विशेष सामाग्री

बुवाको किरिया बसेका छोरीहरु भन्छन् : ‘छोरा भएन भनेर कुनै बा-आमाले मन नदुखाउनुहोस्’

- श्यामशितल परियार

बुवाको किरिया बसेका छोरीहरु भन्छन् : ‘छोरा भएन भनेर कुनै बा-आमाले मन नदुखाउनुहोस्’

‘छोरा नभए स्वर्ग तरिदैँन । जिउँदो छँदा पाल्ने, मर्दा घाटसम्म पुर्याउने र दागबत्ती दिने कोही हुँदैनन् । छोरीले आफ्ना बुवा–आमाको दुःखद निधन हुँदा दागबत्ती दिन नहुने, काजकिरिया गर्न नहुने मान्यता पनि समाजमा छ । तर त्यही मान्यतालाई चिर्दै समाजमा एउटा उदाहरणीय कार्य गरेका छन्, सुन्दरबजार नगरपालिका–६, अन्नपूर्ण टोलका स्वर्गीय कमल रेग्मीका दुई छोरी श्रद्धा र श्रेया रेग्मीले ।

भारतको नयाँदिल्लीस्थित गंगाराम हस्पिटलमा उपचारका क्रममा गएको पुस १० गते बिहान ४ बजे ४८ वर्षको उमेरमा कमल रेग्मीको दुःखद निधन भएको हो।

रेग्मीको पार्थिव शरीरलाई उहाँका दुई छोरी श्रद्धा र श्रेयाले नै दागबत्ती दिएका थिए । दुवै छोरी १३ दिनसम्मै दिवंगत बुवाको किरिया बसेका थिए । स्वर्गीय कमलका जेठी छोरी श्रद्धा १९ वर्षको हुनुभयो । कान्छी छोरी श्रेया १७ वर्षको हुनुभयो । उनीहरु दुवैजना स्नातक तहमा पढ्दै छन् ।

कर्तव्य पूरा गर्न सके छोराछोरी दुवै समान हुने श्रद्धा रेग्मी बताउनुहुन्छ । ‘छोरी मात्रै भए, छोरा भएनन् भनेर कुनै बुवा–आमाले मन दुखाउनु पर्दैन । कर्तव्य पूरा गर्न सके छोराछोरी दुवै बराबर,’ श्रद्धाले भन्नुभयो ।

बुवाको पार्थिव शरीरमा दागबत्ती दिई १३ दिनसम्मै किरिया बसी छोराले गर्ने कर्तव्य छोरीले पनि गर्न सक्छन् भन्ने सन्देश समाजमा छरेका छौँ,’ श्रद्धाले भन्नुभयो, ‘समाज परिवर्तनको सुरुवात गर्न पाउँदा हामी दिदीबहिनी खुशी छौँ ।’

बुवाको सपना पूरा गर्न हरदम लागि रहने पनि उनीहरुले बताएका छन् । ‘बुवा सामाजिक मान्छे हुनुहुन्थ्यो । समाज सेवामा लागिरहनुहुन्थ्यो । ममी श्यामका रेग्मी लामो समयदेखी महिला विकासको क्षेत्रमा काम गर्दै आउनुभएको छ । समाज परिवर्तनको काम आफ्नै घरबाट हुँदा निकै गर्वको महुसस भएको छ,’ श्रद्धाले भन्नुभयो ।

( समय सान्दर्भिक लागेेर यो स्टोरी हामीले उज्यालो अनलाईनबाट साभार गरेका हौ)

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal