मनोरञ्जन

कहाँ हराईन् ‘तरकारीवाली’ ?

कहाँ हराईन् ‘तरकारीवाली’ ?

२०७३ कात्तिक १२ गते रूपचन्द्र महर्जन नामको फेसबुक आइडी भएका एक व्यक्तिले आफ्नो फेसबुक पेजमा दुइटा तस्बिर पोस्ट गरे । ती तस्बिरमध्ये एउटामा एक युवती गोलभेँडाको क्रेट बोकेर झोलुंगे पुल पार गरिरहेकी थिइन् र अर्काेमा गोलभेँडाको क्रेट बेच्न राखेको ठाउँमा फोनमा कुरा गरिरहेकी थिइन् । रूपचन्द्रसँग जोडिएका फेसबुक फ्रेन्डले उक्त तस्बिरलाई मन पराउँदै गए र सेयर गर्दै गए । दुई दिनपछि त सामाजिक सञ्जालभरि त्यो तस्बिर फैलिरहेको थियो र तस्बिरले नयाँ नाम पाएको थियो– ‘तरकारीवाली’ ।

पछि थाहा भयो, उनको नाम कुसुम श्रेष्ठ रहेछ । उनी गोरखाकी हुन् । २०७२ असार १५ गते शम्भू दंगाल फेसबुक आइडीबाट पोस्ट भएको तस्बिर भाइरल भएको थियो ।

कुसुमको तस्बिर भाइरल हुनुको कारण सौन्दर्य त हो नै । त्यस बाहेक ‘चायवाला’ले बनाएका ‘तरकारीवाली’ ।
तरकारीवाली यतिबिघ्न चर्चित हुनुको कारण खोज्न उनको तस्बिरमा सौन्दर्य खोजेर मात्रै पुग्दैन । उनी नेपालभन्दा पहिले भारत, पाकिस्तान लगायतका मुलुकमा चर्चित भएकी थिइन् । यसरी चर्चित हुनुको कारण थिए, पाकिस्तानी ‘चायवाला’ अशरद खान ।

‘चायवाला’को तस्बिर भने इन्स्टाग्रामबाट भाइरल बनेको हो । पाकिस्तानी फोटोग्राफर जिया अलीले उनको तस्बिर अपलोड गरेकी थिइन् । कुसुमको तस्बिर फेसबुकमा पोस्ट हुँदाको बखत यी पाकिस्तानी चियावालाको ‘लुक्स’का बारेमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चा सेलाइसकेको थिएन । उनको अन्तर्वार्ता लिने, विज्ञापनमा मोडलिङका लागि अफर गर्नेको लहर चलिरहेका बेला कुसुमले गोलभेँडा बोकेको तस्बिर सार्वजनिक भएको थियो ।

त्यसपछि ‘चायवाला’को चर्चा गरिरहेका भारतका ट्वीटर प्रयोगकर्ताले कुसुमको उक्त तस्बिर पोस्ट गर्दै ‘तरकारीवाली’को संज्ञा दिए । भारतीय ट्वीटर प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएपछि कात्तिक १७ गते बीबीसी हिन्दीले ‘तरकारीवाली ने अपने लुक्स से किया इन्टरनेट पर कब्जा’ भन्दै समाचार बनायो । बीबीसी हिन्दीले समाचार बनाएपछि बीबीसी नेपालीले पनि त्यसलाई पछ्यायो । त्यसपछि नेपाली सञ्चारमाध्यमले सोही समाचारलाई साभार गरे । सीमित नेपाली सामाजिक सञ्जाल प्रयोग कर्तामाझ रहेको कुसुमको चर्चा त्यसपछि भने व्यापक भयो ।

परिवर्तित जीवनशैली ‘नेपालकी तरकारीवाली’ भनेर सामाजिक सञ्जालमा कुसुमको तस्बिर भाइरल भइरहेको थियो । यी तरकारीवाली को हुन्, कहाँकी हुन् ? भन्ने चाहिँ तस्बिर भाइरल भएको केही दिनपछि मात्रै खुल्यो । उनको नाम र ठेगाना खुलेपछि फोटोसुट गर्ने र अन्तर्वार्ता लिने क्रम चल्यो । जसका लागि नेपालमा नाम चलेका प्रायः मिडियाले ऊर्जा खर्चिए ।

४० वर्षीय चन्द्रलाल र ३८ वर्षीया ज्ञानु श्रेष्ठकी एक्ली छोरी हुन् कुसुम । सामान्य किसान परिवारकी उनी दशैँतिहारको कलेज बिदामा घर आएकी थिइन् । त्यही बेला घरकी एक्ली सन्तान कुसुमले सदाझैँ आमाबाबुलाई बारीबाट तरकारी टिपेर बेच्न फिस्लिङ ल्याउन सहयोग गरेकी थिइन् । चितवनमा केस्ट मोडल कलेजमा कक्षा ११ मा पढिरहेकी छिन् उनी । ‘तरकारीवाली’ भन्ने नामसँग कुसुमको विमति छ । भन्छिन्, ‘म फुर्सदमा मात्रै तरकारी बेच्न सघाउने भएकाले तरकारीवाली नाम उपयुक्त भएन ।’

अल्पकालीन ‘सेलिब्रिटीकरण’को आनन्द उनलाई प्राप्त भइरहेको छ । भन्छिन्, ‘गाउँको नाम फैलाएकोमा स्याबासी पाइरहेकी छु ।’ खासमा उनले प्राप्त गरेको यत्ति हो । विश्वबजारमा यसरी हिट हुनेहरूको आर्थिक हैसियत पनि उकासिएको देखिन्छ । जस्तो, उनीभन्दा एक महिनाअघि मात्रै यसैगरी चर्चित बनेका पाकिस्तानी युवक अशरद खान मोडलिङमा व्यस्त भइरहेका छन् । त्यसले उनको आर्थिक र सामाजिक हैसियत वृद्धि भइरहेको छ ।

तरकारीवाली चाहिँ लम्फुु नामक फिल्म र केही म्युजिक भिडियो तिर देखिएर पनि आजभोली गुमनाम छिन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal