विशेष सामाग्री

कहाँ गुमनाम छन् ‘गिर्वाणी–सुरंगना’ ?

कहाँ गुमनाम छन् ‘गिर्वाणी–सुरंगना’ ?

२०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डमा बाँचेका गोरख शमसेरसँग धर्मपत्नी श्रुतिको सबैभन्दा महत्त्वपूर्ण चिनो केही छन् भने श्रुतिको कोखबाट जन्मेका दुई छोरी गिर्वाणी र सुरंगना राणा छन् । १९ जेठ ०५८ को दरबार हत्याकाण्डमा हजुरबा–हजुरआमा, मामा र आमासमेत गुमाएका यी दुई नानीहरू त्यसयता चाहिँ गुमनामप्राय: छन् ।

उनीहरू सञ्चारमाध्यमबाट बिलकुलै टाढा छन् । सामाजिक–सार्वजनिक कार्यक्रममा विरलै देखिन्छन् । उनीहरू यति धेरै अलगावमा छन् कि, गोरखका निकट पारिवारिक सदस्य पनि गिर्वाणी र सुरंगनाबारे बताउन असमर्थ छन् । दरबार हत्याकाण्डका बेला भर्खर तीन वर्ष पार गरेकी श्रुति–गोरखकी जेठी छोरी गिर्वाणी यतिबेला १९ वर्ष पुगिसकेकी छन् भने सिर्फ सात महिनाकी सुरंगना पनि १६ वर्ष पार गरिसकेकी छन्।

राजा वीरेन्द्रका चिकित्सक समेत रहेका डा खगेन्द्रबहादुर श्रेष्ठले ०६९ जेठमा काठमाडौँमा फोटो प्रदर्शनी आयोजना गरे । प्रदर्शनीमा राजा वीरेन्द्र र शाही परिवारसँग सम्बन्धित तस्बिर थिए । डा श्रेष्ठको निम्तो स्वीकार गर्दै श्रुतिको चिनोका रूपमा रहेका दुई छोरीका साथ गोरख बबरमहलस्थित नेपाल आर्ट काउन्सिल पुगे । आमा श्रुतिसहित दरबार हत्याकाण्डमा ज्यान गुमाएका शाही परिवारका अन्य सदस्यको तस्बिर देखेपछि गिर्वाणी भावुक बनिन्, आँसु झारिन् । उनले आँसु झार्दै गरेको तस्बिर भाइरल नै भयो ।

आफूले समेत देख्न नपाएका श्रुतिका तस्बिरहरू देखेपछि भावुक त गोरख पनि बने । तर, अभिभावकीय दायित्वका कारण आँसु खसालिरहेका छोरीका अघिल्तिर रूने छुट उनलाई थिएन । आँसु दबाउँदै प्रदर्शनी हलबाट बाहिरिए,। त्यसयता गिर्वाणी र सुरंगना सार्वजनिक रूपमा देखिएको भनेको अघिल्लो साल १९ जेठमा नारायणहिटी दरबारअगाडि आयोजना गरिएको कार्यक्रममा हो।

केही पारिवारिक जमघटमा बाहेक त्यसयता उनीहरू कुनै सार्वजनिक रूपमा देखिएका छैनन् । शाही परिवारका अन्य सदस्य जस्तै गिर्वाणी–सुरंगना सार्वजनिक कार्यक्रममा नदेखिनुको एउटा कारण हो, केही वर्षयता उनीहरू काठमाडौँमा नहुनु । दुवै जना अहिले छिमेकी मुलुक भारतमा अध्ययनरत छन् ।

दिदी गिर्वाणी बैङ्लोरस्थित एक कलेजमा स्नातक अध्ययनरत छिन् भने बहिनी सुरंगनाचाहिँ उत्तराञ्चलको देहरादुनस्थित वेलह्याम गल्र्स स्कुलमा प्लस टू पढ्दै छिन् । अघिल्लो वर्षसम्म दिदी गिर्वाणी पनि वेलह्याम गल्र्स स्कुलमा नै अध्ययनरत थिइन् । त्यहाँ गृह विज्ञानमा कक्षा–१२ सकेपछि उनी थप अध्ययनका लागि बैङ्लोर पुगेकी हुन् ।

गोरखशमशेरकी बहिनी अन्नपूर्ण राणा भन्छिन्, “मैले पनि गिर्वाणी बैङ्लोरमा स्नातक र सुरंगना देहरादुनमा पढ्दै छन् भन्ने मात्र सुनेकी छु । त्यसबाहेक थप जानकारी छैन ।”

गिर्वाणी–सुरंगना जब लगनखेलस्थित सेन्ट मेरिज स्कुलबाट दुई वर्षको अन्तरालमा कक्षा–४ पास भए, गोरखले दुवैलाई क्रमैसँग देहरादुनस्थित त्यही गल्र्स स्कुलमा भर्ना गरिदिएका थिए । ८० वर्षअघि सन् १९३६ मा स्थापना भएको त्यो स्कुल देहरादुनको सर्कुलर रोडस्थित डलनवाला भन्ने ठाउँमा छ ।

उनीहरूलाई पढ्नका लागि किन नेपालबाट भारत लगियो त ? आफ्नो नाम उल्लेख नगरिदिने आग्रहका साथ गोरखका एक निकट नातेदार भन्छन्, “दरबार हत्याकाण्ड र श्रुतिको निधनसम्बन्धी प्रसंगलाई गोरख बिर्सन चाहन्छन् । त्यसैले, छोरीलाई प्रेसले नभेट्टाओस् र त्यो प्रसंग सुन्नु नपरोस् भनेर नै उनीहरूलाई भारत लगिएको हो ।”

बिहेको पाँच वर्ष नबित्दै गोरखका काखमा दुई नाबालक छाडेर श्रुति धर्तीबाट बिदा भइन्– आफ्ना आमा–बाबु र दाजु–भाइका साथ । श्रुति गुमाएको सात वर्षपछि गोरखले बैतडीकी दीप्ती चन्दसँग बिहे गरे, २१ मंसिर ०६५ मा । दीप्ती नाताले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका भाइ कृष्णबहादुर चन्दकी छोरी हुन् । दीप्ती तर्फबाट पनि गोरखकी एक छोरी छन्, सुरवी ।

बाबु गोरखले गरेको दोस्रो बिहेलाई गिर्वाणी–सुरंगनाले कसरी लिएका छन् ? तर, माया र ममतामा कुनै भेदभाव नगरेर आफूहरूमाथिका प्रश्नको उत्तर गोरख र दीप्तीले दिइसकेका छन् । जहाँसम्म गिर्वाणी–सुरंगनामाथि उठेको प्रश्न हो, त्यसको जवाफ गोरख–दीप्तीको बिहेकै दिन दिएका रहेछन् । नाम बताउन नचाहने गोरखकी एक नातेदार भन्छिन्, “बिहेको भोलिपल्ट २२ मंसिर (०६५) मा दाम राख्ने कार्यक्रम थियो । त्यो कार्यक्रमको तस्बिर हाँसीखुसीका साथ गिर्वाणी र सुरंगनाले नै खिचे । त्यस्तै हार्दिक व्यवहार त्यसयता उनीहरूले देखाइरहेका छन् ।”

साना नानीहरूका लागि आमा जत्तिको प्यारी हुन्छिन्, त्यत्तिकै प्यारा हुन्छन् मामाहरू पनि । दुर्भाग्य † दरबार हत्याकाण्डमा उनीहरूले आमा मात्र गुमाएनन्, मामा पनि गुमाए, हजुरआमा (मावलीतर्फ) पनि गुमाए । मामाघरको यो रिक्तता पूर्वराजा ज्ञानेन्द्रले पूरा गरिदिएका छन् । पूर्वराजाका सहयोगी सागर तिमिल्सिना भन्छन्, “अहिले पनि नेपाल आएका बेला दुवै नानीहरू निर्मल निवास आइपुग्छन् । पूर्वराजपरिवारले गिर्वाणी–सुरंगनालाई अन्य नातिनातिनासरहकै माया दिइरहेको छ ।”

काठमाडौँ आइपुग्नासाथ हुर्रिएर उनीहरू पुग्ने ठाउँ हो, नारायणहिटी दरबार परिसरभित्रै रहेको महेन्द्र मञ्जिल, जहाँ ९० पुग्न लागेकी पूर्वमुमा बडामहारानी रत्न शाह आफ्नो जीवनको उत्तराद्र्ध बिताउँदै छिन् । स्रोतका भनाइमा, काठमाडौँमा रहँदा प्रत्येक दिनजस्तो उनीहरू महेन्द्र मञ्जिल पुग्छन्, दिनभर पूर्वमुमा बडामहारानीसँग रहन्छन् र बेलुकीपख ठमेलस्थित केशर महलनजिकै रहेको आफ्नो निवास फर्कन्छन् । यसबाहेक उनीहरू कतै सार्वजनिक हुँदैनन्।

(यो स्टोरि हामीले नेपाल म्यागजिनबाट लिएका हौ)

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal