अन्तर्राष्ट्रिय

लाग्छ, दिल्लीमा ‘युद्ध’ चल्दैछ…

लाग्छ, दिल्लीमा ‘युद्ध’ चल्दैछ…

जेफ्री जिटेलम्यान (द न्यूयोर्क टाइम्स)
नयाँदिल्ली, वैशाख १६

दाहसंस्कार गरिने ठाउँहरूमा शवको खचाखच देख्दा लाग्छ, यहाँ विशाल यु-द्ध चल्दैछ। धेरै लडाकू मा-रिएका छन्। धेरै ठाउँमा एकैपटक दर्जनौं शवजलाइन्छ।

यो भारतको राजधानी नयाँदिल्ली हो। सामूहिक दाहसंस्कार गरिने व्यस्त ठाउँहरूमा आगोको ज्वालाले जतिखेरै आकाश उज्यालो बनाएको देखिन्छ। लाग्छ, यहाँ चिताबाट धुँवा पुत्ताउन कहिल्यै रोकिन्न।

म न्यूयोर्क टाइम्सको दक्षिण एसिया ब्युरो प्रमुख हुँ, नयाँदिल्लीमा बस्छु।

मेरो छिमेकमा दर्जनौं मान्छे बिरामी छन्। मेरा एक जना सहकर्मी सिकिस्त छन्। मेरो छोराका शिक्षकहरू थलिएका छन्। म बस्ने घरमै पनि दायाँबायाँ सबै कोरोना संक्रमित छन्।

‘मलाई थाहै छैन मलाई कसरी सर्‍यो,’ अस्पताल भर्ना भएका मेरा एक नजिकका साथी भन्दै थिए, ‘एक सासमै यो…।’

सिकिस्त भएका उनमा आफ्नो वाक्य पूरा गर्ने तागत थिएन। उनले अस्पतालमा मुश्किलले बेड पाए। उनलाई चाहिने औषधि भारतमै कहीँ नभेटिएको डाक्टरहरूले बताएका छन्।

म मेरो अपार्टमेन्टमै बसेको छु, कहिले कोरोनाले भेट्ला भनेर कुर्दै।

संसारमै कोभिडले नराम्ररी च्यापेको सहर नयाँदिल्लीका अधिकांश मान्छेलाई अहिले यस्तै लाग्दो हो- कोरोना यहीँ आसपास छ, म उसको छेउमै छु। बस् केही समयको कुरा हो, मलाई पनि यसले गाँज्नेछ।

भारतमा दैनिक तीन लाख पचास हजारभन्दा बढी सं-क्रमित भइरहेका छन्। कोरोना महामा-री सुरू भएयता यो संसारकै सबभन्दा ठूलो संख्या हो। अझ यो त सरकारी तथ्यांक मात्र हो, विज्ञहरूले योभन्दा धेरै मान्छे सं-क्रमित भएको अनुमान गरेका छन्।

दुई करोड जनसंख्या भएको घन्चमन्च राजधानी नयाँदिल्लीमा कोरोना अत्यास लाग्ने गरी फैलिएको छ। केही दिनअघिको तथ्यांक हेर्ने हो भने कोरोना पोजेटिभ हुने संख्या ३६ प्रतिशत थियो। यो भनेको तीन जनामा एक जनाभन्दा बढी सं-क्रमित हुनु हो। एक महिनाअघि यो संख्या तीन प्रतिशत थियो।

यहाँ सं-क्रमण आँधीझैं फैलियो। अस्पतालहरू निमेषभरमै खचाखच भए। औषधि सकिन थाले। जीवन बचाउने अक्सिजन अभाव भयो। धेरै बिरामी अस्पतालका गेट वा घरमै बेड र उपचार कुर्ने लाइनमा बसे। उनीहरू सिलिन्डरमा भरिएको अक्सिजन नपाएर छट्पटाइरहेका थिए।

नयाँदिल्लीमा अहिले लकडाउन भए पनि कोरोना थान्को लागेर बसेको छैन। डाक्टरहरू र ठूला नेताहरूले अक्सिजन, औषधि र सहयोगको याचना गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बारम्बार फोन गरिसके।

भारतको जनसंख्या संसारमै दोस्रो धेरै हो, जहाँ एक अर्ब ४० करोड मान्छे बस्छन्। यहाँका बस्ती एकदमै बाक्ला छन् र धेरै अतिगरिब छन्। विज्ञहरूले केही समयअघि नै भारतमा कोभिडले एकदमै ठूलो आ-क्रमण गर्ने चेतावनी दिएका थिए।

अहिले भारतमा जे भइरहेको छ, त्यो गत वर्ष देखिएको कोरोना कहरभन्दा एकदमै भिन्न देखिन्छ। त्यो बेला हामी केसँग डराइरहेका छौं भन्ने थाहा थिएन। धेरै मान्छे मर्लान् भनेर आत्तिएका त थिए, तर सोचेभन्दा कम नै भयो। अहिले ती सबै अनुमानको सीमा पार भएको छ, जताततै मृत्यु सुनिन्छ।

यो रोगले कसरी तीव्र गतिमा सताउन सक्छ भन्ने आँखैले देखिएको छ। दोस्रो लहरमा आएको कोरोनाको भयानक च-ट्याङले सबैलाई एकैपटक हानेको छ।

म करिब २० वर्षदेखि विदेशी संवाददाताका रूपमा संसारका विभिन्न ठाउँमा काम गरिरहेको छु। कामको सिलसिलामा द्व-न्द्वग्रस्त क्षेत्रहरू पुगेँ, इराकमा त अ-पहरणमै परेँ र धेरै ठाउँ जेलसमेत परेँ। त्यो बेला पनि म डराएको थिएँ, तर अहिले बेग्लै त्रासले दिमाग रन्थनिएको छ।

मलाई थाहा छैन, कोरोनाले म, मेरा दुई सन्तान र श्रीमतीलाई च्याप्यो भने हाम्रो अवस्था कस्तो हुनेछ। सामान्य लक्षण मात्र होला र यसलाई जितेर निको हुन्छौं कि एकदमै गम्भीर हुनेछौं? धेरै सिकिस्त भयौं भने हामी कहाँ जाने होला? कहीँ आइसियू खाली छैन। धेरै अस्पतालका त गेटै बन्द भइसके।

कोरोनाको यो नयाँ प्रकारले धेरै क्षति पुर्‍याइरहेको छ। विज्ञानले पनि अहिल्यै यसबारे स्पष्ट भन्न सक्दैन। तर जति भनेको छ, त्यसबाट के थाहा हुन्छ भने यो नयाँ प्रकारको भाइरस एकदमै धेरै र चाँडो फैलिन्छ र खोपको प्रभावकारिता पनि कम गर्न सक्छ। त्यसैले डाक्टरहरू डराएका छन्। हामीले कुराकानी गरेका केहीले त दुईपटक खोप हालिसके पनि गम्भीर बिरामी भएको बताएका छन्। यो एकदमै भयानक संकेत हो।

यस्तो अवस्थामा के पो गर्न सकिएला र!

म सकेसम्म सकारात्मक भएर बस्ने कोशिस गरिरहेको छु। सकारात्मक सोच रोगसँग ल-ड्ने प्रमुख क्षमतामध्ये एक हो भन्ने विश्वास गर्छु म। मेरो मन र शरीर भने अपार्टमेन्टका दुई-चार कोठामा यताउता हिँड्दा पनि बत्तिइरहेझैं लाग्छ। म अचेल फोन हेर्न पनि डराउँछु। कतै कुनै साथीलाई गाह्रो पर्‍यो कि, मृत्यु नै भयो कि!

मैले त आफूमा पनि लक्षणहरू कल्पना गर्न थालिसकेँ, के मेरो घाँटी दुखेको हो? मेरो टाउको दुखिरहेको थियो, आज झन् बढेको हो कि?

मलाई थाहा छ, अहिले लाखौं मान्छेले यस्तै महशुस गरिरहेका छन्।

दक्षिणी दिल्लीको म बस्ने सहर चुपचाप छ। पोहोर अरू सहरमा जस्तै यहाँ कडा लकडाउन थियो। धेरै मान्छेलाई लकडाउनले वाक्क पनि पारेको थियो। तर अहिले डाक्टरहरूले यो भाइरस एकदमै खतरनाक भएको बताएका छन्। यसले समात्यो भने उपचार त के मद्दत पनि पाउन नसक्ने जोखिम छ। त्यसैले अधिकांश मान्छे घरबाट निस्किन आँट गरेका छैनन्। यस्तो लाग्छ, बाहिर वि-षालु हावा फैलिएको छ, हामी सास फेर्नै डराएका छौं।

भारतमा धेरै मान्छे भएकाले संक्र-मित हुने र ज्यान गुमाउनेहरू पक्कै धेरै हुन्छन्। तर यो देशमा उत्तिकै मात्रामा प्रविधि छ, औद्योगिक क्षमता, स्रोतसाधन र जनशक्ति पनि छ। अस्ति भर्खर भारतीय हवाई सेनाले सिंगापुरबाट अक्सिजन ल्याएर आवश्यक ठाउँहरूमा वितरण गर्‍यो। यो समाचार देख्दा म धेरै भावुक भएँ- सरकारले हावाबाटै हावा बोकेर ल्याइरहेको थियो।

हामीलाई अहिले दिल्लीमा एकदमै गाह्रो र खतरा भएको लागिरहेको छ। तर अवस्था योभन्दा खराब हुन सक्छ। महामा-रीविज्ञहरू भन्छन्, बिरामी संख्या अझै बढ्न सक्छ। देशभरमा दैनिक पाँच लाखभन्दा बढी सं-क्रमित हुन सक्छन् र आउँदो अगस्टसम्म भारतमा कोरोनाका कारण म-र्नेहरू दस लाखभन्दा बढी हुन सक्छन्।

तर अवस्था यस्तो हुनुपर्ने थिएन।

केही साताअघिसम्म भारत ठिकठाकै देखिन्थ्यो। यहाँ लकडाउन भयो, पहिलो लहर खेपियो र खुला भयो। सरकारी तथ्यांकमै मात्र सही, मृत्युदर कम रह्यो। जाडो यामसम्म त यहाँको जनजीवन सामान्य हुन थालिसकेको थियो।

अस्तिको जनवरी र फेब्रुअरी महिनामै म भारतका विभिन्न सहर चहार्दै समाचार खोजिरहेको थिएँ। त्यो बेला कसैले पनि मास्क लगाएका थिएनन्, साँच्चै कसैले पनि। कोरोनाको दोस्रो लहरको छनक आउँदै गरेका बेला पूरै भारतले ‘केही छैन, हामी पार हुनेछौं’ भनिरहेझैं लागेको थियो।

तर अहिले एकदमै कम मान्छेले यस्तो सोच्छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना आसेपासेमाझ धेरै लोकप्रिय छन्। तर धेरै मान्छेले अहिलेको अवस्थामा उनलाई दोषी ठहर्‍याइरहेका छन्। केही साताअघि उनको नेतृत्वमा भएका विशाल राजनीतिक र्‍यालीहरूमा सावधानी अपनाइएको थिएन। ती र्‍याली र सभालाई अहिले कोरोना फैलाउने घटनाका रूपमा लिन थालिएको छ।

‘भौतिक दुरी कायम गर्ने भन्ने कुराले हावा खाइसक्यो,’ मोदीको र्‍याली प्रसारण गर्न पुगेका एक संवाददाताले भनेका थिए।

भारतले आफैं दुइटा खोप उत्पादन गरिरहेको छ। तर खोप वितरण एकदमै सुस्त भएको भन्दै जनता निराश छन्। अहिलेसम्म कुल जनसंख्याको दस प्रतिशतभन्दा कमले पहिलो खोप पाएका छन् भने १.६ प्रतिशतको मात्र डोज पूरा भएको छ।

सबै ठाउँमा जस्तै भारतमा पनि धनी र पहुँच हुने वर्गका मान्छेलाई संकटबाट पार पाउन सहजै छ। अहिले भने अवस्था यस्तो देखिँदैन।

मेरा एक जना साथी छन्, उनको सबैतिर राम्रो पहुँच छ। उनका एक नजिकका जवान पुरूषलाई कोरोना भएको थियो। मेरा साथीले आफ्नो बलबुताले भ्याउने सबैथोक गरे। जताततै बिरामीको चाङ भएकाले जतिसुकै सोर्सफोर्स लाउँदा पनि ती पुरुषलाई साथीले अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न सकेनन्। ती जवान पुरुषको मृत्यु भयो।

‘मैले उनलाई बेड मिलाउन मेरो पहुँच र बुताले भ्याएको सबै गरेँ, तर सकिएन,’ मेरा साथी भन्दै थिए, ‘यो अराजकता हो।’

उनका भावना र भनाइ निर्दोष थिए, ‘यो सरासर ह -त्या हो।’

यी सबै सुन्दै-देख्दै पनि मैले केही जोखिम उठाउनुपर्छ। जस्तो डेलिभरी नहुने खानेकुराहरू किन्न। म दुइटा मास्क लगाउँछु र मान्छेको नजिक सकेसम्म जाँदै जान्नँ।

यसबाहेक अरू दिन हामी चार जना अपार्टमेन्टभित्रै हुन्छौं। हामी केही खेलहरू खेल्ने कोशिस गर्छौं। सं-क्रमित भएकाहरू वा सहरमा सहयोग खोज्दै हिँडिरहेका निरीह मान्छेबारे सकेसम्म कुराकानी गर्दैनौं। कहिलेकाहीँ हामी बाहिर बगैंचामा भएका रूखहरू हेर्दै लिभिङ रूममा चुपचाप बसिरहन्छौं।

दिन लामा छन्। उखर्माउलो गर्मी छ। मान्छेको चहलपहल छैन। तर खुला झ्यालबाट आउने दुई आवाज हामी प्रस्ट सुन्छौं- एम्बुलेन्सको साइरन।

र, चराहरूको गीत।

(अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका दक्षिण एसिया ब्युरो प्रमुख जेफ्री जिटेलम्यानले लेखेको लेखको भावानुवाद। जिटेलम्यान भारत, नयाँदिल्लीमा बस्छन्। उनले अन्तर्राष्ट्रिय रिपोर्टिङका लागि पुलिट्जर पुरस्कार पाएका छन् र ‘लभ, अफ्रिका’ नामक संस्मरण किताबका लेखक पनि हुन्। सेतोपाटिको सहयोगमा )

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७