पत्रपत्रिकाबाट

दाङ दुर्घटनाबाट बाँच्ने ‘भाग्यमानी’ यात्रुको कथा

- गौरब पनेरु

दाङ दुर्घटनाबाट बाँच्ने ‘भाग्यमानी’ यात्रुको कथा

१४ पुस, काठमाडौं । दाङको शहिद कृष्णसेन ईच्छुक प्राविधिक शिक्षालय यसै वर्षदेखि सञ्चालनमा आएको हो । आफ्नै क्षेत्रमा खोलिएको विद्यालयमा प्राविधि शिक्षा हासिल गर्नका लागि दाङ मात्र नभएर रुकुम, रोल्पा अछामसम्मबाट एसइई पास गरेका विद्यार्थीहरु दाङ सदरमुकाम झरेका थिए ।

पहिलो ब्याज भए पनि फरेस्टी पढ्नेहरुको चाप राम्रै थियो । पुस ६ गते फरेस्टीका विद्यार्थी व्यवहारिक शिक्षाका लागि सल्यानस्थित मुलपानीमा रहेको वनस्पति उद्दानको अवलोकनका लागि बा ४ ख ९७६६ नम्बरको बसमा हुइकिए । बसमा २ शिक्षक, ३२ विद्यार्थी र गाडीका ३ जना कर्मचारी थिए ।

उनीहरु अवलोकन पनि सकेर फर्किए । दाङ सदरमुकाम तुलसीपुर पुग्न केही किलोमिटरमात्रै बाँकी थियो । सबै जना रोमान्टिक मुडमा थिए । कोही अगाडिको सिटमा गीत गाएर रमाउँदै थिए भने कोही पछाडिको सिटमा मस्त निद्रामा थिए ।बसले तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने ठाउँको घुम्ती काट्दै थियो । अचानक बस ठोक्कियो र बेस्सरी हल्लियो । चन्दनाथ नगरपालिका–२ जुम्लाका १७ वर्षीय जीवन भण्डारीले यत्ति थाहा पाए ।अर्कोपटक पनि थाहा पाए । त्यतिबेला उनलाई अनकन्टार भिरालो खोलाको किनारमा उभिएजस्तो लाग्छ । उनले भने, बचाउ ! बचाउ ! तेस्रोपटक थाहा पाउँदा उनी काठमाडौंको ट्रमा सेन्टरको बेडमा लडिरहेका थिए ।

भण्डारीले थाहा पाउँदासम्म ७०० मिटर तल खसेको बसका उनका साथी दुई शिक्षक तीन चालकसहित २३ जनाको मृत्यु भइसकेको थियो भने १२ जना उनीसँगै ट्रमा सेन्टरमा उपचाररत थिए ।चन्दननाथ नगरपालिका–२ जुम्लाका जीवन भाग्यबस सात सय मिटर तल झर्न पाएनन् । बसबाट उछिट्टिएर भीरमै अल्झिए । त्यसैले उनी त्यति धेरै सिरियस छैनन् । तर, उनको शरीरभरि चोटै चोट छन् ।

उनीभन्दा भाग्यमानी साथी कुशेन्द्र खत्री रहेछन् । उनी वान्ता गर्नका लागि टाउको बाहिर निकालेर बसेका थिए । त्यही बेला बस घुम्तीमा नघुमेर सिधै भीरतिर झर्‍यो । उनले रुखको डाली समाउन पाए, अनि सकुशल भए । तर, जुम्लाबाट फरेस्टी पढ्न आएका उनका १२ जना साथी भने सधैंका लागि उनलाई छाडेर गइसकेका छन् ।

ट्रमा सेन्टरकै बेडमा अछामका १६ वर्षीय भद्र विष्ट घाँटीसम्म ब्लाङ्केट ओडेर सुतेका छन् । खुइलिएको टाउको र अनुहारभरि चोट देखिन्छ । उनका पनि औँला र खुट्टाको हाड फुटेका छन् ।

ट्रमा सेन्टरको पाँचौं तलाको बेडमा १६ वर्षीया रोजिना पुन मगर शरीरभरि चोट बोकेर लडिरहेकी छिन् । उनका खुट्टा कोतरिएका छन्, अनुहारको छाला खुइलिएको छ । हिपमा निकै ठूलो चोट छ । शरीरमा त्यस्तो कुनै खाली भाग छैन, जहाँ चोट नलागेको होस् ।

तर, सानीभेरी रुकुमकी रोजिनालाई बेहिसाव चोटको प्रवाह छैन । यतिसम्म कि अहिलेसम्म दुर्घटना भएको पनि थाहा पाएकी छैनिन् । यतिबेला उनलाई कुन ठाउँमा के गरिरहेछिन् भन्नेसमेत हेक्का छैन । निदाइ मात्र रहन्छिन्, कति–कति बेला बोल्छिन् । बरु उनकी आमा लक्ष्मी पुनलाई यो सब घटनाले ठूलो चोट दिएको छ । उनको चोट आँखाबाट छचल्किन्छ र भन्छिन्, ‘अहिलेसम्म केही स्वर नै पाएकी छैन । उसको कुनै होस नै छैन । हामीले केही जानकारी पनि दिन सकेका छैनौँ ।’

बस झर्दै गर्दा आधा भीरतिर नपुग्दै बस दुई फ्याक भयो । र, रोजिना त्यही भीरमा उछिटिइन् । अहिले उनी ट्रमा सेन्टरको बेडमा छिन् । शुक्रबार उनलाई भेट्दा आमाबुवा हिपको अप्रेशनको तयारीमा थिए ।

ट्रमा सेन्टरको छैठौं तलामा छिर्ने वित्तिकै बायाँतर्फको बेडमा देखिन्छिन्, बंगालापुरी–१, दाङकी १६ वर्षीय मेनुका रिजाल । बस बजारिने जमीनभन्दा करिव एक सय मिटर माथिको दाउरामा नअल्झिएको भए सायद उनी अहिले ट्रमा सेन्टरको बेडमा हुन्नथिन् ।

मेनुका राम्रैसँग बोल्छिन् । उनको टाउकामा अहिले टाँकाले भरिएको छ । भाँचिएको दाहिने हातमा लामो प्लास्टर छ, करङका पाँचवटा हाड भाँचिएका छन् । उनलाई कुरेर छेउमै बसेका बाबा दोमाकान्त रिजाल भन्छन्, ‘डाक्टरले करङको हाडको अप्रेशन गर्नुपर्दैन भनेका छन् । खै, यत्तिकै निको हुन्छ कि हुँदैन ।’

अर्का एकजना भने आइसियुमा अहिले पनि अचेत अवस्थामा छन् । दुर्घटना भएको भोलिपल्ट उनीहरुलाई हेलिकप्टरमा राखेर ट्रमा सेन्टर ल्याइएको थियो ।

१२ जनामध्ये सात घाइते अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । उनीहरु सबैको उपचार सीटीइभीटीले गरिदिएको बिरामीका आफन्त बताउँछन् ।#onlinekhabar.com

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal