राजनीति

खादा भिरेर सिंहदरबार पुगे रेशम चौधरी तर संबिधानविद् भन्छन ‘सपथ लिन मिल्दैन’

खादा भिरेर सिंहदरबार पुगे रेशम चौधरी तर संबिधानविद् भन्छन  ‘सपथ लिन मिल्दैन’

प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि रेशम चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार पुगृका छन् ।

शपथपछि पुनः उनलाई डिल्लीबजार कारागार लगिने भएको छ। सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले पद तथा गोपनीयताको शपथ लिएपछि चौधरी कारागारमै रहने जानकारी दिएको हो।

‘रेशम चौधरीको मुद्दा कानुन अनुसार अघि बढ्छ। निर्वाचन आयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य हो’, सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लले भने ।

तर, संविधानविदहरूले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई सांसद पदको शपथ ग्रहण गराउन नमिल्ने बताएका छन् । चौधरीलाई विहीबार शपथ गराउन लागेको सन्दर्भमा प्रश्न गर्दा संविधानविदहरूले भने, ‘निर्वाचित भएलगत्तै शपथ गराउन के कारणले मिलेको थिएन र, अहिले परिस्थितिमा के परिवर्तन आयो जसले गर्दा शपथ खुवाइँदैछ ?’ प्रतिप्रश्न गरे ।

संविधानविद डा. विपीन अधिकारी अदालती प्रक्रियाबाट छुट नपाएकाले शपथ गराउन नमिल्ने बताउँछन् । ‘जतिसुकै राजनीतिक परिवर्तन भए पनि अदालतमा निर्दोषिता परीक्षण भइरहेको व्यक्तिले राजनीतिक हैसियत प्रयोग गर्न सक्तैन’, डा. अधिकारीले भने, ‘हत्या अभियोग लागेको व्यक्तिले पहिला अदालतबाट सफाई पाएकै हुनुपर्छ ।’

कानूनी प्रक्रियाकै कारण खुमबहादुर खड्का, जेपी गुप्ता जस्ता नेताहरू राजनीतिबाट विस्थापित भएको स्मरण गर्दै अधिकारीले भने, ‘रेशमलाल कुन माटोले बनेको छ र ? उनका लागि छुट्टै मापदण्ड लाग्ने ?’

नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले गम्भीर फौजदारी अपराधको अभियोग लागेका व्यक्तिलाई संसदजस्तो गरिमामय निकायको शपथ खुवाउन नमिल्ने बताए । संवैधानिक सर्वोच्चताको देश भएकाले कानूनले जे भन्छ त्यहीअनुसार काम गर्नुपर्ने खड्काको भनाइ छ ।

‘राजनीतिक सहमतिका नाममा यस्तो गैरकानूनी काम गर्न मिल्ने संवैधानिक प्रावधान छैन’ खड्काले भने ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal