मुख्य समाचार

अष्ट्रेलिया, युरोपमा पढेर लुगाधुने काम : कमाई महिनाको २ लाख

- उपेन्द्र खड्का

अष्ट्रेलिया, युरोपमा पढेर लुगाधुने काम : कमाई महिनाको २ लाख

संसारमा कयौँ मानिसले आफूले जुन विषय पढ्यो, त्यही विषयसँग मिल्ने काम गर्दैनन् । कतिपयले अध्ययन गरेको विषयभन्दा बाध्यताले फरक काम गर्छन् भने कतिपयले रहरले गर्छन् ।

ऋचा धमला, विकास सुवेदी र निकुञ्ज भण्डारीको पनि रहर फेरियो । उनीहरुको पढाइ एकातिर थियो भने काम अर्कैतिरको छ । झट्ट सुन्दा पढेलेखेकाले पनि लुगा धुने कामलाई व्यावसायिक रुपमै अँगाल्छन् र ? भन्ने जस्तो लाग्छ तर उनीहरुले गरिरहेका छन् । उनीहरुको काम हो– परम्परागत नेपाली धोबीले पेसागत रुपमै अँगालेको, ‘लुगा धुने काम ।’

अस्ट्रेलियाबाट बिएस्सी नर्सिङ गरेकी काठमाडौँकी ऋचा २६ वर्षकी भइन् । स्कटल्यान्डबाट बिआइटी गरेका चितवनका विकास र नेपालमा बिबिएस गरेका झापाका निकुञ्ज २८ का भए । लुगा धुने पानी नभएर यी तीनै जनालाई समस्या भएपछि उनीहरुले लुगा धुने व्यवसायको सुरुवात गरे । ।

आफूले पनि यो समस्या भोगिरहेको र अरुलाई पनि सजिलो बनाइदन ‘लुगा धुने’ व्यवसाय गर्ने मनसाय बनाए उनीहरुले । उनीहरुको नारा नै गज्जब छ, ‘शनिबारको दिन छोराछोरीलाई घुमाउन लाने कि लुगा धुने ?’

फेसबुकले सहज:
उनीहरु तीनै जना साथीको एउटा पार्टीमा गएका बेला भेट भयो । त्यहीँ उनीहरुबीच चिनजान र परिचय जम्यो । त्यसपछि फेसबुकमा थप मित्रता मौलायो । तीनै जनाको फेसबुकमा कुरा हुन थाल्यो ।

यसपछि नयाँ नयाँ कुरा सेयर गर्ने बानीका कारण बेलाबेलामा भेटघाट पनि गर्न थाले । ऋचा भन्छिन्, ‘हाम्रो भेटघाट र कुराकानीको माध्यम फेसबुक बन्यो । हामीले फेसबुकलाई सही मानेमा सदुपयोग ग-यौँ, फेसबुकले लुगा धुने व्यवसाय खोल्नका लागि सहजीकरण ग-यो ।’ उनीहरु फेसबुकमै कुरा गरेर बेलाबेलामा भट्ने अनि नयाँ केही व्यवसाय गर्ने सल्लाह गरेको बताउँछन् ।

कसरी भए पढेलेखेका धोबी:
ऋचा, विकास र निकुञ्जले लुगा धुने व्यवसाय दिमागमा बुन्न थाले । धोबीको पेसाले उनीहरुको दिमागमा तान बुन्न थाल्यो तर अर्को विचारको अवधारणा पनि उनीहरुको दिमागले बुनेछ । दिमागले बुनेको त्यो विचार हो, मार्केटको रिसर्च । कुनै पनि व्यवसायमा हात हाल्नु भन्दा अगाडि रिसर्च गर्नुपर्छ भन्ने तीनै जनालाई लाग्यो । अध्ययन बिनाको लगानी जोखिम हुने ठानेर उनीहरु सबैभन्दा पहिला बजारको अध्ययन गर्न थाले । उपत्यकाका विभिन्न ठाउँमा विद्यार्थी, जागिरे, गृहिणी लगायतको प्रतिक्रिया लिए । साथीभाइका कुरा पनि सुने । प्रायः सबैबाट राम्रै प्रतिक्रिया आयो ।

तर उनीहरुलाई यो कामले आकर्षित ग-यो । यसमा उनीहरुले भविष्य देखे । तीनै जनाले आ–आफ्नो परिवारमा पनि सल्लाह गरे । ऋचालाई पनि सुरुमा आफ्ना अभिभावकलाई बुझाउन अप्ठेरो प-यो । ‘बिएस्सी नर्सिङ गरेकी छोरी, लुगाधुने पेसा गर्छु भन्दा अभिभावक नझस्किउन पनि कसरी !’ ऋचाले भनिन्, ‘तर मैले आफ्ना अभिभावकलाई विश्वस्त पारेँ । परिवारले पनि लगानी गरिदिने वचन दिनुभयो ।’

विकास र निकुञ्जलाई पनि ऋचालाई जस्तै सुरुमा त आफ्ना अभिभावकलाई विश्वस्त पार्न कठिन भयो तर अभिभावकलाई विश्वस्त पारे, उनीहरुले । विकासको भने अलि फरक रहेछ । उनले आफैँ पनि कमाएर राखेको केही रकम थियो । त्यसैले उनलाई परिवारको सहयोग लिइरहनु परेन ।

नाम जु-यो ‘नेपाली धोबी’
लुगाधुने व्यवसाय गर्ने सहमति भएपछि के नाम राख्ने भन्ने बहस गरे उनीहरुले । विभिन्न नाम पनि आए तर उपयुक्त नाम भने नेपाली धोबी नै हो भन्ने कुरामा तीनै जनाको एक मत रह्यो । नेपाली धोबी शब्दले नेपालीपन र नेपाली धोबीको परम्परागत पेसासमेत भएकाले नेपाली माटो सुहाउँदो शब्द राखिएको ऋचा बताउँछिन् । ‘हामी बिजनेस गर्ने सोचमा थियौँ,’ निकुञ्जले भने, ‘नयाँ किसिमको व्यवसाय गर्न तीनै जनाको मन मिल्यो र व्यवसाय थाल्यौँ ।’

अनलाइन सेवा :
अहिलेको जमाना नै अनलाइनको भएकाले ‘नेपाली धोबी डट कम’ पनि उनीहरुले दर्ता गरे । २०७४ चैत १५ बाट सेवा दिन थालेका उनीहरुले पछिल्लो समय अनलाइनबाटै अर्डर आउन थालेकामा खुसी लागेको छ ।

सुरुमा फोटोकपी पेपरमा लेखेर सडकका खम्बामा टाँसेर समेत नेपाली धोबीको विज्ञापन गरेको बताउँछिन्, ऋचा । अहिले भने अनलाइन लाउन्ड्री सेवा दिइरहेको बताउँछन्, निकुञ्ज ।

यसरी हुन्छ काम :
अनलाइन र फोनमा उनीहरुलाई लुगा धुने अर्डर आउँछ । अर्डर आएपछि डेलिभरी स्टाफ मोटरसाइकल तथा स्कुटरमा घरमै पुग्छन् । उपभोक्ताका लुगा तौलिन्छन् र धुनका लागि कपडा झोलामा बोकेर फर्किन्छन् । कपडा बोक्ने विशेष किसिमको झोला हुन्छ । कुनै कपडा मेसिनले धुन्छ भने कुनै हातैले धोइन्छन् । कपडाको प्रकार हेरेर कसरी धुने भन्ने निधो गरिन्छ । कपडा सुकिसेकेपछि पुनः घरमै पु-याइन्छ ।

लुगा लिन जाने ठाउँमा लुगा जोख्ने मेसिन, स्टाम्प प्याड र बिल सबै डेलिभरी स्टाफले बोकेर जाने विकास बताउँछन् । चार किलो भन्दा धेरै कपडा भयो भने डेलिभरी चार्ज नलाग्ने तर चार किलो भन्दा कम भयो भने डेलिभरी चार्ज लाग्ने उनी बताउँछन् । चार किलो भन्दा कम कपडा लिन आउजाउ गरेको डेलिभरी चार्ज ५० रुपैयाँ लाग्ने गरेको ऋचा बताउँछिन् । कपडा धोए बापतको सेवा शुल्क भने प्रतिकिलो एक सय २० छुट्टै लाग्छ ।

मासिक दुई लाख कमाई :
ऋचाका अनुसार औसतमा दैनिक ७० किलो लुगा धुने अर्डर आउँछ । प्रतिकिलो लुगा धोएको एक सय २० रुपैयाँ पर्छ । यसरी हेर्दा उनीहरुको दैनिक कमाई ८ हजार ४ सय हुने देखिन्छ । मासिक रुपमा औसत २ लाख ५२ हजार कमाइ हुने देखिन्छ । अहिले खर्च कटाएर केही पैसा मात्रै बच्ने बताउँछन् । तर व्यवसाय सुरु गरेको चार महिनामै कम्पनी नाफाघाटा सन्तुलनमा आउनुलाई ऋचा र निकुञ्जले निकै उत्साहका रुपमा लिएका छन् । पछिल्लो समय दिन प्रतिदिन तीव्र रुपमा अर्डर बढिरहेको ऋचा बताउँछिन् । भविष्यमा राम्रो कमाइ गर्ने लक्ष्य उनीहरुले लिएका छन् । यो रिपोर्ट नागरिक न्युजमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal