अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिमा पहिलो पटक हिन्दू महिलाको उम्मेद्वारी, अर्को हप्ता घोषणा

अमेरिकी राष्ट्रपतिमा पहिलो पटक हिन्दू महिलाको उम्मेद्वारी, अर्को हप्ता घोषणा

अमेरिकाको राष्ट्रपति पदमा पहिलो पटक एक हिन्दू महिलाले उम्मेद्वारी दिने तयारी गरेकी छिन्। उनले आउँदो हप्ता औपचारिक रुपमा उम्मेद्वारीको घोषणा गर्ने बताएकी छिन्।

सीएनएनसँगको कुराकानीमा अमेरिकाकी प्रथम हिन्दू सांसद समेत रहेकी तुलसी गबार्डले २०२० को राष्ट्रपति निर्वाचनका लागि आफूले उम्मेद्वारी दिने निर्णय गरेको बताएकी हुन्।

३७ वर्षकी तुलसीले हवाई राज्यबाट ४ पटकसम्म सांसद पदमा निर्वाचन जितिसकेकी छिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनी सैनिक थिइन्। अमेरिकी सेनामा रहँदा उनी १२ महिनासम्म इराकमा तैनाथ भइसकेकी छिन्।

उनले आउँदो हप्ता उम्मेदवारीको घोषणा गरिन् भने अकेरिकामा नयाँ इतिहास बन्नेछ। अहिलेसम्म अमेरिकी राष्ट्रपति पदमा कुनै पनि हिन्दूले उम्मेदवारी दिन सकेका छैनन्।

यदि उनले राष्ट्रपति निर्वाचन जितिन् भने एकैपटक ३ रेकर्ड बन्नेछन्। निर्वाचित भएमा उनी अमेरिकाकी प्रथम हिन्दू राष्ट्रपति, प्रथम महिला राष्ट्रपति र सबैभन्दा कम उमेरकी राष्ट्रपति बन्नेछिन्।

केही महिना अघिदेखि केही हिन्दू अमेरिकीहरुले भारतीय तथा नेपाली मूलका अगुवाहरुलाई इमेल पठाउँदै अमेरिकाको राष्ट्रपति पदमा हिन्दू उम्मेदवारको सम्भावनाबारे राय मागेका छन्।

२०१२ मा पहिलोपटक उनी हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएकी थिइन्। तुलसी प्रथम अमेरिकी सांसद हुन्, जसले भागवत गीताको नाममा शपथ लिएकी थिइन्। तुलसी नेपाली तथा भारतीय मूलका अमेरिकीहरुमाझ लोकप्रिय छिन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal