विशेष सामाग्री

बिक र दमाईं बीच चरम जातीय विभेद : दुई समुदायका छुट्टाछुट्टै इनार

- तेजराज भट्ट

बिक र दमाईं बीच चरम जातीय विभेद : दुई समुदायका छुट्टाछुट्टै इनार

कैलालीको गोदावरी नगरपालिका–१२, ओलानीको बांगेसाल बस्तीमा दलित परिवारका डेढ दर्जन घर छन् । तर, बस्तीका विश्वकर्मा र दमाईं जातिले खानेपानीका लागि वर्षौंदेखि फरक–फरक इनार प्रयोग गर्दै आएका छन् । एक–अर्काले छोएको पानी नचल्ने भन्दै विक र दमाईं समुदायले छुट्टाछुट्टै इनारको पानी प्रयोग गरेका हुन् । दमाईंले विकको इनार र विकले दमाईंको इनारमा पानी भर्दैनन् । विकले आफूलाई दमाईंभन्दा माथिल्लो जातिको ठान्छन् । उनीहरूलाई आफ्नो इनार दमाईंलाई प्रयोग गर्न दिँदैनन् । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

दलितभित्रकै विक, सुनार, कामी थर भएकाहरूले दमाईं, आउजी, ढोली, नेपाली र सार्कीलाई अछुत मान्ने संस्कार गाउँमा व्याप्त छ । स्थानीय विमला सेरालाले दलितभित्रकै जातीय विभेदले गर्दा गाउँमा दुई जातिले छुट्टाछुट्टै इनार प्रयोग गर्दै आएको बताइन् । ‘सय मिटरको दूरीमा विक र दमाईंका अलग–अलत इनार छन् । तर, एक जातिले अर्को जातिको इनार छुँदैनन्,’

भोजभतेरमा पनि छुवाछुत
एउटै बस्तीमा बस्ने दुई दलित समुदाय एक–अर्काको घरमा खानपानसमेत गर्दैनन् । उनीहरूबीच बिहेवारी पनि चल्दैन । एक समुदायको घरमा हुने भोजभतेरमा अर्को समुदायको सहभागि हुँदैन । स्थानीय शंकर नेपाली (दमाईं)को घरमा भएको वैवाहिक कार्यमा पानीको अभाव भएपछि नजिकै रहेको विकको इनारबाट पानी भर्न खोज्दा विवाद भएको थियो । तल्लो जातिले आफ्नो इनार छोएको भन्दै विक जातिका केही व्यक्तिले दमार्इं समुदायका मानिसलाई हातपातसमेत गरेका थिए ।

‘एउटै बस्तीमा बस्ने भएकाले घटना किन लम्ब्याउनु भनेर गाउँमै मिलाएका हौँ,’ नेपालीले भने, ‘दलित–दलितबीच नै गाउँमा चर्को छुवाछुत छ ।’ उनले आफूले पनि विकको इनार प्रयोग नगर्ने बताए । दलितका डेढ दर्जन घरमा ६ घर दमाईं जातिको छ । वडाध्यक्ष भीमबहादुर विकले खानेपानी प्रयोगमा सार्वजनिक रूपमा देखिने गरी दलितभित्रै विभेद हुँदै आएको बताए । ‘जातीय विभेदले एक समुदायले अर्को समुदायको इनार प्रयोग गर्दैनन्, एक–अर्काको घरमा खानपिनसमेत गर्दैनन्,’ अध्यक्ष विकले भने ।

चुरेको फेदीमा पर्ने ११ र १२ नम्बर वडाको ओलानी क्षेत्रमा खानेपानीको चरम समस्या छ । केही वर्षअघिसम्म इनारबाहेक खानेपानीको अन्य विकल्प थिएन । करिब २० प्रतिशत स्थानीयले अझै इनारको पानी प्रयोग गर्छन् ।गाउँमा दमाईं, विक र माथिल्लो जातिका छुट्टाछुट्टै इनार छन् । इनार प्रयोगमा सार्वजनिक रूपमै छुवाछुत हुने गरेको भन्दै दलित समुदायले विरोध गर्न थालेपछि सक्नेले निजी इनारसमेत बनाएका छन् ।११ नम्बर वडाका प्राविधिक चन्द्रसिंह कामीले जातीय छुवाछुतको मूल जड इनार रहेको बताए । ‘इनार प्रयोगमा ओलानीका सबैजसो बस्तीमा जातीय विभेद सार्वजनिक रूपमै देखिन्छ,’ उनले भने ।

ओलानी क्षेत्रमा जिल्लामै सबैभन्दा बढी जातीय विभेद छ,’ वडाध्यक्ष विकले भने,‘छुवाछुत दण्डनीय अपराध हो भन्ने विषय सबैले जानकारी पाउन भनेर ऐन वितरण गरिएको पनि छ ।’ १२ नम्बर वडा कार्यालयले पनि विभेद अन्त्यको प्रयासस्वरूप सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal