समाचार

मापदण्डविपरीत नदी दोहन गर्ने साहना निर्माण सेवाको डोजर र टिपर नियन्त्रणमा

मापदण्डविपरीत नदी दोहन गर्ने साहना निर्माण सेवाको डोजर र टिपर नियन्त्रणमा

पोखरा- म्याग्दीको बेनी -६ ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड विपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिपरलाई शुक्रबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्वतको जलजला- ७ मिलनचोकमा संचालित साहना निर्माण सेवाले वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता विपरित नदी उत्खनन गरेपछि एक्साभेटर र दुई वटा टिपर नियन्त्रणमा लिएको गलेश्वरस्थित शसस्त्र प्रहरी बलको आश्रित गुल्मले जानकारी दिएको छ ।

नदीजन्य बस्तुको ढुवानीमा प्रयोग भएको ग १ ख ७९६७ र ग१ख ९०३८ नम्वरको टिपर नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाएको गुल्मका प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङले बताए ।

नियन्त्रणमा लिएको डोजर र टिपरलाई कारवाहीका लागि नदीजन्य वस्तुको जिल्ला अनुगमन समितिलाई बुझाइने प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

जलजला गाउँपालिका-७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासँग ठुलोबगरस्थित कालीगण्डकी बगरमा नदीजन्य बस्तुको उत्खनन् र निकासीका लागि ५ फागुन, २०७७ मा बेनी नगरपालिकासँग २ लाख २५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

सोही कम्पनीले बेनी नगरपालिका-९ मा पर्ने गलेश्वर-मजुवाको बगरमा उत्खनन् र निकासीका लागि ७ लाख १ हजारमा ठेक्का लिएको छ । बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले नदीजन्य बस्तु उत्खनन्मा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बताए ।

राहुघाट र कालीगण्डकी नदीले कटान गरेको राममन्दिरको संरक्षणका लागि नदीको धार परिवर्तन गराउन जिल्ला विपद् व्यवस्थापन समितिले गरेको आग्रह अनुसार मजुवा-गलेश्वरको बगरमा हेभी इक्युभमेन्ट प्रयोग गर्न दिने-नदिने भन्ने विषयमा जलजला र रघुगंगाका प्राविधिकसँग छलफलको चरणमा रहेको कार्कीको भनाइ छ ।

नदीजन्य बस्तुको उत्खनन् नियमनका लागि जिल्लास्तरमा रहेको अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सम्झौता र इआइए प्रतिवेदन विपरित नदी बगर उत्खनन्मा उपकरण प्रयोग गरेको भेटिएमा कारवाही गरिने बताएका थिए ।

साहाना निर्माण सेवा जलजला- मिलनचोकमा शिव जीसीले संचालन गर्दै आएका छन् । यसअघि पनि ब्लक उद्दोगको नाममा दर्ता गरि क्रसर संचालन गरेको भनेर उक्त निर्माण सेवा बिवादमा तानिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७