समाचार

तुवाँलोबाट कसलाई जोखिम ? यसबाट बच्न के गर्ने ? जान्नुहाेस्

तुवाँलोबाट कसलाई जोखिम ? यसबाट बच्न के गर्ने ? जान्नुहाेस्

वायु प्रदूषणका कारण तुवाँलो बाक्लिँदै जाँदा श्वासप्रश्वाससम्बन्धी निकै समस्या ल्याएकाे छ । दीर्घरोगी, बूढापाका र बालबालिकामा समस्या देखिदै गएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अवतरणको क्रममा जहाज । भिजिबिलिटी कम भएपछि तीन दिनयता अधिकांश आन्तरिक उडान अवरुद्ध भएका छन् ।

वायु प्रदूषणले क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) भएकाको समस्याले उग्ररूप लिन सक्छ विज्ञकाे भनाइ रहेकाे छ । दमका रोगीलाई पनि तुवाँलो निकै हानिकारक हुन्छ । ‘स्वस्थ युवालाई तुवाँलोले तुलनात्मक रूपमा मामुली वायुमार्गसम्बन्धी क्षति र खोकी, कफ, खकार र घाँटी दुखाइको समस्या निम्त्याउन सक्छ,’ राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश शाह भन्छन्, ‘श्वासप्रश्वाससम्बन्धी समस्या भएका, बूढापाका वा दिर्घरोगीका लागि झनै खतरनाक हुन सक्छ ।’

सन् १९९७ मा तुवाँलोले दक्षिणपूर्वी एसियाका थुप्रै राष्ट्रलाई प्रभावित गरेको औंल्याउँदै डा. शाहले भने, ‘तुवाँलोले माथिल्लो श्वास नलीको संक्रमण करिब १२ प्रतिशत, दम १९ प्रतिशत र नाकसम्बन्धी सुन्नाइ २६ प्रतिशतले बढेको त्यसबेलाको अध्ययनले देखाएको छ ।’ तुवाँलोसँग लामो समयसम्मको सम्पर्कले ब्रोङकाइटिस, निमोनिया, स्वरयन्त्रसम्बन्धी समस्या, दम, आँखा दुखेर सुन्निने र एलर्जीसम्बन्धी रोग निम्त्याउँछ ।

आँखा चिलाउनु, पानी बग्नु, सुन्निनु, नाकबाट पानी बग्नु, हाच्छिउँ आउनु, घाँटी पोल्नु, सुक्खा हुनु, दुख्नु, खोकी, टाउको दुखाइ, चक्कर, चिन्ता, निद्रामा कमीजस्ता समस्या तुवाँलोका क्षणिक प्रतिकूल प्रभाव हुन् । ‘तुवाँलोमा मानव शरीर हानि गर्ने विभिन्न कण हुन्छन्,’ डा. शाहले भने, ‘तुवाँलोमा हुने पीएम (पार्टिकुलेट म्याटर) २.५ रक्तसञ्चारमा मिसिएर थप समस्या निम्त्याउँछ ।’

तुवाँलोमा करिब ९४–९५ प्रतिशत कण २.५ माइक्रोमिटर व्यासभन्दा कम हुन्छन् । अर्थात्, यो मानव रौंको चौडाइभन्दा ३० गुणा सानो हुन्छ । सानो आकारले गर्दा यी कण हावामा लामो समयसम्म रहन्छन् र सजिलै टाढासम्म पुग्छन् । विज्ञका अनुसार तुवाँलोमा तीन प्रकारका कण हुन्छन्, वातावरणमा झुन्डिएका कण, पीएम १० र पीएम २.५ ।

वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानी तुवाँलो देखिएको बेला सकेसम्म घरबाहिरका गतिविधि नगर्न सुझाउँछन् । निस्कनै परे एन–९५ वा सही तरिकाले सामान्य मास्क लगाउनुपर्ने उनले बताए । यस्तो अवस्थामा घरबाहिर व्यायाम, मर्निङ/इभिनिङ वाक, दौड, खेलकुदलगायत कडा परिश्रम नगर्नसमेत विज्ञहरूको सुझाव छ । ‘घरभित्र गमलामा प्रदूषित हावा सफा पार्ने मनिप्लान्ट, घिउकुमारीलगायत बिरुवा लगाउन सकिन्छ,’ डा. चोखानीले भने, ‘आजकाल बजारमा पाइने ‘एयर प्युरिफाइर (हावा स्वच्छ पार्ने यन्त्र) समेत उपयोगी हुन सक्छ ।’

घरमा अगरबत्ती जलाउने, धूमपान गर्ने, मैनबत्ती बाल्ने काम बन्द गर्न पनि उनले आग्रह गरे । तुवाँलोको समयमा सकेसम्म घरको झ्याल बन्द गर्न भनिए पनि हावा आवागमनका लागि बीचबीचमा खोल्न सकिने उनले बताए । तुवाँलो नहटेसम्म रोग प्रतिरोधक क्षमता बढाउने स्वस्थकर आहार नियमित खान पनि विज्ञले सल्लाह दिएका छन् ।

के गर्ने ?

घरबाहिर निस्कँदा मास्क लगाउने, पर्याप्त पानी पिउने, घरभित्र गमलामा बिरूवा लगाउने, बेलाबेला झ्याल खोल्ने, घरबाहिरको गतिविधि निकै कम गर्ने, बालबच्चा र वृद्धवृद्धा बाहिर ननिस्कने, घरमै व्यायाम गर्ने, मदिरा सेवन, धूमपान नगर्ने, श्वासप्रश्वासलगायत समस्या देखिए चिकित्सकीय सल्लाह लिने,

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७