मुख्य समाचार

स्थानीयले भूमाफिया भन्दै ढुंगामुढा गरेपछि अर्थमन्त्री पौडेलको भागाभाग

स्थानीयले भूमाफिया भन्दै ढुंगामुढा गरेपछि अर्थमन्त्री पौडेलको भागाभाग

२१ फागुन, बुटवल – रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले अर्थमन्त्री विष्णु पौडेलविरुद्ध नाराबाजी र ढुंगा प्रहार गरेका छन् । ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै नाराबाजी गरेपछि भागाभागको स्थिती बनेको थियो ।

अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोकेको थियो ।प्रहरीले तीनजना स्थानीयलाई कुटपिट गरेर घाइते बनाएको र दुईजनालाई नियन्त्रणमा लिएको स्थानीयको आरोप छ ।

स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।स्थानीयले बिहीबार पनि शिलान्यास कार्यक्रमका लागि तयार गरेको स्टेज भत्काइदिएका थिए । तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रहरी परिचालन गरी पुनः मच बनाएका थिए । मोतीपुरका पूर्वगाविस अध्यक्ष भीमलाल न्यौपानेले स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि विरोधमा उत्रेको बताए ।

औद्योगिक क्षेत्र संघर्ष समितिका सहसंयोजक ग्यामलाल भुसालले आफूहरुले संरक्षण गरेको जग्गामा औद्योगिक क्षेत्र बनाउँदा स्थानीयको माग सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । उनले घना वस्ती भएको क्षेत्रमा औद्योगिक क्षेत्रको सट्टा पर्यटकीय स्थल र पार्कहरु बनाइनुपर्ने बताए ।

औद्योगिक क्षेत्र निर्माणका लागि करिब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । परियोजनामा विदेशी लगानी वा अनुदान वा अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत स्रोत जुटाउने भनिएपनि खर्चको स्रोत सुनिश्चित भइसकेको छैन । यो औद्योगिक क्षेत्र पाँच वर्षमा तयार पार्ने सरकारको दाबी छ ।

यसैक्रममा अर्थमन्त्री विष्णु पौडेलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पत्रकार सम्मेलन गरे । उनले पर्दा पछाडिबाट औद्योगिक क्षेत्र निर्माणको विरोध भइरहेको बताए । पौडेलले आफ्नो परिचयका साथ पर्दा उघारेर सडकमा आएर विरोध गर्न चुनौती दिए । देशलाई औद्योगिकरणको दिशामा लैजाने प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम नरोकिने बरु तीब्रताका साथ सुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७