साहित्य

प्रिय छोरा! तिमीले कुनै गरूङ्गो जिन्दगीको गरूङ्गो महाकाव्य पढिरहनु पर्दैन!

- शरद पोख्रेल

प्रिय छोरा! तिमीले कुनै गरूङ्गो जिन्दगीको गरूङ्गो महाकाव्य पढिरहनु पर्दैन!

कविता : छोराको नाममा

तिम्रा कागजका पन्नामा कोरिएका
कोरा लम्बाइ र चौडाइमा मात्र सीमित नबनून्
पाइथागोरसहरू
त्रिभुज र चतुर्भुज मात्र ननापून् ती
बरू तिमीसंगै आऊन् तिम्रो उज्यालो पाइला बनेर
हाम्रो पुरानो घरको पुराना भित्ताहरू नाप्न
र लगाऊन् रङ हरेक खुशीका कण मिसिएका
हरेक कोणहरूबाट।

बिज्ञानका महङ्गा महङ्गा प्रयोगशालाबाट
तिम्रै हात समाएर बाहिर निस्कियून
आइन्सटाइनहरू
र पत्ता लगाऊन्
“आँशु+ आँशु = आँशु” भित्रको जडरहस्य

तिम्रा आर्किमिडिज र न्युटनहरू
नबसून् त्यतिबेला कोरा सिद्धान्तका डालीमा पिङ खेल्दै
जतिबेला अभावको समुन्द्रमाथि
भारी आवश्यकता बोकेको
जिन्दगीको जहाज डुब्दै गरेको होस्
या रहरको स्याउको बोटबाट बाध्यताहरू
एक एक गर्दै खसिरहेको होस्।

तिम्रा बिपी,गान्धी या लेनिन्
तिम्रा कक्षाकोठाबाट यदि बाहिर निस्कन मन्जुर भए भने
देखाइदिनू हाम्रो समाजको रून्चे समाजवाद
जहाँ युगौदेखि महल अग्लिरहेको छ
र झुपडी पुड्किरहेको छ
देखाइदिनू बाटा छेउँका बाँझा खेतबारी
र सिकाइदिनू समुद्रपारीतिर औँला
देखाइदिनू पहाडको आँशुले भत्काइदिएको
घुमाउरो बाटो
र सुनाइदिनू सिंहदरवार भित्रको देश खाने कथा।

कुनैदिन तिम्रो पाठबाट उठेछन् भने
भक्ती थापा र बलभद्र धरमराउँदै
पुर्याउनू डोर्याउदै डोर्याउदै सुस्ता, कालापानी र लिपुलेक
देखाइदिनू –
ढलेको रास्ट्रियताको खम्बा
सरेको स्वाभिमानको साँध
र च्यातिएको देशको झण्डा

प्रिय छोरा!
तिमीले कुनै गरूङ्गो जिन्दगीको
गरूङ्गो महाकाव्य पढिरहनु पर्दैन,
बस् चलिरहेको समयको मात्र एक थोपा पढ्नु
जुन् तिम्री आमाको आँखाबाट झरेर
गालामा पुगी हराउने गर्छ हरेक दिन।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal