राजनीति

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी हित विपरित काम गरेको भन्दै ५ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । यसरी स्पष्टीकरण सोधिने नेतामा वरिष्ठ नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्री रहेका छन् ।

पाँचै नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको छ।

यो पनि- ‘केपी ओलीसँगको ४८ वर्षको माया कहाँ एक रातमा छुट्टिन्छ ?’

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग छुट्टिने पक्षमा आफू नरहेको बताएका छन् । युवा संघको भेलालाई शनिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले यस्तो बताएका हुन् ।

नेता नेपालले अध्यक्ष ओलीसँग नछुट्टिने तर त्यसका लागि सबैले विधानका आधारमा चल्नुपर्नेमा जोड दिए । उनले ओलीसँगको मायाप्रिती ४८/४९ वर्षको भएको भन्दै एक रातमा नछुट्टिने बताएका हुन् ।

‘मैले भनेको छु, विधानका आधारमा अगाडि बढौँ । प्रत्येक व्यक्ति कमिटी र संगठनको मातहतमा हुन्छ । केपी कमरेडले त्यो स्वीकार गरे हामी सँगै जाने पक्षमा छौँ । हामी केपी ओलीसँग छुट्टिने पक्षमा छैनौँ’, नेता नेपालले भने, ‘त्यत्रो लामो समयको माया–प्रीति कहाँ एक रातमा छुट्टिन्छ ? केपी ओलीसँगको मेरो माया प्रिति ४८/४९ वर्षको भयो थाहा छ ?’

नेपालले नेकपाको एकता खारेज गराउने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाए । फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको नामको मुद्दामाथि गरेको फैसलाले नेकपा खारेज भएको थियो । तर उक्त फैसलालाई नेता नेपालले जन्मिसकेको बच्चालाई गर्भमै लैजान भने जस्तै अव्यवहारिक निर्णय भएको टिप्पणी गरे ।

शनिबार नेपाल पक्षीय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । तर सर्वोच्चको फैसला गलत भए पनि पालना गर्नुपर्ने बाध्यता भएको नेपालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७