समाचार

बिहे गरेको ७२ घण्टामै कोरोनाबाट दुलाहाको मृत्यु

बिहे गरेको ७२ घण्टामै कोरोनाबाट दुलाहाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित बिजनौरमा कोरोनाले नवविवाहित पुरुषको मृत्यु भएको छ।

बिहेको रात दुलाहालाई ज्वरो आएको थियो। उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा ७२ घण्टापछि उनको मृत्यु भयो।

बिजनौरको मोहल्ला जाटानमा बस्ने अर्जुनले अप्रिल २५ मा चाँदपुरकी बबलीसँग विवाह गरेका थिए। तर बिहेकै दिन उनलाई ज्वरो आयो। स्वास्थ्य परीक्षण गराउँदा उनलाई कोरोना पोजिटिभ देखियो।

अस्पतालमा अक्सिजनको कमिका कारण अर्जुनको मृत्यु भएको बताइएको छ । भारतमा कोरोना संक्रमणले एकपछि अर्को रेकर्ड राखिरहेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो एक दिनमा भारतमा ४ लाख १ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। एकैदिन कुनै पनि देशमा ४ लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो। त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ५ सय २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख ११ हजार ८ सय ५३ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजारभन्दा बढी छ। भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ४५ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो। भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७