मुख्य समाचार

यी वालकले बाबालाई पोल्छ भन्दै दागबत्ती दिन नमानेपछि…

यी वालकले बाबालाई पोल्छ भन्दै दागबत्ती दिन नमानेपछि…

शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मंगलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो । तर उनका ८ वर्षीय अवोध छोरा अनिश जोरालाई भने यो कुरा अन्जानजस्तै थियो ।

घरबाट शव यात्रा सुरु भयो, बुवाको लासलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए । शवयात्रासँगै उनी पनि घाट पुगे । तर के भइरहेको छ भन्ने कुराको कुनै भेउ पाएका थिनन् ।

जब बुवालाई चितामा सजाएर ‘आगो लगाउ’ भन्दै उनको हातमा दागबत्ती दिइयो । त्यतिबेला सबैलाई भावुक बनाउँदै उनले मार्मिक प्रश्न गरे, ‘मेरो बाबालाई किन आगो लगाउने ?’ उनी आगोले बाबाको शरीर पोल्छ भन्दै आगो लगाउन मानिरहेका थिएनन् । परिवारका अन्य सदस्यहरुले सम्झाईबुझाई गर्दा अनिश बुवाको चितामा आगो लगाउन त तयार भए तर ‘बाबा, बाबा’ भन्दै चिच्याउन थाले ।

उनी बाबालाई किन आगो लगाएको भन्दै चिच्याइरहेका थिए । तर उनले सोधेको प्रश्नको उत्तर कसैसँग थिएन् ।

उनका बुबा ८ महिना अघिदेखि क्यान्सरबाट पीडित थिए । १४ वर्षको उमेरदेखि रोजगारीको सिलसिलामा भारत आउजाउ गर्ने तेजको ८ महिना अघि बाँया पाखुरा दुख्न थाल्यो । उनले भारतमै जाँच गराउँदा पाखुराभित्र गानो भएकोले शल्यक्रिया गर्नु पर्ने चिकित्सकले सल्लाह दिए । तेजले त्यसैअनुसार गरे पनि । तर त्यो निको हुनुको सट्टा झन बल्झियो र क्यान्सर देखियो । उपचारका लागि तेजले भारतको चेन्नई, बेँग्लोर र नेपालको चितवनसम्म धाए तर कुनै सुधार भएन । अन्ततः उनको मृत्यु भयो ।

बुवा तेजलाई रोगले च्यापेपछि केआई सिंह गाउँपालिका–७, को नवद्वीप विद्यालय निकेतनमा कक्षा २ मा अध्ययन गर्दै गरेका अनिशलाई घर लगिएको थियो ।

छोरालाई ठूलो मान्छे बनाउने सपनासहित तेजले भारतमा नौकरी गर्दै निजी विद्यालयमा पढाउँदै आएका थिए । तेजको अवसानसँगै अनिशको पढाइ के होला भन्ने विषयमा स्थानीय बासिन्दाहरु चिन्ता गर्न थालेका छन् तर अनिशलाई भने यस कुराको कुनै पत्तो छैन् । अनिशसँगै चार वर्षीय रेश्माले पनि बुवाको सहारा गुमाएकी छिन् ।

अब उनीहरुको पढाइसहितको अन्य लालनपालन खर्च कसले व्यहोर्ने भन्ने कुराले उनकी आमालाई सताउन थालेको छ । घरमा आमा र बुढी हजुरआमा मात्रै भएका कारण पनि उनीहरुको पढाइमा समस्या हुने देखिएको छ । उज्यालोमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस