पत्रपत्रिकाबाट

४ महिनापछि भेटियो बेपत्ता युवकको मोटरसाइकल र जुत्ता

४ महिनापछि भेटियो बेपत्ता युवकको मोटरसाइकल र जुत्ता

सिन्धुपाल्चोक — चार महिनादेखि बेपत्ता भोजपुर हतुवागढी–६ का २५ वर्षीय पुजन राईको मोटरसाइकल र जुत्ता भेटिएको छ । भोटेकोशी बसेरी ढुंगाखानीमा आधा डुबेको अवस्थामा क्षतिग्रस्त मोटरसाइकल बिहीबार भेटिएको हो ।

गत कात्तिक २८ गते बाह्रबिसे नगरपालिका वडा– स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायक पदमा कार्यरत राई सीमा क्षेत्रको हिन्दी बजारबाट फर्किएपछि चाकु बजारबाट सम्पर्कविहीन भएका थिए ।

जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार राईको गत मंसिर १ गते काभ्रेको ज्याम्दी र ६० घर पलाञ्चोकमा मोबाइलको जीपीआरएस ‘सिम लोकेसन’ देखिएको थियो । तर बिहीबार अचानक नदी र किनारमा क्षतिग्रस्त सवारीसहित जुत्ता भेटिएपछि सबैतिर खोजी कार्य तीव्र बनाइएको सापकोटाले उल्लेख गरे ।

‘मोबाइलको लोकेसन त्यहाँ देखिएको थियो, बाइक र जुत्ता बाह्रबिसे नगरको बसेरी ढुंगाखानीमा भेटिएको छ, सबै कुराको ल्याब टेस्ट गर्न पठाइसकेका छाैं, स्थलगत अनुसन्धानलाई तीव्र बनाइँदैछ,’ उनले भने । ल्याब परीक्षणपछि मात्रै राईको मोटरसाइकल, जुत्ता कहिले डुब्यो, कसरीजस्ता तथ्य खुल्ने उनले बताए ।

त्यसबेला काभ्रेको ज्याम्दी र ६० घर पलाञ्चोकमा ‘लोकसन’ पाउने बित्तिकै प्रहरी दुुर्घटना या अन्य घटनाको शंकामा टोली घटनास्थलमा पुग्गेको थियो । तर केही भेटिएन । राईसँग चाकुसम्म फर्किएका स्थानीय राकेश श्रेष्ठसहित अन्य निकटलाई सोधपुछ गर्दापनि केही कुरा नखुलेपछि प्रहरी खोजी कार्यमै संलग्न थियो । अनिश तिवारीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७