भने, ‘तर, संग्राहलयको टिमले कम्पनीले दिएको नाम भन्दा पनि आफैँ नामकरण गरेर ‘फूलमाया’ राखिदिएको छ।’

फूलमाया सधैँ संग्रहालयको एक कुनामा बसिरहन्छिन्। संग्रहालयभित्र मान्छे छिरेपछि उनले आफैँले आफूलाई एक्टिभ गर्ने गिरी बताए। ‘जब मान्छे उसको नजिक पुगेर आफूले जान्न चाहेको विषयमा सोध्छ, तब उनको काम सुरु हुन्छ,’ उनले भने, ‘मान्छेले त्यहाँ फिजिक्स ल्याब, बोटनी ल्याब कता छ भनेर सोधेको खण्डमा स्थान देखाउनेदेखि त्यसबारे आवश्यक जानकारी फूलमायाले दिनेछिन्।’ त्यति मात्रै होइन, कुनै मानिसले उनलाई विज्ञान वा राजनीतिका विषयमा प्रश्न ग¥यो भने त्यसको पनि उनले जबाफ दिने गिरीले बताए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal