पत्रपत्रिकाबाट

संसारभर बढ्दैछ लुम्बिनीको महत्व : १ सय ८ मुलुकका पर्यटकद्धारा दर्शन

- मनोज पौडेल

संसारभर बढ्दैछ लुम्बिनीको महत्व : १ सय ८ मुलुकका पर्यटकद्धारा दर्शन

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनी अवलोकनमा आउने विदेशी पर्यटक बढेका छन् । सन् २०१८ मा १ सय ८ मुलुकका पर्यटकले पुरातात्त्विक स्थल अवलोकन गरेका छन् ।
मुलुकमा सहज अवस्था र लुम्बिनी केन्द्रित राष्ट्रिय/अन्तर्राष्ट्रिय कार्यक्रमले पर्यटक बढदै गएका हुन् ।

लुम्बिनी विकास कोषले बौद्ध धर्मावलम्बी लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ । मुलुकभित्र द्वन्द्वको अवस्था छैन । राजनीतिक स्थिरता देखिएको छ । ‘यहाँ मात्र नभएर छिमेक र बौद्ध मुलुकमा राम्रो माहोल छ,’ लुम्बिनी विकास कोष सूचना अधिकृत राजन बस्नेतले भने, ‘त्यही भएर विदेशी धेरै आए ।’

लुम्बिनीको पर्यटन प्रबद्र्धनमा सरकारले प्राथमिता दिएको उनको भनाइ छ । गत वर्ष सरकार र राष्ट्रप्रमुख सहभागी भएर बुद्धजयन्ती र दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएकाले त्यसले पनि विदेशीलाई आकिर्षत गर्न मद्धत गरेको बताए ।

गत कात्तिक अन्तिममा तीन दिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ र मंसिर पहिलो साता भएको भद्रचर्या उत्सवले बौद्धमार्गी र अध्येताको ध्यान तान्यो । बुद्धको जन्मथलोमा १८ मुलुका बौद्ध धर्मावलम्बीले तीन दिने त्रिपिटक पाठ गरे । १० मुलुकका लामा, गुरु र रिम्पोछेंले भद्रचर्या उत्सवमा शान्तिका सन्देश फैलाए ।

यसले धार्मिक र शान्ति पर्यटनका लागि लुम्बिनीलाई चिनाउने काम गरेको थियो । पछिल्लो पटक लुम्बिनीमा हरियाली, मनोरम बढदै गएको छ । सरसफाइ गरेर चिरिच्याट्ट छ । ‘लुम्बिनीका विभिन्न क्षेत्र राम्ररी घुम्याैं’ चीनबाट घुम्न आएकी साउचाङले भनिन्, ‘शान्ति र प्राकृतिक आनन्द पायौं ।’ अहिले यहाँ घुम्न आउने चिनियाँ बढेका छन् ।

‘दसैैँमा धेरै पर्यटक आए’ लुम्बिनी विकास कोष सूचना अधिकृत हरि राईले भने, ‘हामी उत्साहित भयौं ।’ पर्यटकको बसाइँ लम्ब्याउन योजना बनाउन जरुरी भएको उनले बताए । नेपालीले घुम्ने रुची राख्नु सकारात्मक भएको उनले बताए । यसलाई रोजगारी र आयआर्जनसँग जोडेर लग्न सक्नुपर्छ । अक्टोबरदेखि मार्चसम्म पर्यटक मौसम हो । त्यही भएर बसाइँ लम्ब्याउने योजना जरुरी भएको सिद्धार्थ होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले बताए । कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal