प्रवास

ए सरकार ! ‘काठको बाकसमा फर्किने लाशमा पनि भन्सार लगाएर देखाई’

ए सरकार ! ‘काठको बाकसमा फर्किने लाशमा पनि भन्सार लगाएर देखाई’

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा कडाइ गरेपछि विदेशमा बस्ने नेपालीहरुले ब्यापक विरोध गर्दै भन्सारमा भइरहेको ‘ज्यादति’ भइरहेको आरोप लगाउँदै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

सरकारले सोमबारमात्रै विदेशबाट आएका नेपालीबाट जफत भएको विभिन्न समानहरु २ करोडभन्दा बढी मूल्यमा लिलामीका लागि सूचना निकालेको छ । यसपछि झनै बिदेसमा काम गर्ने नेपाली आक्रोशित बनेका छन् ।

साउदीबाट सन्देश ताम्राकारले लेखेका छन्,’३३ किलो सुनको अत्तो पत्तो छैन, तर हामी गरिबले खुन पसिना एक गरेर कमाएको पैसाले आफ्नो परिवारलाई एउटा मोबाइल र अलिकति सुन ल्याउँदा पनि खोसेर एसरी लिलामीमा राख्ने ? जसको जसको दुःख र पसिनाको कमाई थियो नि, पक्कै पनि उनिहरूको आँशु चै लाग्ने छ ।’

इटालीबाट एन के निर्दोषले लेखेका छन् । ‘बरु विदेशबाट आफ्नो जन्मथलो आउने नेपालीहरुबाट विदेशी पैसा चन्दा माग सरकार, आफ्नो परिवारलाई भनेर ल्याइएको एक बोतल रक्सी र एउटा मोबाइल छापामार शैलीमा नखोस,’

सरकारले क्रिकेट ब्यागसमेत जफत गरेको खबर सुनेपछि कुवेतबाट बद्री आचार्य भन्छन्,’ एउटा बाबुले आफ्नो छोरालाई सन्दिप लामिछाने बनाउँछु भन्ने सपना देखेर लिएर जाने ब्याग पनि खोसेको सुन्दा नरमाइलो लाग्यो ।’

बहारइनबाट सुजन घिमिरेको आक्रोश पनि फरक छैन । उनी देशभित्र अवसर नपाएर विदेशिएका युवाले ल्याउने जुत्ता र कपडामा पनि सरकारले गिद्दे नजर लगाउनु ठीक नभएको उनको भनाइ छ । उनी भन्सार नै उठ्छ भनेर सोच्ने भए काठको बाकसमा फर्किने कामदारको शबमा पनि भन्सार लगाएर देखाउन सरकारलाई चुनौति दिन्छन् ।

‘श्रम मन्त्रीज्युको चिप्लो कुरा सुन्छौं, अर्थमन्त्रीज्यु हाम्रो पसिना जफत गरेर लिलामीमा राख्नुहुन्छ,’ घिमिरे ब्यंग्य कस्दै भन्छन्,’ हामीले ल्याएको समानबाट २ करोड राजश्व उठाएर सरकारलाई राहत हुन्छ भने कफिनको माैत्र हैन, ज्युँदै मान्छे स्वदेश फर्किएको पनि कर लगाउँद हुन्छ ।’

तर, यता विमानस्थल भन्सार प्रमुख चुँडाराज सापकोटाले तुलनात्मक रुपमा विदेशबाट ठूलो परिमाणमा रक्सी ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको बताउँछन् ।

(अनलाईनखबरको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७