धर्म/ संस्कृति

श्रीस्वस्थानी व्रत कथामा पीएचडी गरेकी डा.जेसिका भन्छिन् : ‘श्रीस्वस्थानी व्रत’ दक्षिण एशियाा मै उत्कृष्ट

श्रीस्वस्थानी व्रत कथामा पीएचडी गरेकी डा.जेसिका भन्छिन् : ‘श्रीस्वस्थानी व्रत’ दक्षिण एशियाा मै उत्कृष्ट

अमेरिका निवासी वानोद वान्थाईन र केरोन वान्थाईनका सुपुत्री जेसिका वान्थाईन विरकेन्होल्ज अमेरिकाकै यूनिभर्सिटी अफ ईलिनोयसका सह प्राध्यापक हुनुहुन्छ । उहाँ पहिलो पटक साँखुमा सन् १९९९ मा आउनुभएको थियो जत्तिखेर उहाँ बीए पढ्दै हुनुहुन्थ्यो । त्यसपछि उहाँ सन् २००५, २००६, २००८ र २०१४ मा पनि केही दिनको लागि साँखुमा आउनुभएको थियो ।

उहाँले दक्षिण एशियाका महिलाहरुको परम्परा विषयमा विद्यावारिधी गर्नुभएको थियो ,यसै सिलसिलामा स्वस्थानी ब्रतकथामा पनि पीएचडी गर्नु भयो । त्यसै सिलसिलामा उहाँले साँखुको माधवनारायण स्वस्थानी व्रतको पनि अध्ययन अनुसन्धान गर्नुभएको थियो ।

प्रस्तुत छ उहाँसँग साँखुका संस्कृतिप्रेमी प्रविणराज श्रेष्ठको घरमा संस्कृति परम्परा र माधवनारायण स्वस्थानी व्रतका विषयमा लिईएको समसामयिक कुराकानीको सम्पादित अंश:

म सन् १९९९ मा पहिलो पटक बीए पढ्दै गर्दा साँखुमा आएको थिएँ । त्यत्तिखेर मैले दक्षिण एशियामा महिला परम्पराबारे अध्ययन गर्ने सिलसिलामा म यहाँ आएको थिएँ । पछि मैले दक्षिण एशियामा भाषा र सभ्यताबारे विद्यावारिधी (पीएचडी) गरेको थिएँ ।

मैले काठमाडौँ, साँखु, भक्तपुर, पाटन, जनकपुर लगायतका साँस्कृतिक सहरहरु घुमेको छु । साथै तराईका कतिपय जिल्लाहरुमा पनि पुगेको छु । विशेषगरि मैले तराईका जिल्लाहरुमा मनाईने जितिया, छठ, तीज, विवाह पञ्चमी, अनि साँखुको माधवनारायण स्वस्थानी व्रत सम्बन्धी अध्ययन गरेको थिएँ । त्यसमा पनि मैले स्वस्थानी व्रत लाई अन्य चाड पर्व र व्रतहरुको तुलनामा अति उत्कृष्ट र कठिन व्रतका रुपमा पाएकी छु । यो व्रत पूजा दक्षिण एशियाकै उत्कृष्ट व्रत पूजा हो ।

सम्भवत ४४१ वर्ष अगाडिको पुस्तक हुनुपर्छ । त्यो पुस्तक ने.सं. ६९३ को स्वस्थानीको पुस्तक हो । त्यसमा स्वस्थानीको व्रत सम्बन्धी पूजा विधीहरु २ दिन र १ रातको मात्रै वर्णन गरिएको छ । त्यसपछि ने.सं. ७२३ को स्वस्थानी पुस्तकमा भने १ महिनाको व्रत पूजाको वर्णन गरिएको पाएको छु ।

मैले विभिन्न कालखण्डका पुस्तकहरु अध्ययन गर्दा पनि माधवनारायण र स्वस्थानी व्रत पूजा जोडिएको पाइँन तर माधवनारायण र विष्णु भगवान एउटै भनिने भएकोले पार्वतीलाई विष्णु भगवानको मुखारविन्दबाट स्वस्थानी व्रत पूजा सम्बन्धी विधी बताइएको हुँदा मात्रै जोडिएको हो कि जस्तो लाग्छ । हुनतः माधवनारायण व्रत भनेर भक्तपुरमा पनि पाइँदो रहेछ । तर स्वस्थानी मन्दिर मैले अहिले साँखुमा पाएको छु । पहिल्यै थिएन । तर मैले सुने अनुसार काठमाडौँको मखन टोलमा स्वस्थानीको मन्दिर रहेको छ । हुनतः माधवनारायणको व्रत खोकनामा पनि मनाउने गरेको सुनेकी छु ।

त्यस्तै निकै सुन्दर नगरी हो साँखु । मलाई साँखुको हावापानी र यहाँका मानिसहरुको संस्कृति र परम्परामा रहेको अगाध विश्वास देख्दा अति रमाइलो र बिर्सनै नसकिने सहरको रुपमा मैले साँखुलाई पाएको छु । त्यसैले म पटक पटक साँखुु आउने गरेको छु ।

(”स्वस्थानीका विषयमा यसअघि पनि अमेरिकी नागरिक लिन्डा इलटिसले विद्यावारिधि शोध गर्नुभएको थियो । इलटिसको शोधको विषय “श्री स्वस्थानी व्रत” मात्रै थियो भने जेस्सिकाको विषय “श्री स्वस्थानी व्रतकथा” रहेको छ । नेपाली नागरिकले भने अहिलेसम्म श्री स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध नगरेको सहप्राध्यापक काशीनाथ तमोटले बताउनुभयो” , तमोट जेसिकालाई पिएचडीमा मार्गनिर्देशन गर्ने गुरु हुनुहुन्छ )

-पवनलाल श्रेष्ठको पोस्टबाट (२०७२/७३ साल)

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal