समाचार

खुट्टामा पैसाको बिटो बाँधेर अनाैठो धन्दा !

खुट्टामा पैसाको बिटो बाँधेर अनाैठो धन्दा !

विराटनगर: खुट्टामा बाँधेर भारततिरबाट ल्याउँदै गरेको ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुईजनालाई सशस्त्र प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

कोरोनाका कारण नेपाल–भारत सीमा नाका सिल गरिएको अवस्थामा चोर बाटो हुँदै अलग–अलग समयमा नेपाल प्रवेश गरेका दुई जनालाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद भएको हो ।

विराटनगर महानगरपालिका–१६ शान्ति टोलका २३ वर्षीय अमोद यादव र विराटनगर–१५ हड्तालीहाटमा बसोबास गर्दै आएका भारतीय नागरिक १८ वर्षीय अभिषेक चौधरीलाई अवैध रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रवक्ता डीएसपी नवीनसिंह राईले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुवै जना अ-वैध ढंगले पैसाको कारोबार गर्ने व्यक्तिहरु भएको खुलेको छ । रातको समयमा विराटनगर–१६ दरैयास्थित सीमाक्षेत्र हुँदै भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा यादव र चौधरीलाई अलग–अलग समयमा पक्राउ गरिएको डीएसपी राईले बताए ।

पक्राउ परेकामध्ये चौधरी भारत कटिहार नगरपञ्चायत–४४ नयाँटोलका बासिन्दा हुन् । अवैध बाटो हुँदै भारतबाट नेपाली रुपैयाँ नेपाल र नेपालबाट भारतीय रुपैयाँ भारततर्फ ल्याउने एवं लैजाने गिरोह सक्रिय रहेका कारण नियन्त्रणमा लिन विशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए ।

पक्राउ परेका यादवको साथबाट पाँच लाख र चौधरीका साथबाट छ लाख ५० हजार नेपाली रुपैयाँ बरामद भएको छ । दुवै खुट्टाको घुँडा मुनीको भागमा निक्यापमा पाँच सय दरका गड्डीहरू बाँधेर उनीहरु नेपाल प्रवेश गरेको पाइएको एसपी पौडेलले बताए । उनका अनुसार दुवै जनालाई एन्टिजेन परीक्षणपछि सोमबारसाँझ आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

एसपी पौडेलले पक्राउ परेका युवाहरू नेपाल तथा भारत दुवैतर्फ रहेका अवैध हुन्डी कारोबारीका भरिया हुनसक्छन् । अवैध बाटो हुँदै भारतबाट नेपाली रुपैयाँ नेपाल र नेपालबाट भारतीय रुपैयाँ भारत लाने गिरोह नै सक्रिय रहेको पाइएपछि सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गरिएको जानकारी उनले दिए ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध गतिविधी एवं आवतजावत नियन्त्रणमा लिन विशेष टोली नै परिचालन गरेका छन् । चोरी–तस्करी, सीमा सुरक्षा एवं अवैध आवतजावत रोक्नका लागि उनले मातहतका सबै युनिटलाई आवश्यक निर्देशन पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७