साहित्य

कविता: विरानाे वस्ती

- मना गैरे

कविता:  विरानाे वस्ती

गाउँ अब गाउँ रहेन
जन्मेको ठाँउ भएन
बिरानो बन्दैछ बस्ती
बस्ती अब घना बस्ती रहेन !
रित्ता छन पुराना घरहरू
जिर्ण हुँदै खण्डहर बन्दैछ
कताकति मान्छेको गन्ध
बुढाबुढीहरू अनि अशक्त, अबलाहरू
मान्छेभन्दा धेरै अचेल बाँदर पस्तैछन् !!

गोठाला जानु पर्दैन अब
छैनन् डिङ्गो डागर घाँस झार्नु छैन ।
छैनन् खेती किसानी सब
बाझा छन् बारीहरू
उजाडिएको बन्जर गाउँ

पधेरा कुवाहरू सुनसान छन् !
बज्दैनन् मन्दिरका शङ्ख घण्टहरू
मौनताको वस्तीभित्र
शुन्यताको चित्र बिचित्र
बिरानो पार्दै मान्छेको भिड उतै छ
सहर र परदेशतिर पस्दैछ मौन छन् ओठहरू
बिरामी छन् अशक्तहरू
उपचार छैन्
मर्दाका मलामी छैनन्
यो कस्तो बिडम्बना !
यो कहाँको गन्तब्य
बृद्ध छन् बाबू, आमाहरू
छोराछोरीको सहारा छैनन्

ती खहरे अनि बन्जर धर्ती रोइरहेछ्न् ।
तिनै विरानो बस्तीभित्रका मान्छेहरूलाई
तिनै मौन आत्माले पुकारिरहेछन्
फर्क हे गाउँको माया मार्नेहरू
आउ सिँगार तिम्रो घर आँगन सपार
हासो खुसीको झन्कार बझून्
गाईबाछा,भेडाबाख्राहरू कराउँन थालुन्
अन्नबालीले भकारी भरून्
अनेकौं विकासका खुड्किलाहरूले
यही विरानो वस्ती सजाउन
यही विरानो वस्तीभित्र तिम्रा पदचापहरू रमाउन !

लेखिका : मना गैरे

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal