कोरिया बिशेष

डिग्री पासको सर्टीफिकेट सिरानीमुनी, मान्छे कोरियाको फारम भर्ने लाईनमा !

डिग्री पासको सर्टीफिकेट सिरानीमुनी, मान्छे कोरियाको फारम भर्ने लाईनमा !

शुक्रबार बिहान कैलालीका रामबहादुर चौधरीलाई मध्यबानेश्वरमा रहेको ग्लोबल आईएमई बैङ्कमा कोरिया जाने आवेदन फारम भर्न हतारो थियो । शिक्षा सङ्कायमा स्नातक पास गरेका उनलाई कोरियाले राम्रैसँग लोभ्याएको उनको हउभाउबाटै प्रष्ट हुन्थ्यो । उनले भने ‘गत साल मेरा केही साथी कोरिया गए । उनीहरूको राम्रो कमाइ देखेर मलाई पनि कोरिया जाने रहर पलायो । त्यही भएर आज सबेरै फर्म भर्न बैङ्क आएको हुँ ।’

अहिले बैङ्कले टोकन सिस्टम लागू गरेकाले उभिएर लाइन बसिरहनुपर्दैन । आफ्नो पालो आएपछि आवेदन फारम बुझाए पुग्छ ।

उनलाई अनलाइनबाट फर्म बुझाउन मिल्छ भन्ने कुरा बैङ्कमा पुगेपछि मात्रै थाहा भयो । उनी मात्र होइन रोजीरोटी टार्न कुनै समस्या नभएका परिवारका छोराछोरी पनि कोरिया मोहबाट अछुतो छैनन् । कोरियाका लागि आवेदन दिन जानेहरु अधिकांश बाध्यताले भन्दा पनि अरुको देखासिकी र धेरै पैसा कमाउने लोभमा परेको देखिन्छ ।

सिन्धुपाल्चोककी कल्पना गुरुङ (प्लस टु पास) पनि कोरिया भाषा परीक्षाका लागि आवेदन दिन पुगेकी वानेश्वरमै भेटिइन् । उनलाई कोरिया गएर के काम गर्न पाइन्छ, मासिक आम्दानी कति हुन्छ भन्ने बारे कुनै ज्ञान छैन । तैपनि कोरिया मोहमा राम्रैसँग रुमल्लिएकी उनी भन्छिन्, ‘मेरो काका पनि कोरियामा हुनुहुन्छ । उहाँले राम्रै कमाएको देखेर मलाई जान मन लाग्यो । त्यही भएर आवेदन दिन आएकी हुँ । के काम गर्नुपर्छ, कतिको सहज छ, मलाई केही थाहा छैन ।’

३ वर्ष कोरिया बसेर आएका अर्का श्याम लामा फेरि पनि कोरिया जाने तयारीमा लागेका छन् । उनी भन्छन्, ‘नेपालमा जति दुःख गरे पनि पैसा राम्रो कमाउन सकिँदैन त्यही दुःख कोरियामा गर्ने हो भने कमाइ राम्रै हुन्छ । त्यही भएर म फेरि जाने सोचमा छु ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण उनले सिरानीमा प्रमाणपत्र राखेर मात्रै आर्थिक उन्नती नहुने देखिएकाले बाध्य भएर भाषा पढी कोरिया जाने योजना बनाएको सुनाए ।

यसरी डिग्रि पास गरेर पनि कोरिया जानेको लर्को लामै छ । यसरी पढेलेखेका शिक्षित युवाहरु बिदेसीनु देशका निम्ति राम्रो संकेत पक्कै होईन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७