विशेष सामाग्री

राजा वीरेन्द्रको प्यारो ठाउँ सुर्खेत : जहाँ उनकै शालिकको यस्तो छ हालत

राजा वीरेन्द्रको प्यारो ठाउँ सुर्खेत : जहाँ उनकै शालिकको यस्तो छ हालत

वीरेन्द्रनगर नगरपालिकाको कम्पाउन्डभित्र दमकल पार्किङ गर्न बनाइएको ठाउँमा दमकलसँगै एउटा टिपर पनि छ। त्यहीँ बेवारिसे मिल्किएको शालिकको टाउको र खुट्टा छैन। बीचको भाग मात्र छ। त्यो हो राजा वीरेन्द्रको शालिक ।

२०६२/६३ को जनआन्दोलन बेला वीरेन्द्रचोकमा राखिएको यो शालिक तोडफोड भयो। बचेको बीचको भाग नगरपालिकामा ल्याएर राखिएको हो।

सुर्खेतको वीरेन्द्रनगरलाई आजको अवस्थासम्म ल्याउन राजा वीरेन्द्रको योगदान रहेको भन्दै उनको शालिक पुनर्स्थापनाबारे यहाँ बहस सुरु भएको छ।

उनी २०२३ सालमा पहिलोपटक सुर्खेत आएका थिए। त्यसबेला सुर्खेत उपत्यका मन परेर २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमालाई साथमा ल्याएर उपत्यकाको गुरुयोजना बनाउन लगाएका थिए। वीरेन्द्रले मन पराएको ठाउँ भएकैले तत्कालीन कटकुवा नगर पञ्चायतलाई वीरेन्द्रनगर पञ्चायत नामाकरण गरिएको थियो ।

यसैको सम्झनास्वरुप सहरको मुख्य चोकमा स्थापना गरिएको वीरेन्द्रको शालिक बेवारिसे फालिनु दुखद हो ।

यो शालिक २०४४ सालमा अनावरण गरिएको हो। अनावरण बेला राजा वीरेन्द्र र रानी ऐश्वर्य दुवै सुर्खेत आएका थिए। भारतको जयपुरबाट शालिक निर्माण गरी ल्याइएको थियो।

भारत स्वतन्त्र हुनुअघि बेलायतीहरूको सम्राज्य थियो, त्यतिबेला बेलायती शासकहरूको शालिक अहिले पनि भारतमा देख्न पाइन्छ। ‘भारतीय सरकार वा जनताले इतिहासका रूपमा ती शालिक जोगाएर राखेका छन्। त्यही इतिहास विश्वका लागि आकर्षण केन्द्र बनेको छ। नेपालमा भने पुरानो शालिक भत्काएर इतिहास मेट्ने प्रयत्न भएको छ ।

राजाको शालिक रहेको ठाउँमा पानीको फोहोरासहितको पोखरी निर्माण गर्ने योजना ल्याउँदै वीरेन्द्रनगर नगरपालिकाले गत जेठमा यहाँ डोजर चलाएको थियो। तर, वीरेन्द्रको शालिक राख्नेबारे विवाद हुँदा पुनर्निर्माण अलपत्र अवस्थामा छ।

वीरेन्द्रचोकमा वीरेन्द्रकै शालिक राख्न राप्रपा लगायत नागरिक समाजले दबाब दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal