समाज

ट्रमा सेन्टरको शय्यामा सम्झनाका पीडा: रोग लागेपछि श्रीमान् नै सम्पर्क बिहीन

ट्रमा सेन्टरको शय्यामा सम्झनाका पीडा: रोग लागेपछि श्रीमान् नै सम्पर्क बिहीन

काठमाडौं– ‘रोग लागेपछि श्रीमान् नै सम्पर्क बिहीन भए।’ राष्ट्रिय ट्रमा सेन्टरको ४०८ नम्बर बेडमा सुतिरहेकी पाल्पाकी २९ वर्षीया सम्झना पंगेनी रसिला आँखा बनाउदै मलिन स्वारमा बोलिन्।

ट्रमा सेन्टरको चौथो तलामा रहेको वेड नम्बर ४०८ मा सुतिरहेकी थिइन् उनी। सम्झनाको सोमबार दाहिने घुँडाको जोर्नी प्रत्यारोपण गरिएको छ।

सम्झना ४ महिनाको हुँदा उनको दाहिने घुँडाको भित्री भाग सुन्निएको थियो। त्यतिबेला नै सम्झनाको घुँडाको भित्री भागमा जमेको पिप शल्य-क्रिया नै गरेर निकालिएको थियो।

त्यसपछि सम्झनालाई कुनै समस्या थिएन। तर करिब डेढ वर्ष अघि उनको त्यही घुँडामा फेरि समस्या देखिन थाल्यो। अलिकति हिँड्दा पनि दुख्ने तथा सुन्निने समस्या भएपछि सम्झनाले सुरुमा लुम्बिनी मेडिकल कलेजमा उपचार गराइन्। औषधि खाने र इन्जेक्सन लगाउने गर्दा पनि दुख्ने समस्या ठिक भएन। बिस्तारै उनको घुँडा अत्याधिक दुख्ने, केही पाइला हिँड्नेबित्तिकै खुट्टा लत्रिने समस्या देखियो।

दुखाई बढ्नुका साथै खुट्टा समेत बाङ्गो हुँदै जान थाल्यो। त्यसपछि भैरहवा र चितवनका विभिन्न अस्पतालमा पनि उपचार गराइन्। त्यहाँ पनि रोग निको नभएपछि करिब ५ महिना अघि राष्ट्रिय ट्रमा सेन्टरमा आइन्।

करिब ५ महिनासम्म औषधि सेवन गरेपछि ट्रमा सेन्टरका डाक्टर दीपक दत्तले उनको जोर्नी प्रत्यारोपण गराउनुपर्ने बताए। सम्झना जोर्नी प्रत्यारोपणका लागि शुक्रबार अस्पताल भर्ना भइन्। उनको सोमबार शल्यक्रिया गरी जोर्नीको प्रत्यारोपण भएको छ।

दुई सन्तानकी आमा सम्झना ‘लेभर’को काम गरेर जीविका चलाउथिन्। उनका श्रीमान् होटलमा काम गर्थे। उनीहरुका दुई सन्तान पनि छन्। तर, सम्झना बिरामी परेपछि उनका श्रीमानले वास्ता गर्नै छाडेका छन्। आफू बिरामी परेपछि करिब ६ महिनादेखि श्रीमान् सम्पर्क बिहीन बनेको सम्झनाले बताइन्।

‘पहिला पहिला त राम्रै थियो, म लेभरको काम गर्थे, श्रीमानले होटलमा काम गनुहुन्थ्यो, म बिरामी भएपछि श्रीमानले पनि छाडे,’ उनले आँखाभरी आँसु बनाउँदै भनिन्, ‘कतिपटक फोन गर्छु उठाउदैनन्। ’

श्रीमान् सम्पर्कबिहीन भएपछि साढे २ वर्षकी छोरी र १३ वर्षको छोरालाई माइतिमा राखेर उनी ट्रमा सेन्टरमा उपचार गर्न आएकी हुन्। उनको उपचार खर्च माइती तर्फका आफन्तहरुले नै चन्दा उठाएर जुटाइरहेका छन्।

उनको उपचारमा संलग्न डाक्टर दत्तका अनुसार सम्झनाको स्वास्थ्य अवस्था अहिले सामान्य छ। शल्यक्रिया गरेर घुँडाको वरपर पाकेर बसेको हड्डि र पिपहरु निकालिएको छ।

घुँडाको जोर्नीमा रोग भएकै कारण बाँङ्गिदै गएकाले जोर्नीमा इम्प्लान्ट राखिएको छ। शल्यक्रिया गरेर जोर्नी प्रत्यारोपण गरिएपछि सम्झना अहिले विस्तारै हिड्न सक्ने अवस्थामा छिन्।

स्वास्थ्य उपचार पाएर शरीरमा लागेको घाउ निको हुने चिकित्सकले बताएका छन्। तर, रोग लागेकै कारण श्रीमानले छाडेर गएपछि मनमा लागेको घाउ भने निको भएको छैन। त्यही कुराले सम्झना बेला बेलामा भक्कानिन्छन्।

‘फोन उठाइहाल्छन् कि भनेर गर्छु, तर उठ्दैन, रोग लागेपछि के वास्ता गर्थे र!,’ सम्झनाले भक्किनिदै भनिन्।

सम्झनाको उपचारका लागि इम्प्लान्ट खरिद गर्न मात्र २ लाख रुपैयाँ खर्च भइसकेको छ। इम्प्लान्टबाहेक अरु पनि थुप्रै खर्च भइसकेको छ।

स्वास्थ्य बिमा गराएकाले अस्पतालले एकलाख रुपैयाँको औषधि उपचार खर्च छुट दिने बताएको छ। तर, स्वास्थ्य बिमाले दिने छुट भन्दा बढी खर्च औषधि उपचारमा भइसकेको छ। आफैंले मजदुरी गरेर छोराछोरी हुर्काइरहेकी सम्झना आफैं अस्पतालको शय्यामा भएपछि आफ्नो उपचार खर्च र छोराछोरी कसरी हुर्काउने भन्ने चिन्तामा छिन्।

सम्झनालाई लागेको रोग के हो ?

सम्झनालाई लागेको रोगका विषयमा डा दीपक दत्तले दिएको जानकारी उनकै शब्दमा :

सम्झनाको उमेर ४ महिनाको हुँदा घुँडाको जोर्नी पाकेको थियो। त्यसलाई चिकित्सकको भाषा ‘सेप्टिक नी’ भन्छौं। त्यतिबेला शल्यक्रिया गरेर पिप निकालको रहेछ। त्यतिबेला शल्यक्रिया गरिएको भएर जोर्नीको मुभमेन्ट भने रहिरह्यो। पुरै पाकेर उपचार नभएको भए जोर्नी पुरै बिग्रिन्थ्यो। शिशु अवस्थामा उपचार भएको र पिप पनि निकालेकाले जोर्नीले काम गरेको थियो। तर, पिपले गर्दा जोर्नीको कुरकुरे हाडहरुलाई ड्यामेज गर्न थालेको रहेछ। जसले गर्दा जोर्नीको पूर्ण विकास हुन पाएको थिएन।

विगत १८ महिनादेखि उहाँको जोर्नी बाङ्गो हुँदै ‘भालगस नी’ हुन थालेको अर्थात खुट्टाको बाहिरपट्टि बाङ्एिको थियो। जसले गर्दा उहाँको दैनिक क्रियाकलाप गर्न जस्तो शौच गर्न, हिँड्न, बस्न सबै कुरामा समस्या भएको थियो। त्यो बाहेक पनि उहाँलाई असाध्यै दुख्ने गरेको थियो। ‘सेप्टिक नी’कै कारणले उहाँको जोर्नी विग्रेको र बिस्तारै बाङ्गो भएको थियो।

सामान्य अवस्थामा घुँडा खिइने समस्या ९० प्रतिशतमा ‘भारस’ हुन्छ। यो विशेषगरी वृद्धवृद्धामा हुन्छ। तर, १० प्रतिशतमा भालगस भन्ने हुन्छ।

तर, यो घुँडा पाकेर भालगस हुने भनेको निकै कममा हुने समस्या हो। विगतमा मैले घुँडा खिएर बाङ्एिका बिरामीको शल्यक्रिया धेरै नै गरेको छु। तर, घुँडा पाकेर बाङ्गिएको केस भने पहिलोपटक गरेको हुँ।

यसरी पाकेको केसमा घुँडा भित्रको संरचना नदेखिने भएकाले अझै जटिल केस हो। उहाँको हामीले जोर्नी प्रत्यारोपण गर्‍यौं। शल्यक्रिया गरेर भित्रको खिइएको भागहरु बाङ्एिकोलाई काटेर सिधा बनाएर त्यसमा इम्प्लान्ट राखेर प्रत्यारोपण गरिएको हो।

उहाँले सहज तरीकाले हिड्न मांशपेसी अलिकति कमजोर छ। हिड्न त पोष्टअप वार्डमा सरेको भोलिपल्ट नै हिँडाएका थियौं। दोस्रो दिनबाट २ सय मिटर हिड्नुभयो। पहिलाको दुखाइ हुने समस्याको उपचार भइसकेको छ। घुँडा सिधा भइसकेको छ। मांशापेसी बलियो बनाउने व्यायाम गराइरहेका छौं।

अर्थोपेडिकमा ५ वटा मात्र आकस्मिक केस हो। त्यो पाँचवटा मध्ये एउटा जटिल रोग जोर्नी पा-क्ने समस्या पनि हो। जोर्नीमा संक्रमण हुँदा ६ घण्टाभित्र नै जोर्नी ड्यामेज पनि हुनसक्छ। त्यसैले जोर्नीमा इ-न्फेक्सन भयो भने जटिल समस्या निम्तिन सक्छ।

जोर्नीमा रगतको सं-क्रमण र जोर्नी वरपरका शरीरका बाहिरी भागमा हुने घाउ तथा चोटपटकले पनि संक्रमण हुनसक्छ। यस्तो समस्या भएका व्यक्तिहरुको छिटो डाइग्नोस हुन जरुरी हुन्छ। ६ घण्टाभन्दा बढी समयसम्म उपचार भएन भने कुरकुरे हाडहरुलाई पगाल्न थाल्छ।

यसरी जोर्नी पाक्ने समस्याको उपचार समयमा नहुदा खुट्टा बाङ्गिदै जाने, दुख्ने समस्या बढ्दै जान्छ। उहाँको जोर्नी प्रत्यारोपण गर्दा इम्प्लान्टले करिव २५ वर्षको जीवन सहज रुपमा बिताउन सक्नुहुन्छ। त्यसपछि भने फेरी परिवर्तन गर्नुपर्ने हुनसक्छ।

उहाँको खुट्टामा राखिएको इम्प्लान्ट अमेरिकामा बनेको हो। त्यसैले अलि महंगो पनि छ। उहाँको जोर्नी प्रत्यारोपणका लागि राखिएको इम्प्लान्टलाई २ लाख जति नै परेको छ। उहाँलाई मांशपेसी बलियो बनाउनका लागि ४ देखि ६ हप्ता रेगुलर बोलाउछौं। त्यसपछि फलोअपमा वर्षमा एकपटक आए पुग्छ।

यसरी जोर्नी प्रत्यारोपण गरेका व्यक्तिहरुले अन्य व्यक्तिले जस्तै सामान्य जीवन बिताउन सक्छन्। तर प्रत्यारोपण गर्दा राखिएको इम्प्लान्ट अमेरिकामा बनेको हुनाले उनीहरुको जीवनशैलीलाई उपयोगी हुने तरिकाले बनाइएको छ। त्यसैले जोर्नी प्रत्यारोपण गरेका व्यक्तिहरुले विशेषगरी शौचालय चाँही नेपालीहरुले प्रयोग गर्ने प्यानवाला भन्दा पनि कमोड भएको शौचालय प्रयोग गर्नु उपयुक्त हुन्छ। थचक्क बस्दा इम्प्लान्ट छिट्टै खिइन्छ। त्यसैले थचक्क बसिहाल्नु पनि हुँदैन ।
रिता लम्साल/स्वास्थ्यखबर पत्रिका

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७