मनोरञ्जन

एउटा कारण जसले गर्दा संगीतबाट अवकाश लिदैछिन् सेलेना गोमेज

एउटा कारण जसले गर्दा संगीतबाट अवकाश लिदैछिन् सेलेना गोमेज

एजेन्सी- अमेरिकी चर्चित पप गायिका सेलेना गोमेजले संगीत क्षेत्रबाट अवकाश लिने सोच बनाएकी छिन्। मंगलबार भोग म्यागजिनसँगको कुराकानीमा उनले आफ्नो संगीत करियर स्थिर हुन नसक्ने कुरा व्यक्त गरेकी हुन् ।

‘जब मानिसहरूले मेरा गीतलाई गम्भीर रूपमा लिदैनन्, मलाई पनि संगीत जारी राख्न गाह्रो हुन्छ,’ सेलेनाले अगाडी भनेकी छिन्, ‘यस्ता समयहरू पनि थिए जहाँ म किन गीत गाइरहेको छु, आखिर योबाट मैले के पाएँ जस्ता कुरा मनमा प्रश्न उठ्थ्यो।’

सेलेनाले आफ्नो संगीत करियर डिज्नी च्यानलको ‘विजार्ड अफ वेभरली प्लेस’ सिरिजको लागि थिम गीत गाएर सुरू गरेकी थिइन्। उनले तीस भन्दा बढी गीत रिलिज गरिसकेकी छिन्। अहिले उनी विश्वकै सम्मानित गायिकाको सूचीमध्ये पर्छिन् तर पनि गायन क्षेत्र आफ्नो लागि नभएको उनको भनाइ छ ।

सन् २०२० मा रिलिज भएको उनको गीत ‘लुज यू टु लभ मी’ पछि सेलेनालाई आफ्नो करियर प्रति प्रश्न उठेको उनले बताएकी छिन्। उनका अनुसार ‘लुज यू टु लभ मी’ उनलाई अहिलेसम्मकै मन परेको गीत थियो । केही गीत उनको पूर्व प्रेमी जस्टिन बिबरसँगको ब्रेकअपमा आधारित भएको पनि अनुमान लगाइन्छ तर सेलेनाले यो कुरा अस्वीकार गरेकी छिन्।

‘कयौँ मानिसले मेरा गीत मन पराउँछन् र म त्यसको लागि आभारी छु,’ उनले भनेकी छिन्, ‘अबका गीतहरू भने फरक तरिकाले बनाउने सोच गरिरहेको छु। संगीतबाट अवकाश लिनुअघि अन्तिम पटक नयाँ प्रयास गर्न मन छ।’

अवकाश लिने विषयमा सेलेनाले खुलेर नबोले पनि धेरैले उनी संगीत क्षेत्रबाट बिस्तारै टाढा हुन सक्ने अनुमान लगाएका छन्। हाल सेलेना टेलिभिजन सिरिज ‘वान्ली मर्डर्स इन द बिलडिङ’को सुटिङमा व्यस्त छिन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७