राजनीति

‘पिडुँला देखाएपछि ओलीले सांसद बनाए’ भन्ने पन्तको भनाइमा कोमल वलीको आपत्ति

‘पिडुँला देखाएपछि ओलीले सांसद बनाए’ भन्ने पन्तको भनाइमा कोमल वलीको आपत्ति

पिँडुला देखाएको भरमा केपी शर्मा ओलीले सांसद बनाएको भन्दै अभिव्यक्ति दिने नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे राष्ट्रियसभा सदस्य कोमल वलीले गम्भीर आपत्ति प्रकट गरेकी छिन्।

पन्तले प्रयोग गरेका शब्दहरुले आमा दिदीबहिनी सबैलाई अपमान गरेको वलीले बताएकी छिन्।
ट्वीटरमा वलीले लेखेकी छिन्-

‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ।’ वलीले महिलामाथि प्रकट गरिएका दरिद्र सोचको सिकार महिलाहरु हुने गरेको उल्लेख गर्दै प्रश्नसमेत गरेकी छन्। उनले भनेकी छिन्, ‘पंतजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ?’

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पनि लामो स्टाटस् लेख्दै वलीले पन्तको भनाइप्रति आपत्ति प्रकट गरेकी छन् ।

एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका छन्।

भिडियोमा पन्तले २० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ‌‌ओलीले सांसद बनाएको बताएका छन्।

‘पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् कपाल फुलेका बुढीहरुले केही पाएनन्’ पन्तको भनाइ छ।

यो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले पन्तमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बिचमै रोकिएको टिप्पणी गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७