मुख्य समाचार

लोकदोहोरी प्रतिष्ठानको निर्णय : ‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्ने

लोकदोहोरी प्रतिष्ठानको निर्णय : ‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्ने

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ ।

बैठकमा उपस्थित गायक पशुपति शर्माले यूट्यूबबाट गीत हटाउनुको कारणबारे जानकारी गराएका थिए । उनको भनाइ उद्वृत गर्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भने, ‘मलाई एक दुईवटा फोन आयो । राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्ने कुराहरु आए । म एक्लै पनि थिएँ । त्यसैले आत्तिएर हटाएँ ।’

उनले गीतमा आफूले व्यक्तिविशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको स्पष्टिकरण दिएका थिए । ‘म कुनै पार्टीसित आवद्ध छैन र कुनै पार्टीको विरोधि पनि होइन,’ पशुपतिले भने, ‘कसैप्रति पूर्वाग्रही भएर लेखेको थिइनँ । विवाद आउला भन्ने अनुमान पनि भएन ।’

अध्यक्ष पंगेनीले पशुपतिको गीत फेरि यूट्यूबमा जस्ताको तस्तै अपलोड गर्ने निर्णय गरिएको जानकारी दिए । ‘आधिकारिक रुपमा यो गीत हटाउन कसैले भनेको छैन । त्यसैले हटाउनु आवश्यक देखिएन,’ पंगेनीले भने, ‘त्यसैले वैठकबाट उहाँलाई गीत फेरि राख्न आग्रह भएको छ ।

प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई गरेको आग्रह पुन:स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal