मुख्य समाचार

मुस्लिम र बुद्धिष्ट समूदाय मिलेर बनाए हिन्दुहरुको ‘दुर्गा मन्दिर’

मुस्लिम र बुद्धिष्ट समूदाय मिलेर बनाए हिन्दुहरुको ‘दुर्गा मन्दिर’

चितवनको पश्चिममा पर्ने नारायणी नगरपालिका-३ पर्साढापमा मुस्लिम र बुद्धिष्ट समूदाय हिन्दुहरुसँग मिलेर ‘माँ दुर्गा भवानी’ को मन्दिर निर्माण गरेका छन् । ईलाका प्रहरी कार्यालय पर्साढापको परिसरमा दुर्गा भवानीको मन्दिर निर्माण गरिएको हो ।

४ महिना अघि उक्त स्थानमा दुर्गा भवानीको मन्दिर बनाउने प्रस्ताव ईप्रका पर्साढापका प्रमुख सई (प्रहरी नायब निरिक्षक) महम्मद लतिफ अन्सारीले गरेका थिए ।

मुस्लिम प्रहरी अधिकृत अन्सारीले मन्दिर निर्माण गर्न प्रस्ताव ल्याएपछि स्थानीय बासिन्दा सुरुमा आश्चर्यमा परेका थिए । ‘मुस्लिम समुदायका व्यक्तिले मन्दिर बनाउँछन भनेमा विश्वास नै लागेको थिएन,’ स्थानीय टिका अधिकारीले भनिन, ‘हिन्दु-मुस्लिमको धर्म नै मिल्दैन ।’

सबै धर्मावलम्बी मिलेर दुर्गा भवानीको मन्दिर बनाएर एकताको मिसाल कायम गरेको उनले बताईन । यसले धार्मिक विभेद हटाउन ठूलो योगदान पुर्‍याएको उनले बताईन । गाउँमा उक्त मन्दिर निर्माण पुरा भए पछि यहाँका सबै धर्मावलम्बीहरु खुशी भएका छन ।

मन्दिर निर्माणको लागि बोलाइएको भेलामा गाउँका मुस्लिम, बुद्धिष्ट, हिन्दु धर्म मान्ने व्यक्तिहरु सहभागी भएका थिए । भेलाले मन्दिर निर्माण गर्न बुद्धिष्ट धर्म मान्ने गोविन्द तामाङको संयोजकत्वमा निर्माण समिति गठन गरेको थियो ।

सबैले मिलेर गाउँ भरीबाट चन्दा संकलन गरी १५ लाख ८३ हजार ९ सय ६५ रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न गरिएको मन्दिर निर्माण समितीका संयोजक तामाङले बताए ।

सई अन्सारीले पनि मन्दिर निर्माणमा आफ्नो एक महिनाको तलब सहयोग गरेको बताए । ‘सबै प्रहरी कार्यालयमा दुर्गा भवानी देवीको पुजा हुन्छ,’ उनले भने, ‘तर यहाँ मन्दिर थिएन ।’ प्रहरी र जनताबीचको भावनात्मक सम्बन्धलाई भौतिक रुपमा प्रस्तुत गर्न, प्रहरीप्रति जनताको अपनत्व बढाउन मन्दिर निर्माण गरिएको उनले बताए ।

‘प्रहरीको एउटै धर्म जनताको सेवा र शान्ति सुरक्षा कायम गर्नु हो,’ उनले भने, ‘हाम्रो धर्मग्रन्थ यही हो ।’

मन्दिर निर्माणमा सबैलाई एकैस्थानमा ल्याएर गाउँमा एकता कायम गराउन सई अन्सारीले गरेको कामको गाउँलेले सराहना गरेका छन । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal