मनोरञ्जन

पल र मलिकाको जोडीलाई अब फिल्ममा देख्न पाइने

पल र मलिकाको जोडीलाई अब फिल्ममा देख्न पाइने

एक समय अभिनेता पल शाहको जोडी अभिनेत्री आँचल शर्मासँग दर्शकहरुले निकै रुचाएका थिए । आँचल विवाह बन्धनमा बाँधिएपछि भने उनीहरुको सहकार्य भएको छैन । अहिले उनीहरुबीच राम्रो सम्बन्ध नरहेको बताइन्छ । आँचलपछि भने पलको जोडी अरु मोडलहरुसँग उतिधेरै रुचाइएको थिएन ।

तर, यतिबेला पलको जोडी अभिनेत्री मलिका महतसँग दर्शकहरुले मन पराएका छन् । लकडाउनको समयमा सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ गीतमा उनीहरुले पहिलो पटक काम गरेका थिए । यो गीतलाई यूट्युबमा अहिलेसम्म तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यसपछि ‘टाढा भए पनि’ बोलको गीतमा अभिनय गरे, जुन अहिले चर्चाको शिखरमा छ ।

म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएको यो जोडीलाई अब फिल्ममा पनि हेर्न पाइने भएको छ । पल र मलिकाको जोडी बाँधेर ‘फुलबुट्टे साडी र टाढा भए पनि’ गरी दुईवटा म्यूजिक भिडियो बनाएको केन्द्र मोशन पिक्चरस्ले उनीहरुलाई लिएर फिल्म निर्माण गर्न लागेको हो ।

यतिबेला चलचित्रको धमाधम कथा लेख्ने काम भैरहेको छ । पोखरामा रहेर माओत्से गुरुङ र उनको टिमले चलचित्रको कथा लेखिरहेको छ । यसै बिषयमा केन्द्र मोसन पिक्चर्सले बनाउन लागेको चलचित्रको कथा सुन्ने र मन परेको खण्डमा काम गर्ने पलले बताएका छन् । यदि, कथा मन परेन भने फेरि नयाँ कथामा केन्द्र मोसनबाटै काम गर्ने तयारी रहेको पलले बताए ।

पल भन्छन्–‘दर्शकले हाम्रो जोडीलाई मन पराउनुभएको छ । यसैले, हामीलाई लिएर भिडियो र चलचित्र बनाउने सोच अरु केही टिमको पनि छ । तर, हामी सुरुवातमा केन्द्र मोसनकै चलचित्रमा काम गर्ने तयारीमा छौं ।’

मलिकाले अभिनेता सलिनमान बनियाँ स्टारर फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्ममा उनको अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । तर, फिल्म भने चलेन । यसपछि दोस्रो फिल्मको रुपमा उनले ‘पानीफोटो’ मा काम गरेकी छन्, जुन प्रदर्शनको पखाईमा छ । फिल्मबाट सफलता चाख्न नपाएकी उनलाई म्यूजिक भिडियो भने राम्रै फापेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७