शिक्षा

काठमाडौंको एउटा स्कुल : जहाँ ७७ जिल्लाकै विद्यार्थी पढ्छन्

काठमाडौंको एउटा स्कुल : जहाँ ७७ जिल्लाकै विद्यार्थी पढ्छन्

काठमाडौंको एउटा यस्तो विद्यालय जहाँ ७७ जिल्लाका विद्यार्थी पढ्छन् । जसन हो काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित बूढानीलकण्ठ माध्यमिक विद्यालय ।

देशकै नामी यस विद्यालयको शैक्षिक गुणस्तर आधुनिक प्रणालीको छ । हरेक कक्षामा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा अन्य अतिरिक्त प्रयोगात्मक कक्षाकोठा छन् । विद्यालयको बाहिरपट्टि फराकिलो खेलमैदान छ। बिदाको दिन भलिबल, बास्केट बल, फुटबललगायत विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

सन् १९७२ मा बेलायत सरकारले सञ्चालन गरेको यो विद्यालय सन् १९९४ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। यस विद्यालयमा तत्कालीन युवराज दीपेन्द्र शाहले पनि पढेका थिए।

विद्यालयमा देशका प्रत्येक जिल्लाका विद्यार्थी छन्। बेलायतले सञ्चालन गर्दा विद्यालयमा कार्यरत शिक्षक विभिन्न तालिममा सरिक हुन्थे । नेपाल सरकारले लिएपछि भने शिक्षकलाई दिइने विदेशी तालिम हट्यो । विगतमा अन्तर्राष्ट्रिय गुणस्तर र छवि बोकेकोे विद्यालय मानिए पनि अहिलेका शिक्षक त्यति अनुभवी नभएको बूढानीलकण्ठका स्थानीय नवीन श्रेष्ठ बताउँछन् । ‘यो नेपालकै उत्कृष्ट छ । विद्यालयको क्षेत्र र वातावरण राम्रो छ। पहिले राजाहरूको पालामा जसरी पढाइन्थ्यो, अहिले पनि त्यसरी नै पढाइन्छ,’ उनले भने, ‘यहाँको सर्टिफिकेट युरोप र अमेरिकामा पनि बिक्छ । तर, अहिले यहाँ पहिलेजस्ता अनुभवी शिक्षक छैनन्।’

विद्यालयका प्रधानाध्यापक केशरबहादुर खुलालले विदेशी मुलुकले सरह नै गुणस्तरीय शिक्षा दिएको बताए । ‘ब्रिटिसले चलाउँदा बरु यतिको व्यवस्थित थिएन होला,’ उनले भने, ‘हामीले पुरानो गुणस्तरलाई खस्कन दिएका छैनौँ, बरु विद्यालयलाई आधुनिक र प्रविधियुक्त बनाएका छौँ ।’

उनका अनुसार अहिले यस विद्यालयमा होस्टेलमा बसेर पढ्ने विद्यार्थीले प्रतिमहिना १४ हजार शुल्क तिर्नुपर्छ । विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म पढ्ने विद्यार्थीको संख्या एक हजार एक सय छ । सरकारले नै ल्याएका कार्यक्रमलाई सञ्चालन गर्दै आएका छौँ । पहिले यसको विकल्पमा अरु थिएनन् । त्यतिबेला खुबै चर्चा पायो ।

तर, निजी क्षेत्रका विद्यालय खोल्ने क्रम बढ्यो । त्यसपछि बूढानीलकण्ठका विद्यार्थी बाँडिए । धेरैले यहाँको गुणस्तर कपी गरे । ‘यसले नेपालको शिक्षा क्षेत्रमा पार्नुपर्ने प्रभाव परेको थियो,’ प्रधानाध्यापक खुलालले भने, ‘पछि यही विद्यालयमा पढेका विद्यार्थीले निजी स्कुल खोले, त्यसपछि यहाँको गुणस्तरीयता कपी भयो ।’ उनका अनुसार २०६२/०६३ मा राजनीति परिवर्तनका क्रममा विद्यालयलाई पनि ठेस पर्याे । विद्यालयलाई आफ्नो हातमा पार्न विभिन्न नेताले अनेकौँ प्रपञ्च रचेको उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal