पत्रपत्रिकाबाट

छोरो मारियो, त्यही छोराको क्षतिपूर्ति रकमले घर ठडियो

- गोकर्ण गौतम

छोरो मारियो, त्यही छोराको क्षतिपूर्ति रकमले घर ठडियो

निर्मला पन्तको हत्यारा खोजीको माग गर्दै आन्दोलन चर्किरहेको थियो । मिस्त्री काम गर्ने भीमदत्त नगरपालिका, भगतपुरका सन्नी खुना ठेकेदारसँग पैसा लिन बजार गएका थिए ।

सन्नीले खासै ख्याल गरेनन् । नाराजुलुसबाट यताउता भाग्न खोज्दै थिए, प्रहरीले चलाएको गोली लागेर ढले । अस्पताल पुर्‍याउँदा–नपुर्‍याउँदै मृत्यु भयो । अर्थात्, एउटी बालिकाको हत्यारा पत्ता नलाग्दै राज्यबाट अर्को ‘हत्या’ भयो ।

उनको घरमा पुग्दा उनका बुबा वीरबहादुर खुना असिनपसिन थिए । नयाँ मान्छे देख्नासाथ वीरबहादुरले चाल पाइसक्छन्, छोराकै कुरा गर्न आएको हो । कुराकानीको सुरुआत उनले नै गरे, “छोरो गोली लागेर मरेछ । तर प्रहरीले जानै दिएन । शव भोलिपल्ट मात्र देखेँ ।” के गर्नु, कसलाई भन्नु !

लगत्तै सन्नीलाई सहिद घोषणा गरियो । पीडित परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेशले ५ लाख र नगरपालिकाले ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने प्रतिबद्धता गरे । नगरपालिकामा हेल्परका रुपमा कार्यरत वीरबहादुरले करुण स्वरमा भने, “हामीले मागेका होइनौँ, उनीहरुले नै दिने घोषणा गरे । केही भनेनौँ । के भन्नु, छोरो त मरिसकेको थियो ।”

मुक्त कमैया वीरबहादुरको परिवारले नगर विकासबाट साढे चार धुर घडेरी पाएको थियो । पहिले त्यहाँ झुप्रो थियो । छोरा मारिएको क्षतिपूर्ति रकमले अहिले पक्की घर बनाउँदै छन् । नेपालबाट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal