सल्यान — बहुविवाहको आरोपमा पक्राउ परेको बन्गाड कुपिन्डे नगरपालिका–९ का वडा अध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाईलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ ।
जिल्ला अदालत सल्यानका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले वडा अध्यक्ष कुमाई र उनकी पछिल्ली श्रीमती ग्वामी विष्टलाई कैद फैसला गरेको हो । घरमा दुई पत्नी र चार छोराछोरी भएका वडा अध्यक्ष कुमाईले गत मंसिर ३ गते ग्वामी विष्टलाई भगाएर फरार भएका थिए । उजुरी परेपछि प्रहरीले मंसिर १९ गते दुवैजनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका वडा अध्यक्ष र उनकी श्रीमतीलाई अदालतले फैसला गरेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ गोविन्द थापाले बताएका छन् ।