मुख्य समाचार

अफ्रिकन युवासँग काठमाडौंमा फ्ल्याट बस्दै ‘लाखौँ ठग्ने नेपाली युवतीको नालीबेली’

- नारायण अधिकारी

अफ्रिकन युवासँग काठमाडौंमा फ्ल्याट बस्दै ‘लाखौँ ठग्ने नेपाली युवतीको नालीबेली’

सन् २०१५ मा अफ्रिकन देश आइभरीकोस्टका ओतुटा अकाकागनी नेपाल आए। भिजिट भिसामा आएका उनी स्वदेश फर्किएनन्।

कुसुम कायस्थ नाम गरेकी एक युवतीले उनलाई फ्रेन्ड रिक्वेस्ट पठाइन्। हेर्दा सुन्दर नेपाली युवती देख्नेबित्तिकै ओतुटाले एसेप्ट बटम दबाइहाले।

हाइहेल्लोबाट सुरु भएको कुराकानी गाढा बन्दै गयो। प्रेमका कुरा चल्न थाले। अन्तत: दुई वर्षअघि उनीहरु विवाह बन्धनमा गाँसिए।

दुई जना एकैठाउँ हुँदा खर्च बढ्ने नै भयो। घुम्न, रेस्टुरेन्ट जान, ट्याक्सी चढ्न कसरी पैसा जुटाउने?
दुवैले आइडिया रचे- उपहार परेको भन्दै विभिन्न फेसबुक प्रयोगकर्तालाई म्यासेज गर्ने। उपहार पाउन भन्सार रकम तिराउनले र ठगी गर्ने।

विवाहपछि यही धन्दाबाट उनीहरले मस्त पैसा कमाउन थाले। यसका लागि उनीहरुले फेसबुक मात्र होइन भाइबर, ह्वाट्स एप, इमोसमेत प्रयोग गरे।

‘मान्छेको प्रोफाइल चेक गर्ने, हेर्दा सोझासिधा देखिने, ठग्न सकिने जस्तोलाई उपहार पर्यो भन्दै फकाउने गर्दा रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने।

दुई वर्षसम्म सयौं जनालाई फसाउने यो जोडी अन्तत: महानगरीय प्रहरी अपराध महाशाखाको टोलीबाट उम्कन सकेन। पेप्सीकोलाबाट उनीहरु पक्राउ परे। जसमा थिए, काभ्रेको साबिक भुम्लुटार गाविस–६ की ३२ वर्षीया कुसुम कायस्थ र पासपोर्ट नम्बर १५ एएच ४२०१६६ भएका आइभरीकोस्टका ३२ वर्षीय ओतुटा अकाकागनी।

उपहार परेको भन्दै उपहारको तस्बिर मात्रै उनीहरुले पठाएनन्, विश्वास दिलाउन र पक्राउ नपरियोस् भन्न उनीहरु फोन गर्न भारतसम्म पुग्थे। तपाईंको पुरस्कार भारतीय भन्सारमा रोकिएको छ। म भन्सारबाट फलानो अधिकृत बोलेको। उपहार लिन… यति रकम पठाउनु होला,’ अधिकांश पीडितलाई यसै भनेर विश्वासमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ।

उनीहरुले धेरै व्यक्तिलाई ठगी गरेको हुन सक्ने प्रहरीले जनाएको छ। अहिलेसम्म ८ जना पीडित प्रहरीको सम्पर्कमा पुगेका उनीहरुबाट यो जोडीले १४ लाख ३४ हजार ९ सय ७२ रुपैयाँ ठगी गरेको पाइएको एसएसपी सिंहले बताए। अन्य पीडित भए सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ।

ठगी गरेको पैसाले उनीहरुले मोजमस्ती गर्ने गरेको पाइएको छ। पेप्सीकोलामा फ्ल्याट नै भाडामा लिएर बसेको यो जोडीको लवाइखवाइ र बसाइ पनि निकै ब्रान्डेड छ।

उनीहरुको आफ्नै कार समेत भएको प्रहरीले जनाएको छ। कार लिएर उनीहरु विभिन्न ठाउँमा घुम्ने गरेका थिए। कार पनि ठगी गरेकै पैसाले किनेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।
(यो रिपोर्ट हामीले नेपाल लाइभबाट लिएका हौ)

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal