विचार/व्लग

सम्झनामा बिरेन्द्र : त्यत्रो संगत गर्दापनि राजालाई चिन्न सकेको रहेनछु !

भलाद्मी राजा र ‘रफ’ रानी
- ईश्वरी ज्ञवाली

सम्झनामा बिरेन्द्र : त्यत्रो संगत गर्दापनि राजालाई चिन्न सकेको रहेनछु !

हामी त सरकारी कर्मचारी थियौँ, तलब आउँथ्यो। तर, राजाको मन ! बीचबीचमा बोलाएर यसो खामबन्दीसहित नगद दिन्थे। दिलदार र कमलो हृदयका राजा थिए, वीरेन्द्र।
‘देखिने गरी खर्च नगर्नू, कहाँबाट ल्याउँछ र यत्रो खर्च गरिरहन्छ भन्ने नपरोस्’ भन्थे।

एकपटक राजा सुर्खेत सवारी हुँदा मैले पुरानो ज्याकेट लगाएर गएको थिएँ। जाडोयाम थियो। मलाई छोराले अमेरिकाबाट पठाइदिएको थियो, धेरै पुरानो नाइलनको ज्याकेट। ज्यादै जाडो भएकाले त्यही भिरेर पुगेको थिएँ। राजाले ज्याकेटका बारेमा त केही बोलेनन् तर अर्को दिन नयाँ ज्याकेट दिए। मनकारी थिए उनी। अर्काको दु:ख देख्नै सक्दैनथे।

राजा वीरेन्द्रमा पैसाको लोभ थिएन। एउटा घटना सम्झिन्छु, काका हिमालय वीरविक्रम शाह नि:सन्तान रहेकाले उनको निधनपछि उनको सम्पत्तिमा कसैको हकदाबी थिएन। हिमालयका एक जना वकिलले ममार्फत राजा वीरेन्द्रसामु एउटा प्रस्ताव पुर्‍याएका थिए। ‘दीपेन्द्र त राजाका उत्तराधिकारी युवराजाधिराज भइहाले। राजाको सम्पत्ति उनका नाममा भइहाल्छ। तर, हिमालयको सम्पत्ति भाइ नीराजनका नाममा गर्दा के होला?’ मैले यो कुरा राजा वीरेन्द्रमा जाहेर गरेँ। तर, राजाबाट ‘अरूको सम्पत्तिको लोभ गर्नु हुँदैन, मेरै सम्पत्तिबाट दुई भाइलाई बाँडिदिन्छु’ भन्ने जवाफ पाएपछि मलाई त्यो प्रस्ताव लगेकामा ज्यादै खिन्नता महसुस भयो। यत्रो संगत गर्दा पनि राजालाई चिन्न सकेको रहेनछु ।

बेलायतमा अध्ययन गर्दा त्यहाँका लागि तत्कालीन नेपाली राजदूत रामप्रसाद मानन्धरकी छोरीसँग युवराज वीरेन्द्रको विशेष सम्बन्ध रहेको गाइँगुइँ चलेको रहेछ। त्यस कुरालाई उनी राजा भएपछि व्यापक बनाइयो। मलाई लाग्यो, राजा महेन्द्रका पनि दुईवटी श्रीमती हुन्, इन्द्रराज्यलक्ष्मी देवी र दुर्गा शाह। इन्द्रराज्यलक्ष्मी विवाह गरेर ल्याइएकी ब्याइते र दुर्गा विवाह नगरी ल्याइएकी ल्याइते। इन्द्रराज्यलक्ष्मीको निधनपछि तेस्री श्रीमतीका रूपमा उनकै बहिनी रत्नलाई भित्र्याएका थिए महेन्द्रले।

रामप्रसादकी छोरीसँग वीरेन्द्रको विशेष सम्बन्धको चर्चा हुँदा यिनका पनि दुई श्रीमती भए त के भयो, राजाको निजी जीवनतिर किन चासो राख्नु भन्ठानेर त्यो कुरा सुनेको नसुन्यै गरी बसेको थिएँ। तर, तीन–चार दिन बित्दा पनि राती निदै पर्ने र यही कुरा मनमा खेल्ने गर्न थाल्यो, छटपटी बढ्दै गयो। त्यसपछि त्यो कुरा राजामा बिन्ती गरेँ। राजाले ‘यो हल्ला मात्र हो, सत्य होइन’ भन्दै ‘मेरो बदनामी गराउन यो सब हल्ला फैलाइरहेका हुन् तर तिमीले सुनेको कुरा मलाई भन्न लाज मान्नु पर्दैन, नि:संकोच भने हुन्छ’ भनेपछि मेरो मनलाई शान्ति मिल्यो। त्यो हल्लापछि मानन्धर होइन, श्रीधरशमशेरकी छोरीसँग विवाह गर्न ठिक्क परेका युवराज वीरेन्द्रले रानी रत्नकै कारण ऐश्वर्यसँग विवाह गरेका थिए।

सादगी राजा वीरेन्द्रको ज्यादै अनुकरणीय पक्ष थियो। अरूका कुरा सुन्न सक्ने विशेष खुबी थियो उनमा। चिन्ता या ठूलै पिर पर्‍यो भने पोखरा या नागार्जुन दरबार सवारी हुन्थ्यो। राजा वीरेन्द्रको कमजोर पक्ष भनेको आफूवरिपरिका केही मान्छेका कुरा टार्न नसक्नु थियो। कारिन्दाजस्तो भएर आफैँ जोतिने स्वभाव पनि सायद उनको कमजोर पक्ष हो।

राजदरबारभित्रको मंगल सदनमा भएको एउटा घटना सम्झन्छु। त्यहाँ मलाई रानी ऐश्वर्यले ठाडै हकारेकी थिइन्। आफ्ना कुरा लागू गर्न बाध्य पार्ने किसिमको स्वभाव थियो उनको। राजाका हरेक कुरा सुझावपूर्ण हुन्थे। राजाले ‘यसो गरे कसो होला?’ भन्थे तर रानी ‘यसो गर’ भन्ने किसिमको व्यवहार गर्थिन्। तसर्थ, बिलकुल विपरीत स्वभाव थियो, राजा वीरेन्द्र र रानी ऐश्वर्यको। सायद बेलायतमा पढेर आएका वीरेन्द्र र नेपालमै राणा परिवारमा हुर्के/बढेकी ऐश्वर्यमा भिन्नता हुनु स्वाभाविक थियो कि  ! वीरेन्द्रको स्वभाव ‘पोलिस्ड’ खालको थियो भने रानीको ‘रफ’।…………………………

[हामीले यो सस्मरण नेपाल म्यागजिनबाट लिएका हौ]

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal