प्रवास

यूएईमा १ सय ५० जना नेपाली अलपत्र, सहयोगको अपिल

- उमाकान्त पाण्डे

यूएईमा १ सय ५० जना नेपाली अलपत्र, सहयोगको अपिल

यूएईको आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र परेका छन् । आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत उनीहरु अलपत्र परेका हुन् ।

कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेको कारण यस्तो समस्या देखिएको बताईएको छ ।

राजधानी आबुधाबीदेखि झन्डै २८ किलोमिटर टाढा रहेको मुसाफा ४० नम्बर मजदुर क्याम्पमा उनीहरु अहिले अलपत्र अवस्थामा छन् । कम्पनीमा कार्यरत नेपालसहित भारत, बाङ्लादेश, पाकिस्तान श्रीलंकालगायत देशका झन्डै ७ सय जना कामदार अहिले समस्यामा परेका हुन् ।

‘एउटै कोठामा २१ जनासम्म सुतिरहेका छौँ, क्याम्पको दोस्रो तल्लामा नेपालीहरु छौँ’ कन्चनपुरका गणेश सिंह महराले भन्नुभयो, ‘कतिपय क्याम्पभन्दा बाहिर साथीभाइको सहयोगमा बसिरहनुभएको छ ।’ बिरामी हुँदा उपचार गर्नसमेत नपाएको पीडितहरुको भनाइ छ ।

कम्पनीमा १८ महिनादेखि झन्डै ५ वर्षसम्म काम गरेका उनीहरुमध्ये धेरैले गएको ९ महिनादेखि तलब पाएका छैनन् । ‘केहीले ९ महिना र अरुले ६ महिनाको तलब पाएका छैनौं’ कम्पनीमा ५ वर्ष पहिलेदेखि कार्यरत नवलपरासीका मिनबहादुर जिसीले बताउनुभयो ।

अलपत्रमध्ये ६४ जना १८ महिना पहिले युएई आएका वीरगन्जका मकुन पट्टेलले बताउनुभयो । १८ महिना पहिले आएकाहरुले पनि ९ महिनादेखि तलब पाएका छैनन् ।

‘मासिक तलब पाएनौं, मुद्दा गर्यौँ, गएको असोज १८ गते आबुधावीको नेपाली दूतावासमा पुगेर समस्याबारे मौखिक जानकारी गराएका थियौं, अहिलेसम्म कुनै पहल भएन’ झापा ८ भद्रपुरका नारायण गुरुङले भन्नुभयो । मौखिक जानकारी गराउँदा पहल नभएपछि एक हप्ता पहिले लिखित निवेदन दिएर दूतावास धाइरहेको पीडितहरुले बताए ।उज्यालोमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७