विशेष सामाग्री

बिष्णु माझीको भूमिगत जीवन ‘रहर कि बाध्यता’ ?

बिष्णु माझीको भूमिगत जीवन ‘रहर कि बाध्यता’ ?

विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको लोकदोहोरी गीत सालको पात टपरी नहुनी सल्लैको अहिले नेपाली संगीतप्रेमीको जिब्रोमै झुण्डिएको छ । यूट्युवमा सम्भवतः अहिलेसम्मकै सर्वाधिक भ्युज पाएको लोकदोहारी हो यो ।

गीतले डेढ करोड भ्युज कटाएपछि केही दिनअघि ‘सेलिब्रेसन’ कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा गीतसँग प्रत्यक्ष/परोक्ष गाँसिएका सबै उपस्थित थिए, तर गायिका विष्णु माझी भने थिईनन्

झण्डै डेढ दशकदेखि लोक गायनमा सक्रिय यी प्रख्यात गायिका आजसम्म एकपटक पनि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् ।

विष्णुलाई आफ्नै श्रीमानले बन्धक बनाएर राखेका छन् भन्ने चर्चा चल्न थालेको लामो समय भयो । यो चर्चा सत्यसँग नजिक छ वा छैन भन्नेचाहिँ आजसम्म रहस्यमै छ ।

अहिले एक–दुईवटा गीत हिट हुनासाथ गायक–गायिकाहरुलाई स्वदेश तथा विदेशका कार्यक्रमहरुमा निम्तो आउन थाल्छन् । चलेका गायक–गायिकाहरुका लागि त विदेश यात्रा पानी पँधेरो धाएजत्तिकै हुन्छ । यस हिसाबले सयौं हिट गीत दिएकी विष्णु पनि देश–विदेशका कार्यक्रममा व्यस्त रहनुपर्ने हो । तर, उनले अहिलेसम्म विदेशमा पाइला पनि टेकेकी छै्रनन् । स्वदेशकै मेला–महोत्सवमा पनि उनी पुग्दिनन् । जब कि उनको सबैतिर चर्को डिमान्ड छ ।

अहिलेकी नम्बर १ लोकगायिका मानिने विष्णु रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहेकी छन् । उनीसँग एउटा मोवाइल पनि छैन । गीत गाउन स्टुडियो धाउनेबाहेक अन्यत्र कुनै सार्वजनिक कार्यक्रममा जान्नन् । घरबाट बाहिर निस्किँदा पछ्यौरी र मास्कले अनुहार ढाक्छिन् । स्टुडियोमा छिर्नासाथ पहिले झ्यालको पर्दा लगाउँछिन्, अनि मात्र गाउँछिन् ।

सामाजिक सञ्जालमा उनको नामोनिशान छैन । आजसम्म एकचोटि पनि सञ्चारमाध्यममा आएकी छैनन् उनी । सानातिना कलाकारको पनि इन्टरभ्यू छ्याप्छ्याप्ती भेटिने समयमा उनको एउटै इन्टरभ्यू कतै भेटिँदैन । यति मात्रै होइन, विष्णुको नयाँ तस्वीर नै नआएको धेरै भयो । उनले गाएका गीतहरुमा एक दशक पुरानो एउटै तस्वीर प्रयोग भइरहेको हुन्छ ।

काठमाडौंमा उनी कहाँ बस्छिन्, कसैलाई थाहा छैन । थाहा हुनेहरु पनि बताउन चाहँदैनन् । स्याङ्जास्थित माइतीघरमा पनि उनी नपुगेको धेरै भइसकेको बताइन्छ ।

सुन्दरमणिले विष्णुलाई आफ्नो जोडी बनाएर व्यवसायिक लोकगायनमा लगाए । बिहे नगरे पनि उनीहरु काठमाडौंमा सँगै बस्न थाले ।

उनीहरुले गाएका केही गीत हिट भए । टिपिकल लोक दोहोरीमा फिट हुने विष्णुको स्वरको बजारमा खोजी हुन थाल्यो । उनलाई त्यतिबेला चलेका बिमा कुमारी दुरा, लक्ष्मी न्यौपाने, सिर्जना बिरही थापा, शर्मिला गुरुङहरुको विकल्पका रुपमा हेर्न थालियो ।

२५ सय मात्र पारिश्रमिक लिने उनी धेरैको रोजाइमा पर्न थालिन् । धेरैतिरबाट कार्यक्रमका लागि अफरहरु आउन थाले । तर, गीत रेकर्डिङका लागि स्टुडियो जानेबाहेक विष्णु कुनै सार्वजनिक कार्यक्रममा गाउन गइनन् । ०६४ सालसम्म उनी चर्चाको शिखरमा पुगिसकेकी थिइन् । उनी दैनिक ५–६ वटा गीतमा स्वर भर्न भ्याउँथिन् । उनीसँग काम गर्न चाहनेले सुन्दरमणिमार्फत डिल गर्नुपथ्र्यो/पर्छ ।

सफलतासँगै सुन्दरमणिले विष्णुको रेट बढाउँदै लगे । अहिले त उनी सर्वाधिक महंगी लोकगायिका कहलाउँछिन् ।

यसरी बाहिर हिट भइसक्दा पनि विष्णु न सार्वजनिक कार्यक्रम देखिइन्, न मिडियामा । त्यसपछि उनका बारेमा विभिन्न हल्ला चल्न थालेका हुन् ।

हल्ला यस्तो पनि चल्यो कि सुन्दरमणिले विष्णुलाई अविवाहित अवस्थामै बन्धक जसरी घरभित्रै थुनेर राखेका छन् र उनैले विष्णुलाई सामाजिक सञ्जाल÷मोबाइलबाट टाढा राखेका हुन् । यस्तो चर्चामा आजसम्म न सुन्दरमणिले कुनै सफाइ दिएका छन् न विष्णुले ।

केही समयअघि कवि लेखक बादल घिमिरेले फेसबुकमा एउटा स्टाटस लेखे, जसमा उनले विष्णुको वास्तविकता बाहिर ल्याउन खोज्दा आफूमाथि अपरिचितबाट ज्यान मार्ने धम्की आएको उल्लेख गरेका थिए । उनको स्टाटसको सार थियो, ‘मेरो घरबाट विष्णुको घर करिब १५ मिनेटको दुरीमा पर्छ । विष्णुको स्वर नसुन्ने त यो देशमा विरलै होलान् । तर, उनको भूमिगत जिन्दगीका बारेमा कमैलाई थाहा छ । आखिर विष्णुलाई कसले यस्तो बनायो ? उत्तरः सुन्दरमणिले । विष्णु गीत गाउँछिन्, सुन्दरमणि पैसा बुझ्छन् ।’

घिमिरेले अगाडि लेखेका छन्, ‘विष्णुको जीवनको रिमोट नै सुन्दरमणिको हातमा छ । लाग्छ, विष्णुले श्वास फेर्न पनि सुन्दरमणिकै अनुमति लिनुपर्छ । हुन त केही वर्ष अगाडि सुन्दरले विष्णुसँग बिहे गरे भन्ने सुनियो । तर, आफ्नै श्रीमतीलाई भूमिगत शैलीमा बाँच्न बाध्य पार्ने अधिकार श्रीमानसँग हुन्छ ? विष्णु सुन्दरमणिको नजरबन्दमा छिन् । यो कुरा किन बाहिर ल्याउँदैनन् पत्रकारहरु ? हिरोइनको पाइन्ट एक इन्च तल भरेको समाचार लेख्ने मिडिया किन उनको समाचार लेख्दैनन् ?’

गायक लेकाली पनि विष्णुलाई सुन्दरमणिले नियन्त्रणमा राखेको दाबी गर्छन् । उनी भन्छन्, ‘उसले विष्णुलाई प्रयोग गरेर करोडौं कमाएको छ । तर, उनलाई एउटा मोबाइल पनि चलाउन दिएको छैन । हामीले विष्णुसित सम्पर्क गर्न खोज्दा पनि उसले दिँदैन । फोन गर्दा उठाउँदैन ।’

कास्कीको लेखनाथ नगरपालिकाका बासिन्दा हुन् सुन्दरमणि अधिकारी । उनी पोखरा र आसपासका क्षेत्रमा आयोजना हुने लोकगीत प्रतियोगितामा नबिराई भाग लिन्थे । तर, विष्णुसँग जोडी बाँधेपछि मात्रै उनको करिअरले गति लियो । उनी अहिले सपना म्युजिक प्रालि नामक आफ्नै स्टुडियो पनि चलाउँछन् । विष्णुलाई क्यामेराबाट टाढा राखे पनि आफूलेचाहिँ केही लोकगीतका भिडियोमा अभिनय गरेका छन् ।

त्यसो त सुन्दरमणि पनि सञ्चारमाध्यममा आउन चाहँदैनन् । खासगरी विष्णुसँगको सम्वन्धको विषयमा प्रवेश गर्न खोज्दैनन् । फेसबुकमा पनि उनले आफ्नो बारेमा केही उल्लेख गरेका छैनन् । न त तस्वीरहरु नै राखेका छन् । आफ्नो फेसबुकमा उनले विष्णुले गाएका गीतहरुको लिंक मात्रै राखेका छन् ।

लोक गायन क्षेत्रका व्यक्तिहरुसँग भने सुन्दरको राम्रै सम्वन्ध छ । नजिकबाट चिन्नेहरु उनलाई खराब व्यक्तिका रुपमा चित्रण गर्न चाहँदैनन् ।

करिब ९ वर्ष ‘लिभ इन रिलेसन’ मा बसेपछि विष्णु र सुन्दरमणिले पोखरा लेकसाइडको एक मन्दिरमा सुटुक्क बिहे गरेका थिए । थोरै आफन्त र सीमित साथीहरु उपस्थित थिए । बिहेपछि विष्णुलाई लेखनाथ नगरपालिका बेगनासस्थित सुन्दरको घरमा धुमधामसित भित्र्याइएको थियो । मन्दिरमा बिहे गर्दा एक हजार शुल्क तिर्नुपर्ने नियम भए पनि सुन्दरमणीले दुई हजार तिरेका थिए । बिहेको तस्वीर अहिलेसम्म सार्वजनिक भएको छैन । न उनीहरु दुबैले बिहे गरेको भनेर सार्वजनिकरुपमा स्वीकारेका नै छन् ।

विष्णु माझी र सुन्दरमणिसँग काम गरेका तथा उनीहरुलाई चिन्ने लोक गायक–गायिकारहरु उनीहरुको विषयमा कुरा गर्नबाट पन्छिन खोज्छन् । सबैको एउटै भनाइ हुन्छ– यो उनीहरुको निजी विषय हो ।

गायक कुलेन्द्र विश्वकर्माले विष्णु माझीसँग अहिलेसम्म एक हजारभन्दा बढी गीत गाइसकेका छन् । तर, आफ्नो विष्णुसँग कहिल्यै लामो कुराकानी नभएको कुलेन्द्र बताउँछन् ।

उनले भने, ‘उहाँ धेरै बोल्नुहुन्न । खाली ‘एस’ र ‘नो’ मा कुरा हुन्छ । लामो कुराकानी कहिल्यै भएको छैन ।’

सुन्दरमणिले विष्णुलाई अनावश्यक नियन्त्रणमा राखेको कुरामा आफूलाई विश्वास नभएको र सुन्दरमणि असल व्यक्ति भएको उनले प्रतिक्रिया दिए ।

‘सुन्दरमणि बाहिर चर्चा भएजस्तो खराब व्यक्ति हुँदै होइनन् । उहाँहरुबीच केही नराम्रो भएको जस्तो लाग्दैन । तर, ठोकुवा गरेर त भन्न सक्दिनँ,’ कुलेन्द्रले भने ।

उनले आफूलाई दर्शक–स्रोताहरुले स्टेजमा विष्णुसँगै देख्न चाहेको भए पनि त्यो अहिलेसम्म सम्भव नभएको बताए ।

‘यदि उहाँ बाहिर निस्किन चाहनुभयो भने सबैतिर छाउन सक्नुहुन्छ, तर किन हो निस्कन चाहनुभएको छैन,’ उनले भने ।

हामीले ‘सालको पात..’ गीतका संगीतकार बसन्त थापासँग पनि विष्णुका बारेमा आएका हल्लाहरुको विषयमा सोध्यौं ।

उनले भने, ‘मैले विष्णुसँग धेरै गीतहरुमा सहकार्य गरेको छु । स्टुडियोभन्दा बाहिर चैं कतै पनि भेट भएको छैन । मसँगको भेटमा सामान्य कुराकानी मात्रै हुन्छ । उहाँलाई हाँसीखुशी नै देखेको छु । मनभित्र कुनै पीडा हुन्थ्यो भने अनुहारको भावबाट थाहा हुन्थ्यो होला ।’

थापाले पनि सुन्दरमणिबाट आफ्नै श्रीमतीलाई बन्धक बनाउने काम हुनै नसक्ने दाबी गरे ।

‘हो, गीत गाउन आउँदा उहाँहरु सँगै आउनुहुन्छ र सँगै जानु हुन्छ । तर, मैले पारिश्रमिकचाहिँ विष्णुजीलाई नै दिएको हुँ । उहाँहरुको सम्वन्धमा त्यस्तो जटिलता केही देखेको छैन मैले । यदि गुमनाम जीवन बाँच्न कोही चाहन्छ भने त्यो उसको प्राइभेसीको कुरा हो ।’

थापाले विष्णु स्टुडियोमा आउँदा मास्क र पछ्यौरी ओढेर आउने तथा स्टुडियोभित्र पर्दा लगाएर मात्रै गीत गाउने गरेको स्वीकारे ।

‘के कारणले उहाँ आफूलाई लुकाउन चाहनुहुन्छ, त्यो मलाई थाहा भएन । तर, यो सत्य को कि उहाँ सार्वजनिक हुन चाहनुहुन्न । फोटो खिच्न पनि मान्नुहुन्न । कसैसित घुलमिल बन्नुहुन्न ।’

तर, नाम उल्लेख नगर्ने शर्तमा एक लोकगायकले भने सुन्दरमणिले नै विष्णुलाई सामाजिक बन्न नदिएको दाबी गरेका छन् ।

‘विष्णुलाई सुन्दरमणिले कहिल्यै एक्लै बाहिर हिँड्न दिँदैनन्, अरुसँग हाँसेको–बोलेको मन पराउँदैनन्,’ उनले भने, ‘उनलाई गीतका लागि आउने प्रस्तावमा आफैं डिल गर्छन् र पैसा पनि आफैं लिन्छन् ।’

त्यसो त आफ्नो कम शिक्षाका कारण पनि विष्णु सार्वजनिकरुपमा खुल्न नचाहेको आशंका कतिपयको छ । यो आशंकामा भने त्यति दम देखिँदैन । उनीजस्तै कम पढेका थुप्रै सेलिब्रिटीहरु हैकम जमाएर बसिरहेका छन् यो फिल्डमा ।

पटक–पटक प्रयास गर्दा पनि सुन्दरमणि सम्पर्कमा आएनन् ।

हो, कसैसँग पनि आफ्नो मर्जी अनुसार बाँच्ने हक हुन्छ, चाहे उ सेलिब्रिटी नै किन नहोस् । तर, जब कुनै सेलिब्रेटीका बारेमा गम्भीर प्रश्न उठ्छ त्यतिबेला स्पष्टीकण दिनुपर्ने दायित्व उनीहरुकै हो ।
(हामीले यो रिपोर्ट अनलाईनखबरको सहयोगमा तयार पारेका हौ)

प्रतिक्रिया दिनुहोस