मनोरञ्जन

भूमिगत गायिका विष्णु माझी बारे सनसनीपुर्ण खुलासा

- रामजी ज्ञवाली, महेश तिमिल्सिना

भूमिगत गायिका विष्णु माझी बारे सनसनीपुर्ण खुलासा

लोकप्रिय गायिका विष्णु माझी सार्वजनिक स्थानमा अनुहार नदेखाउने, कसैसँग परिचय नगर्ने र झन्डै भूमिगत रूपमा काम गर्ने यही शैलीले नेपाली संगीत बजारमा उनलाई मिस्ट्री क्विन बनाएको छ । सामाजिक सञ्जाल, युट्युब तथा इन्टरनेटमा अहिलेसम्म उनको एउटै मात्र तस्बिर फेला पर्छ । यद्यपि उनले घुम्टोभित्रबाटै स्वरको जादु चलाइरहेकी छिन् । उनी लाखौं श्रोताको ढुकढुकीसँग जोडिएकी छिन्, युट्युबमा उनले गाएका गीतले करोडौं भ्युज बटुलेका छन् । गुपचुप जीवनका बीच घन्किने मधुर स्वरको जादुले लोकगीतको दुनियाँमा उनी सुपरस्टारका रूपमा स्थापित छिन् ।

विष्णु माझीले गुमनाम रूपमा गीत गाउन थालेको एक दशकभन्दा बढी भैसकेको छ । अन्य कलाकारजस्तो प्रशंसकहरूसँग नजिकबाट साक्षात्कार गर्ने, उनीहरूका कुरा सुन्ने, उनीहरूसँग भेटघाट गर्ने, तस्बिर खिच्ने काम यी गायिकाबाट हुँदैन ।

आधिकारिक रूपमा उनको न फेसबुक छ न अन्य कुनै सामाजिक सञ्जाल । विष्णु माझीसँग कुनै काम परे उनका श्रीमान् सुन्दरमणि अधिकारीसँग सम्पर्क गर्नुपर्छ । सीधै विष्णु माझीसँग कसैले सम्पर्क गर्न सक्दैनन् । विष्णु माझी एक मात्र त्यस्ती गायिका हुन्, जो प्रशंसकहरूसँग कुनै सम्बन्ध–सम्पर्क राख्दिनन्, मिडियासँग बोल्दिनन् । प्रशंसकहरूले उनलाई भेट्ने धोको अहिलेसम्म पूरा हुन सकेको छैन । नेपालका दर्जनौं मिडियाले प्रयास गरे पनि विष्णु माझीले अहिलेसम्म कुनै पनि मिडियालाई अन्तर्वार्ता दिएकी छैनन् ।

गायिका माझीको स्वभाव अचम्मको छ । उनी अरू गायक–गायिकाले जस्तो रेकर्डिङ स्टुडियो पसेर सिसा अगाडि गीत रेकर्ड गराउँदिनन् । उनी स्टुडियो पस्छिन्, पछ्यौराले सिसा छोप्न सम्भव भए सिसा छोपेर गीत गाउँछिन् । त्यो असम्भव भयो भने माइक अलिकति कुनामा लगेर गीत रेकर्ड गराउँछिन् । गीत रेकर्ड हुनासाथ सुटुक्क घर लाग्छिन् । गीत रेकर्ड गराएपछि उनीसँग उक्त गीतसँग सम्बन्धित कुनै पनि व्यक्तिले तस्बिर खिच्ने अथवा बोल्ने अवसर पाउँदैनन् । किनभने उनी काम सक्ने बित्तिकै आफ्नो बाटो तताइहाल्छिन् ।

विष्णु माझीसँग सम्बन्धित अर्को रहस्यमय कुरा हो, उनले अहिलेसम्म स्टेज कार्यक्रममा भाग लिएकी छैनन् । माझीलाई लाखौं रुपैयाँ दिएर कन्सर्ट तथा विदेशका कार्यक्रममा सहभागी गराउन खोज्ने धेरै आयोजकको प्रयास असफल भएको छ । बुटवलमा लामो समयदेखि महोत्सव सञ्चालन गर्दै आएका एक उद्योगी भन्छन्, ‘उहाँलाई हामीले अघिल्लो वर्ष पनि प्रस्ताव गरेका थियौं तर असफल भएपछि हामीले अब चासो नदिने निर्णय गरेका छौं ।’ विष्णु माझीसम्म पुग्ने एउटा मात्र बाटो सुन्दरमणिले जे भन्छन् त्यही चल्छ । सुन्दरमणिले ओके भने भैहाल्यो, नो भने भएन । कसैले गीत रेकर्ड गराउनुपरे सुन्दरमणिलाई फोन गर्नुपर्छ । यदि फोन उठेन भने म्यासेज पठाउनुपर्छ ।

विष्णु माझीसम्बन्धी रहस्यलाई लिएर गायक तथा संगीतकारबादल घिमिरे पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासमक्ष सम्म पुगेका थिए । उनले प्रधानमन्त्री समक्ष विष्णुका सबै कुरा सुनाए । घिमिरेका कुरा सुनेपछि कोइरालाले विष्णु माझीका बारेमा सत्यतथ्य कुरा बाहिर ल्याउन पहल गर्ने आश्वासन दिएका थिए । त्यही बेला २०७२ मा भूकम्प गयो जसले गर्दा यो कुरा बीचमै रोकिएको घिमिरेको दाबी छ ।

विष्णु माझी यतिबेला भूमिगत जीवन बिताइरहेकी छिन् । कतिपय संगीतकर्मी भने उनलाई सुन्दरमणिले भूमिगत गराएको आरोप लगाउँछन् तर यो कुराको सत्य–तथ्य भने बाहिरिएको छैन । हामीसँग सम्पर्कमा रहेका उनकै छिमेकी पनि विष्णुको प्रतिभामाथि सुन्दरमणिले राज गरिरहेको बताउँछन् । विष्णु माझी सांगीतिक क्षेत्रमा होमिए यता उनले करिब ४ करोड रुपैयाँ गीत गाएरै कमाएको अनुमान गरिन्छ । विष्णु माझी एकताका एकै दिनमा १२ वटाभन्दा बढी गीत रेकर्ड गराउँथिन् । जतिबेला उनको रेट ६ हजार थियो । यो विषयमा यथार्थ बुझ्न हामीले करिब ५० पटकभन्दा बढी सुन्दरमणिलाई फोन सम्पर्क र १० वटाभन्दा बढी म्यासेज पठायौं तर उनले हामीले गरेको कल तथा म्यासेजमा कुनै प्रतिक्रिया जनाएनन् ।

युट्युबमा विष्णु माझीका सयौं गीत छन् । युट्युबको कमेन्टमा आउने अधिकांश श्रोता भन्छन्, ‘यति गहकिलो स्वरकी धनी गायिकाको अन्तर्वार्ता किन आउन सकेन ? किन उनी गुमनाम छिन् ?’ म्युजिक नेपालले अपलोड गरेको विष्णु माझी हिट्स सङ कलेक्सनमा मिहाङ राई लेख्छन्, ‘नेपाली सङ्गीतकै ठूलो गहना विष्णु माझी किन गुमनाम अवस्थामा छिन् ? त्यो सुन्दर कि के अधिकारी भन्ने बाहुनले साँच्चै बेपत्ता पारेकै हो त ? मिडियामा ल्याउनुपर्‍यो । त्यस्तै माझी निकट एक गायिका भन्छिन्, ‘हामीले धेरै प्रयास गर्‍यौं रहस्य पत्ता लगाउन, तर सकिएन ।’

गायक तथा संगीतकार बादल घिमिरे र गायिका विष्णु माझीको माइतीघर करिब १० मिनेटको फरकमा पर्छ । उनी एक वर्ष पहिले संगीतकार सुरेश अधिकारीलाई लिएर आफ्नो जन्मगाउँ पुगेका थिए । त्यहाँ उनीहरूको भेट विष्णु माझीका बुबा ताराबहादुर माझीसँग भयो । घिमिरेले भने– छोरीले गीत गाएरै करोडौं कमाइसकेकी छिन्, तर उनको बुबाको अवस्था निकै दयनीय थियो । उनीसँग औषधी खाने पैसासमेत थिएन । घिमिरेका अनुसार उनले विष्णु माझीलाई बाहिर ल्याउन धेरै पहल गरे । अर्को कुरा विष्णु माझी हिट भएपछि जब उनी सुन्दरमणिसँग लिभिङ टुगेदरमा छिन् भन्ने कुरा आयो, त्यतिबेला उनीहरू एउटा टिम बनाएर सुन्दरमणिलाई कि विवाह गर्नुस् कि छाडिदिनुस् भनेर दबाब दिन गएका थिए । तर सुन्दरमणिले खासै चासो नदिएको घिमिरे बताउँछन् । यो रिपोर्ट कान्तिपुर साप्ताहिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस