राजनीति

चैत ५ मा एमाले फुटेको घोषणा !

चैत ५ मा एमाले फुटेको घोषणा !

काठमाडौं – सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट
केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको हो ।

नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय भेला बोलाउने निर्णयसमेत गरेको छ । सो भेलाले पार्टी फुटलाई मान्यता दिन सक्ने भन्दै रोक्नुपर्ने कार्यकर्ताको आग्रह छ । यसअघि शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट केन्द्रीय सदस्यको बैठक राखेर विभिन्न जिम्मेवारी हेरफेर गरेका थिए ।

अध्यक्ष ओली तथा वरिष्ठ नेता नेपाल पक्षका नेता एकअर्कालाई सिध्याउने र देखाइदिने अराजनीतिक संस्कारसहित अघि बढेको भन्दै कार्यकर्ता रुष्ट छन् । उनीहरूले पार्टी जोगाउन दुवै पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले शुक्रबार नेताको जिम्मेवारी हेरफेर गरेलगत्तै वरिष्ठ नेता नेपाल समूहले समेत शनिबार आफ्नो गुट भेलाबाट समान्तर कमिटी विस्तार गरेको छ ।

नेपाल समूहले यो साता एमाले सांसद र केन्द्रीय सदस्यको छुट्टाछुट्टै भेला गरेका थिए । लगतै शुक्रबार ओली समूहले समेत केन्द्रीय सदस्यको भेला प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना ग¥यो । सोही भेलालाई आधिकारिक केन्द्रीय कमिटीको बैठक भन्दै महत्वपूर्ण निर्णय गरेपछि नेपाल र खनाल समूहले सो निर्णय अस्वीकार गरी प्रदेश इन्चार्ज तथा विभागीय जिम्मेवारी तोकेको हो । नेपाल समूहको बैठकले गरेको निर्णयअनुसार तोकिएका इन्चार्जमा प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली तथा सुदूरपश्चिममा भीम रावल तोकिएका छन् ।

यसैगरी, महिला इन्चार्जमा अष्टलक्ष्मी शाक्य, प्रचार विभागको इन्चार्जमा योगेश भट्टराई, युवा इन्चार्जमा रघुजी पन्त, विद्यार्थी इन्चार्जमा गोकर्ण विष्ट र बुद्धिजीवी इन्चार्जमा प्रवेश हमाललाई जिम्मेवारी दिइएको छ । यस्तै, नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने भएको छ ।

प्रधानमन्त्री ओलीले गरेको निर्णय विधान र नियमावलीविपरीत रहेकाले त्यसलाई स्वीकार गर्न नसकिने नेता भीम रावलले बताए । ‘यो भेलाबाट हामीले एमालेको एकतालाई टुटाउने, पार्टी फुटाउनेगरी जसरी पार्टीका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीले बालुवाटारबाट आफ्नो गुटको भेला गरेर निर्णय गर्नुभएको छ, त्यसलाई हामीले अस्वीकार गरेका छौं,’ रावलले भने, सुभाष शाहले राजधानी दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७