अर्थ

पठाओलाई टक्कर दिन आयो राइड सेयरिङ एप ‘साथी’

पठाओलाई टक्कर दिन आयो राइड सेयरिङ एप ‘साथी’

काठमाडौं- मोटरसाइकलसँगै अब निजी गाडी पनि राइड सेयरिङ गर्न सकिने गरी ‘साथी’ले आफ्नो सेवा सुरु गरेको छ। अहिले सञ्चालन भइरहेको राइड सेयरिङ सेवाहरुमा नयाँ सेवासहित साथीले सेवा सुरु गरेको हो।

साथीले पहिलो चरणमा मोटरसाइकलमार्फत् आफ्नो सेवा सुरु गरेको कम्पनीका प्रवर्द्धक प्रणय पौडेलले बताए। मोटरसाइकलपछि भने निजी गाडीलाई पनि राइड सेयरिङ प्लाटफर्ममा भित्र्याउने तयारी भइरहेको छ। उक्त कम्पनीले आफ्नो मोबाइल एप्लिकेसनमा निजी गाडीको फिचर राखिसकेको भए पनि कार्यान्वयनमा भने केही समय लाग्ने बताइएको छ।

कम्पनीले केही समय भित्रै साथीलाई औपचारिक रूपमा सार्वजनिक गरेपछि रुट नै तोकेर सेवा सञ्चालन गर्ने कम्पनीका अर्का प्रवर्द्धक देवकुमार श्रेष्ठले बताए। साथीले रत्नपार्कलाई आधार बनाएर चाबहिल, कोटेश्वर, लगनखेल, कलंकी, बालाजु, गोंगबु र महाराजगञ्जसम्म तलबै दिएर राइडरहरु उपलब्ध गराउने उनले जानकारी दिए।

अन्य राइड सेयरिङ कम्पनीहरुले प्रति राइड १० देखि २० प्रतिशतसम्म कमिसन लिँदै आएकोमा साथीले भने पाँच प्रतिशत मात्रै लिने श्रेष्ठले बताए। कम्पनीले महिला राइडरहरुलाई प्रोत्साहन गर्न पुरुषहरुको तुलनामा केही कम कमिसन लिने रणनीति बनाएको उनले जानकारी दिए।

कम्पनीले तीन किलोमिटरसम्मको न्यूनतम भाडा २० रुपैयाँ र त्यसपछि प्रति किमि १० रुपैयाँका दरले भाडादर कायम गरेको श्रेष्ठले बताए। कम्पनीले पहिलो लटमा ५० जना राइडरलाई फुल टाइम उक्त रुटहरुमा पठाउने र यो संख्यामा केही समय भित्रै एक सयमा पुर्‍याउने लक्ष्य लिएको छ।

कम्पनीले मोटरसाइकल खरिद गर्न चाहने राइडरहरुलाई सस्तो ब्याजदरमा कर्जाको सुविधासँगै वार्षिक बोनस पनि दिने श्रेष्ठको दाबी छ। यसका लागि कम्पनीले बैंकहरुसँग सम्झौता गर्ने तयारी गरेको जनाएको छ। प्रयोगकर्ताहरुले क्यूआर कोडमार्फत् नै साथीको शुल्क तिर्ने सुविधा पनि रहेको छ।

प्रयोगकर्ताहरुलाई सहज होस् भनेर कम्पनीले लाउन्ज, रेष्टुरेन्टलगायतका स्थानहरुबाटै साथीको सेवा टेबल बुकिङमै उपलब्ध गराउने योजना बनाएको पौडेलले बताए। यस्तै, साथी एप प्रयोग गरी उपभोक्ताहरुले देशभरका सबै एयरपोर्टमा सवारी साधन बुकिङ गर्न सक्ने छन्। जसका लागि अहिले सम्बन्धित विमानस्थलमै सञ्चालनमा रहेका सवारी साधनलाई साथीमा अनुबन्ध गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए। कम्पनीले हरेक एयरपोर्टमा आफ्ना एजेन्टहरु खटाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७