विचार/व्लग

बिन्ती छ ! हिमालको पानी प्रशोधनको काम आविष्कार केन्द्रलाई दिइयोस्

बिन्ती छ ! हिमालको पानी प्रशोधनको काम आविष्कार केन्द्रलाई दिइयोस्

खानेपानी मन्त्रालयले नेपालका हिमालबाट बग्ने पानीलाई प्रशोधन एवं प्याकेजिङ गरेर विदेश निर्यात गर्ने सम्वन्धमा गृहकार्य गरिरहेको छ ।

यसै शिलशिलामा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले यो कामको जिम्मेवारी आफ्नो केन्द्रलाई दिन आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘बिन्ती छ प्रभु, यो काम राष्ट्रिय आविष्कार केन्द्रलाई दिइयोस् । सारा नेपालीको भलो हुन्छ ।’

अनलाइनखबरसँग कुरा गर्दै पुनले नेपालको पानी विदेशी बजारमा बेच्न सम्भव रहेको र यसका लागि विदेशी लगानीकर्ता गुहार्नु नपर्ने बताए ।
उनको भनाइ जस्ताको त्यस्तै :

वास्तवमा यो विदेशी लगानी चाहिने भयंकर ठूलो काम होइन । यति कामका लागि विदेशीको मुख ताक्ने हो भने हामी झुण्डिएर मरे पनि हुन्छ भनिदिएँ । मन्त्रीज्यूले कुनै जवाफ फर्काउनुभएन । बरु फेरि छलफल गर्ने आश्वासन दिएर विदा गर्नुभयो ।

करिब ८ महिना अगाडि मलाई खानेपानी मन्त्रीले भेट्न बोलाउनुभएको थियो । मन्त्रीले बोलाएपछि म सिंहदरबार पुगेँ । भेटमा उहाँले नेपालको पानी विदेशमा बेच्नेबारे मन्त्रालयले योजना बनाइरहेको सुनाउनुभयो । यसमा मेरो विचार जान्न खोज्नुभयो । यो विषयमा मैले पहिलादेखि नै सोचिरहेको थिएँ । योजना पनि बनाइरहेको थिएँ । त्यसैले मैले सरकारसँग मिलेर काम गर्ने प्रस्ताव राखेँ तर, मन्त्रीज्यू भने विदेशी लगानीकर्ता गुहार्ने पक्षमा हुनुहुँदोरहेछ ।

उहाँले यसका कामका लागि विदेशी लगानीकर्तासँग कुरा भइरहेको सुनाउनुभयो । साथै मन्त्रालयसँग पनि करिब १ अर्ब बजेट रहेको जानकारी दिनुभयो । मैले भनेँ कि मन्त्रालयसँग नै यति पैसा छ भने किन विदेशी गुहार्नुपर्‍यो ? एक–डेढ अर्बमा नै प्लान्ट स्थापना गरेर काम सुरु गर्न सकिन्छ । अलिकति पैसा हाम्रो आविष्कार केन्द्रले पनि हाल्न सक्छ । पानीको स्रोत अध्ययन, प्रशोधन तथा अन्य सबै प्राविधिक कामहरुको जिम्मेवारी केन्द्रले लिने प्रस्ताव गरेँ । तर, मन्त्रीको अभिरुची भने विदेशी लगानीकर्तामै देखियो ।

त्यसयता न उहाँले भेट्न बोलाउनुभएको छ, न मैले नै उहाँसित भेट्न पहल गरेको छु ।

अहिले मिडियाहरुमा नेपालको पानी विदेशमा बेचिने भनेर ठूलाठूला समाचार आइरहेको देख्छु । यसका लागि मन्त्रीले विदेशीहरुसँग कुरा गरिरहेको भनेर आएका छन् । म फेरि पनि उहाँलाई सोध्न चाहन्छु, कि के २०–२५ करोडको आयोजनाका लागि पनि हामीले विदेशी नै गुहार्ने हो त ? नेपालको पानी बेचेर विदेशीले नाफा कमाउलान्, विदेशमा पैसा लैजालान्, अनि हामीले के पाउने ?

नेपालको पानी विदेशमा बेच्ने कुरा आउँदा धेरैले सोध्ने गरेका छन् कि आफ्नै देशमा पानी पुर्‍याउन सकेको छैन किन विदेशमा बेच्नुपर्‍यो ? झट्ट सोच्दा हो पनि । तर, खास कुरा के भने नेपालमा पानी पुर्‍याउन नसकेको स्रोत नभएर त होइन । हामीसँग पानीको स्रोत त जति पनि छ तर, त्यसलाई व्यवस्थापन गर्न सकेका छैनौं । मेलम्चीको पानी काठमाडौं आउन ढिलाई किन भयो ? स्रोत कम भएर हो त ? ठेकेदारको लापरवाही र सरकारको अकर्मण्यताले होइन ?

त्यसैले देशभित्र पानीको व्यवस्थापन र विदेशमा विक्री फरक–फरक कुरा हुन् । हामी दुवै काम एकैसाथ गर्न सक्छौं । विदेशमा पानी पठाउँदा नेपालमा अपुग हुने होइन ।
विदेशमा पानी बेच्ने भनेपछि सबैभन्दा पहिले त स्रोत पत्ता लगाउनुपर्‍यो । देशका विभिन्न स्थानहरुमा उपलब्ध पानी संकलन गरेर नमूना परिक्षण गर्नुपर्‍यो । त्यसका लागि बढिमा ३–४ महिना लाग्ला । खासै खर्चिलो काम होइन यो ।

मैले केही अघि काठमाडौं विश्व्विद्यालयका एक प्रोफेसरसित छलफल गरेको थिएँ । उहाँ साइन्स डिपार्टमेन्टको डिन हो र पानीको विज्ञ । उहाँले नेपालको हिमालको पानीमा हेभी मेटल र सिलिका बढि भएकाले प्रशोधन अलि खर्चिलो हुने बताउनुभएको छ । त्यसैले यो पाटोमा पनि ध्यान दिनुपर्ने हुन्छ । मिनरल वाटर भनेको विभिन्न ठाउँको मिनरल घुलेर आएको पानी हो । कुनै ठाउँमा मिनरल कम, कुनैमा बेसी होला । त्यो रिसर्च गर्नुपर्‍यो ।

पानी पहिचान भइसकेपछि प्रशोधन र प्याकेजिङका कामहरु आउँछन् । त्यसका लागि आविष्कार केन्द्र सक्षम छ । हामी आवश्यक जनशक्ति जुटाएर यो काम गर्न सक्छौं ।
अब कुरा आयो बजारको । हाम्रो नजिकको बजार भारत नै हो । भारतका विभिन्न ठाउँमा पानीको अभाव नै छन् । त्यसका लागि भारत सरकारसँग कुरा गर्नुपर्‍यो । भारतको बजारमा प्रतिस्पर्धी हुन सकिन्छ कि सकिँदैन हेर्नुपर्‍यो ।

हाम्रो अर्को सम्भावित बजार भनेको खाडी मुलुकहरु हुन् । साउदी अरब, कतार जस्ता देशमा पिउने पानीको डिमान्ड धेरै छ । हामी त्यहाँ पुग्न सक्छौं भने बजारको समस्या हुन्न होला । तर, यसका लागि थप अध्ययन जरुरी छ । त्यहाँ पुर्‍याएर हामीले कति मूल्यमा पानी बेच्न सक्छौं भन्ने कुरा हेर्नुपर्छ । असम्भव त पक्कै हुँदैन ।

अष्ट्रेलियामा हिमालयको पानी भनेर विभिन्न कम्पनीहरुले बोरिङ गरेर निकालेको पानी बेचिरहेका छन् । तिब्बतमा पनि एभरेस्ट वाटर भनेर बेच्ने गरिएको छ । नेपालकै सुपर मार्केटहरुमा कोरिया, जापानदेनि यूरोपियन ब्रान्डका पानीहरु आइपुग्छन् भने हामी चाहिँ विदेशी बजारमा जान नसक्ने भन्ने प्रश्नै छैन ।

हाम्रो लागि एउटा प्रमुख चुनौती पारवहनको हो । समुद्रसँग पहुँच नहुँदा भारतको भर पर्नुपर्छ । सुरुमा त कलकत्ता बन्दरगाह पुर्‍याउनुपर्छ । त्यो त्यति टाढा होइन । भारत नेपालको पानी तेस्रो मुलुकमा लैजाँदा भारतले कोअपरेट त गर्नैपर्छ । भारतसँग नेपालको व्यापार सम्झौता छ । त्यसैले उसले नेपालको निकासी रोक्न मिल्दैन । तर, पनि व्यवहारमा विभिन्न व्यवधान पुर्‍याउने गर्छ । त्यसैले सरकारले भारतसँग गम्भीर कुरा गर्नुपर्‍यो । भारतले दुःख दिन्छ भनेर चुप लागेर बस्ने हो भने त हामीले कुनै पनि वस्तु तेस्रो मुलुकमा निर्यात गर्न सक्दैनौं र हाम्रो व्यापार घाटा दिन प्रतिदिन बढेर जान्छ ।

हामीसँग पेट्रोलदेखि ग्याससम्म सबै आयात गर्नुपर्छ । आफूसँग भएको वस्तु पनि बेच्न सकेका छैनौं । यसरी कति दिन चल्छ ? हामी दिनदिनै परनिर्भर हुँदैछौं । पानीको विदेश निर्यातले हामीलाई सानै परिमाणमा सही हाम्रो वैदेशिक व्यापारको सन्तुलनमा केही योगदान पुर्‍याउन सक्छ ।

प्रस्तुतिः चिरञ्जीवी पौडेल/ अनलाईनखबर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal