विचार/व्लग

धर्म भनेको के हो ? धर्म कसरी गर्ने ?

- चैतन्य कृष्ण

धर्म भनेको के हो ? धर्म कसरी गर्ने ?

धर्मको बारेमा आम व्यक्तिहरूमा धेरै ठूलो भ्रम छ । धर्म सम्प्रदाय होइन । धर्म सम्पूर्ण विश्व चलाउने नियम र कानुन हो । धर्म विश्वको संविधान हो । धर्मले सबैलाई धारण गर्छ।

वास्तवमा धर्म शब्दको अर्थ स्वभाव हो । आगोको धर्म पोल्नु हो । सूर्यको ताप र प्रकाश दिनु, चन्द्रमको शीतलता दिनु स्वभाव हो । हामी सबैलाई प्रेम, करुणा, सेवा, सहयोग, सद्भाव र विनम्रता मन पर्छ तर हिंसा, घृणा, क्रूरता, शोषण, दमन र अहंकार मन पर्दैन किनकि प्रेम करुणा आदि हाम्रा स्वभाव हुन् भने हिंसा, घृणा, क्रूरता आदि हाम्रा स्वभाव होइनन् ।

हामी आफ्नो स्वभाव तिर स्वतः आकर्षित हुन्छौं भने विपरीत स्वभाव तिर हामीमा सहजै विकर्षण हुन्छ । आगो सूर्यतिर र पानी सागर तिर बग्छन् । आफ्नो स्वभावतिर मूलतिर तानिनु धर्म हो । ईश्वर प्रेम, ज्ञान र अानन्दरूप भएकाले यो अाकर्षण ईश्वरतिरको आकर्षक हो । धर्म भनेको आफूप्रति अरुको राम्रो लाग्ने व्यवहार सबैप्रति पनि गर्नु र आफूलाई राम्रो नलाग्ने कसैप्रति नगर्नु हो । यसो गरे हाम्री स्वभावमा फर्कन्छौं र सदैव सुखी रहन्छौं । सेवा, परोपकार, प्रेम सबैलाई गर्छौं किनकि हामीलाई अरुले सेवा प्रेम गरेको मन पर्छ भने घृणा अपमान शोषण कसैप्रति पनि गर्दैनौं किनकि यो हामीलाई नै अरुले गरेको मन पर्दैन । यसभित्र धर्मका सबै खाले परिभाषाहरू स्वतः समाहित हुन्छन् ।

हरेक परिस्थितिमा यो सदैव ख्याल राख्नुपर्दछ कि मलाई आफूलाई अरुले गरेको मन नपर्ने व्यवहार मैले नै अरुसँग त गरेको छैन ? हो यसरी विचार गरेमा उसबाट हुने सबै व्यवहार धर्ममय हुन्छन्, आध्यात्मिक हुन्छन् । यसबाट सबै खुशी हुन्छन् । हाम्रा शास्त्रहरूले सबैतिर मुक्त कण्ठले यही गाइरहेका छन् “आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् ” अर्थात् आफूलाई प्रतिकूल लाग्ने व्यवहार अरुहरूलाई नगर । यो नै धर्मसर्वस्व अर्थात् धर्मको सार हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal