मुख्य समाचार

रङ्गशाला निर्माण सुरु : धुर्मुस-सुन्तलीलाई बाजागाजासहित स्वागत

रङ्गशाला निर्माण सुरु : धुर्मुस-सुन्तलीलाई बाजागाजासहित स्वागत

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज चितवनमा भव्य स्वागत गरिएको छ । भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी र्यालीका साथ निर्माणस्थल रामपुर पुर्याइएको थियो ।

निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव हुने बताए ।

उनले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रङ्गशाला महत्वपूर्ण हुने बताए । उनले तोकेकै समयमा रङ्गशाला निर्माण सम्पन्न गरिने जसको निम्ति सबैको साथ र सहयोगका लागि आह्वान गरे। सरकारले यो महान् अभियानमा आफूहरुलाई सहभागी गराएको भन्दै उनले सबैको साथ र सहयोगबाट रङ्गशाला बन्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायण दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न जिल्लाका राजनीतिक दल सक्रियताका साथ लाग्ने बताउदै । देशमा विकास निर्माणको युग शुरु भएको भन्दै त्यसमा हातेमालो गर्न सबैलाई आह्वान गरेे।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रङ्गशाला निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले काङ्ग्रेस प्रतिपक्ष दल भए पनि विकास निर्माणमा सधैँ हातेमालो गर्दै जाने बताए । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनसँग सम्झौता भएपछि उत्साहित भएको बताए ।

स्थानीयवासीले घरअगाडिका सडक किनारामा घडा राखेर बजागाजा र ठाउँठाउँमा स्वागतद्वारसहित स्वागत गरेका थिए । आजैदेखि रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal