विशेष सामाग्री

के पृथ्वीनारायण शाहको मृत्यु ‘बाघले खाएर’ भएको थियो ?

- बीबीसी

के पृथ्वीनारायण शाहको मृत्यु ‘बाघले खाएर’ भएको थियो ?

तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजा बने।
साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए।

उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो।
तर उनको मृत्युको कारणबारे इतिहासकारहरू एकमत छैनन्।

पृथ्वीनारायण शाहको मृत्यबारे कस्ता धारणा देखिएका छन् र प्रामाणिक तथ्यहरूले के भन्छन्? बीबीसीको रिपोर्ट :

इतिहासकार दिनेशराज पन्तको विश्लेषण
नेपाल एकीकरणको उद्देश्य लिएर राज्य विस्तारमा लागेका पृथ्वीनारायण शाहले विसं १८०१ आश्विन १५ गते नुवाकोट विजय गरेर उपत्यका प्रवेशको बाटो खोलेका थिए।

उनले त्यसपछि क्रमश: काठमाण्डू खाल्डोमा रहेका मल्ल राजाहरूद्वारा शासित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन सफलता पाए।

त्यसअघि उनले आफ्नो ससुराली राज्य मकवानपुरलाई समेत आफ्नो राज्यमा मिलाइसकेका थिए।

उपत्यका विजयको केही समयपछि नै शाहले आफ्ना पूर्वज द्रव्य शाहले विसं १६१६ सालमा गोर्खा राज्य स्थापना गर्दा कायम गरेको पश्चिमपट्टिको सीमा चेपे-मर्स्याङ्दीपारि रहेका चौबीसे राज्यहरूमा आक्रमण गरे।

केही समयमा उनले ती राज्यमाथि विजय पनि प्राप्त गरे। तर चौबीसे राज्यको संयुक्त सेनासँग टिक्न सकेनन्। केयरसिंह बस्न्यातजस्ता भारदार मारिए र वंशराज पाँडेजस्ता भारदार शत्रुराज्यद्वारा समातिए।

चौबीसे राज्यसँग पराजय खेपेपछि उनले पूर्वतिर एकीकरण अभियान थाले।

पृथ्वीनारायणको सेना सजिलै अहिले नेपालको सीमा रहेको मेची नदीपारि परैसम्म पुग्यो। यो सफलताले उत्साहित बनेका उनी फेरि पश्चिमतर्फ आक्रमण गर्नुपर्‍यो भनी नुवाकोट पुगेका बेला अकस्मात् बिरामी परेको ऐतिहासिक लिखतहरूले देखाउँछन्। उनको मृत्यु विसं १८३१ माघ १ गते भएको थियो।

प्रमाण
उनको मृत्युबारे पर्वतका राजाले भारदारलाई लेखेको पत्रमा ‘गोर्खाका राजा हामी माथि दागा राखी दगा गर्न नुवाकोट आयाथ्या भगवत् इच्छा त आफैँ हेलिया’ अर्थात् ‘गोर्खाका राजा हामीलाई सिध्याउन आएका थिए तर भगवान्‌को इच्छाले आफैँ सिध्यिए’ भन्ने उल्लेख छ।

नेपालेश्वर उपन्यासमा पृथ्वीनारायणको मृत्युबारे वर्णन गरिएको छ तर कुन रोग वा के कारणले उनको मृत्यु भएको भन्ने स्पष्ट पाइँदैन।

विसं १९९२ मा भारतको दार्जेलिङबाट सूर्यविक्रम ज्ञवालीले निकालेको ‘पृथ्वीनारायण शाह’ नामक कृतिमा तत्कालीन सिक्किम र तिब्बततिरका मानिसहरूले सुने अनुसार ‘पृथ्वीनारायण शाहको जीउमा फोकैफोका आएको थियो र त्यही घाउका कारण उनी बिते’ भन्ने विवरण दिइएको छ।

विसं २००७ सालमा भारतकै बनारसबाट छापिएको रामजी उपाध्यायको ‘नेपालको इतिहास अर्थात् दिग्दर्शन’ भन्ने पुस्तकमा ‘पृथ्वीनारायण शाहले सिकार खेल्न जाँदा उनलाई बाघले झम्टियो र उनी त्यसलाई मार्न समर्थ भएनन् र त्यसैबाट उनको मृत्यु भयो’ भन्ने उल्लेख छ।

अविश्वास
यहाँनिर विचार गर्नुपर्ने मुख्य कुरा के हो भने विसं १९३८ सालमा भएको ‘३८ साल पर्व’मा धपाइएर बनारसमा पुगेर पुस्तकको व्यवसाय गरेर बस्न बाध्य पारिएका परिवारका सदस्य भएकाले रामजीप्रसाद उपाध्यायका पुस्तकमा राणाहरूप्रति अत्यन्त द्वेष व्यक्त गरिएको छ।

उनले राणाहरूप्रति पूर्वाग्रह राखेर लेखेको स्पष्ट देखिन्छ।
राणाहरूबारे उनले, प्रमाणित होस् वा अप्रमाणित, द्वेष व्यक्त गर्नकै लागि कतिपय कुराहरू लेखेका छन्।

तात्कालिक परिस्थिति हेर्दा पृथ्वीनारायण शाह राजा भएकाले उनले कहिल्यै सिकार खेलेनन् होला भन्न त सकिँदैन।

रामजी उपाध्यायको ‘नेपालको इतिहास अर्थात् दिग्दर्शन’ भन्ने पुस्तकमा ‘पृथ्वीनारायण शाहले सिकार खेल्न जाँदा उनलाई बाघले झम्टियो र उनको मृत्यु भयो’ भन्ने उल्लेख छ
तर उनी राज्य विस्तारमा दत्तचित्त भएर लागेकाले र उनकै दिव्योपदेशमा नाचगान इत्यादिलाई निन्दा गरिएकाले पनि उनले जीवनको उत्तरार्धमा सिकार खेले होलान् भनेर पत्याउन सकिँदैन।

आधार
सिकार गर्नु, जुवा खेल्नु, दिउँसो सुत्नु र बढी स्त्री सम्भोग गर्नुलाई राजनीतिशास्त्रका विद्वानहरूले राजाको दोषकै रूपमा मानेकाले र पृथ्वीनारायण शाहले यस्ता कुरामा परहेज गर्ने भएकाले पनि सिकार खेलेको र त्यसैबाट उनको मृत्यु भएको भन्ने विश्वास गर्न निक्कै गाह्रो हुन्छ।

सिकार खेल्दा उनी साँच्चिकै घाइते भएका भए उनले दिव्योपदेश दिन समर्थ हुन्थे होलान् र? उनले त ‘अब म बाँच्दिन’ भन्ने लागेर रोग लागेपछि बल्ल त्यस्तो उपदेश दिएको देखिन्छ।

उपलब्ध सामग्रीहरूका आधारमा भन्नुपर्दा बाघले उनलाई आक्रमण गरेको भन्ने विश्वास गर्न सक्ने आधार देखिँदैन।

तसर्थ उनको मृत्यु सामान्य ढङ्गले नै भएको हुन सक्छ।

उनको शरीरमा खटिरा आएको भन्ने कुरा चाहिँ हल्लै भए पनि विश्वास गर्न सकिने कुरा हो। अन्य कुरामा खासै विश्वास गर्न सकिँदैन।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal